बागमतीको तेस्रो मुख्यमन्त्री बन्दै राजेन्द्र पाण्डे, आज साढे ३ बजे शपथ

संवाददाता
कार्तिक ११, २०७८

हेटौंडा– बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्दै छन्, राजेन्द्र पाण्डे । नेकपा (एकीकृत समाजवादी)का नेता पाण्डेले मुख्यमन्त्रीको शपथ आज अपरान्ह ३ः३० बजे लिने तयारी छ ।

बागमतीमा यसअघि तत्कालि नेकपाको दुईतिहाई मतसहित हेटौंडाका डोरमणि पौडेल र एमालेको बहुमतबाट अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनिसकेका छन् । पौडेले देशको पहिलो मुख्यमन्त्री हुन भने शाक्य पहिलो महिला मुख्यमन्त्री ।

लामो समयदेखि एउटै पार्टी अर्थात एमालेबाट सँगै राजनीति गरेका राजेन्द्र पाण्डे तेस्रो मुख्यमन्त्री बन्दै छन् तर, फरक पार्टीको नेतृत्व गर्दै । एमाले त्याग्दै नेकपा (एस) रोजेका पाण्डे चार दलीय गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बन्न लागेका हुन् ।

अब एमालेले साना दलसँग मिलेपनि सरकार बनाउने स्थिति छैन् । बागमतीमा सरकार बनाउन ५५ मत आवश्क पर्छ । एमालेसँग ४३ छ । एमालेसँग नजिक मानिएको राप्रपा र नेमकिपासँग २–२ मत मात्रै छ ।

एमालेले बहुमत सदस्यसहित फेरि सरकारमा दाबी नगर्ने निश्चित भएका कारणपनि पाण्डेको मुख्यमन्त्री पद पक्का छ । शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएपछि शर्माले बुधवार नै नयाँ सरकार गठनका लागि २४ घण्टाको समय दिएका थिए ।

पाण्डेले बुधवार साँझ नै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष ५९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रसँग २३, नेपाली कांग्रेससँग २२, नेकपा (एस)सँग १३ र जनता समाजवादी पार्टी (जसपा)सँग १ मत छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*