काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा सुनुवाइ सकिएपछि आदेश आउन ढिलो भएपछि सर्वोच्च अदालत परिसरमा भीड बाक्लिँदै गएको छ।
भिड व्यवस्थापन गर्न प्रहरीलाई समस्या भएको छ भने, रिपोर्टिङका लागि पुगेका पत्रकारहरूलाई गेटबाहिर निकालिएको छ।
सडक पारी पठाइएका पत्रकारहरूसँगै रास्वपाका सयौँ कार्यकर्ता र समर्थकहरू सडकमा जुटेका छन्। आदेश अझै आइसकेको छैन।
शुक्रबार जाहेरवालातर्फबाट वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, र अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए। जवाफी बहसमा रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठ तथा जोशीका तर्फबाट सतिषकृष्ण खरेलले तर्क राखेका थिए।
सुनुवाइ सकिएकोले न्यायाधीशहरू ढोका बन्द गरी आदेश लेखिरहेका छन् र छिट्टै आदेश आउने अपेक्षा गरिएको छ।



