मन्त्री खतिवडाले हेटौंडामा ल्याए पहिलो पटक आइसियूसहितको एम्बुलेन्स
हेटौंडा । मकवानपुरको पहिलो कम्युनिष्ट मन्त्री विरोध खतिवडाले हेटौंडा अस्पतालका लागि आइसियूसहितको एम्बुलेन्स उपलब्ध गराएका छन् ।
संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आइतबार अस्पताललाई ‘ए’ ग्रेडको एम्बुलेन्स उपलब्ध गराएका हुन् । खतिवडाले जिल्लामै पहिलो पटक आइसियूसहितको एम्बुलेन्स उपलब्ध गराएको बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटीसमेत रहेका मन्त्री खतिवडाले अस्पताल परिसरमा आइतबार बिहान आयोजित एक कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटालाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित अस्पतालले अब गम्भिर प्रकृतिका बिरामीलाई उपचारका लागि ल्याउन र अन्यत्र पठाउन सुविधासम्पन्न एम्बुलेन्स पाएको मेसु सापकोटाले बताए । एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले हेटौंडा बागमती प्रदेशको राजधानी भएकोले यहाँ प्रदेशस्तरको अस्पतालका रुपमा हेटौंडा अस्पताललाई स्तरोन्नती गरिनुपर्नेमा जोड दिए ।
अस्पतालको स्तरोन्नती गर्न मन्त्रालयको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता खतिवडाले व्यक्त गरेका छन् । मन्त्री खतिवडाले अस्पतालको भवन निर्माण, स्वास्थ्य उपकरणको उपलब्धता र दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने विश्वास दिलाए ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशकी सचेतक प्रदेशसभा सदस्य मुनु सिग्देल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, नेकपा (एकिकृत समाजवादी) मकवानपुका अध्यक्ष श्रीधर पोखरेल, सचिव विष्णुप्रसाद दहाल, प्रदेश स्वास्थ्य निर्देशक महेश्वरमान श्रेष्ठ, प्रतिष्ठानका निर्देशक डा हरिबहादुर खड्कालगायतकाृ आतिथ्यता थियो ।