जनप्रतिनिधि आएपछि गाउँभरी पुल

संवाददाता
अशोज १२, २०७८

मकवानपुरगढी-साविकको गाविस हुँदा विकासबाट पछाडि परेको आमभञ्ज्याङ, गढी, सुकौरा र बढीचौर गाउँ विकास समिति मिलेर गाउँपालिका भएपछि काँचुली फरेको छ ।

यी चार गाविस गाभिएर बनेको मकवानपुरगढी गाउँपालिकामा जनप्रतिनिधि आएपछि सडकसँगै एक दर्जन पुल निर्माणका चरणमा छन् । गाउँपालिकाले जनप्रतिनिधि पाएपछि विकासमा फड्को मारेको हो । ठाउँ–ठाउँमा सडक निर्माण सँगै वर्षायाममा बाढी आउँदा खोला तर्न नसक्ने स्थानमा गाउँपालिकाले पक्की, फलामे पुल र कल्भर्ट निर्माण गरिरहेको छ । अधिकांश गाउँपालिबाबासी कच्ची सडक प्रयोग गर्नबाट मुक्त भएका छन् ।

गाउँपालिकाले ३ वर्षको अवधिमा ५ र ६ नम्बर वडाको मुख्य सडक (शहीद बासुदेव मार्ग) मा करिब ७० प्रतिशत सडक स्ल्याब ढलान गरिसकेको छ । यसैगरी १ नम्बर वडाको शिखरकटेरीबाट र ४ नम्बर वडाबाट गाउँपालिका केन्द्र पुग्ने सडकमा स्ल्याब ढलान गरिएको छ ।

गाउँ–गाउँमा सडक, गाउँपालिका केन्द्र जोडन् ३ ठाउँमा पक्की पुल, हरेक वडाबाट गाउँपालिका केन्द्र पुग्न सडक र झोलुङ्गे पुल निर्माण तीव्र गतिमा अगाडि बढिरहेको छ । गाउँपालिकाले ३ वर्षमा १२ किलोमिटर सडक कालोपत्रे र स्ल्याब ढलान गरेको छ । २९ किलोमिटर सडकमा ग्राभेल र ३९ किलोमिटर नयाँ सडक ट्रयाक खोलेको गाउँपालिकाले जनाएको छ ।

वर्षायाममा सामरी, ज्यामिरे लगायतका खोलामा बाढी आउँदा सदरमुकाम हेटौंडासँगको सम्पर्क टुट्ने गरेको अवस्थाबाट गाउँपालिकाबासी मुक्त भएका छन् । गाउँपालिकावासी तीन वर्षको अवधिमा पक्की सडक र विभिन्न खोलामा निर्माण भएका पुलबाट सहजै आवतजावत गर्न थालेका छन् । जनप्रतिनिधि आएपछि गाउँपालिकामा पक्की सडक पुल, झोलुङ्गे पुल र कल्भर्ट पुल गरी एक दर्जन पुल निर्माण भएको गाउँ– पालिकाले जानकारी दिएको छ ।

मकवानपुरगढी गाउँ– पालिकाका अध्यक्ष बिदुर हुमागाईंको सक्रियतामा गाउँपालिकामा पुल निर्माण र सडक निर्माणले प्राथमिकता पाएको हो । पुल निर्माणमा गाउँपालिका आफैंले बजेट हालेको छ । संघीय सरकार र प्रदेश सरकारले पनि पुल र सडक निर्माणमा बजेट छुट्याएर काम भएको अध्यक्ष हुमागाईंले जानकारी दिए । हरेक वर्ष वर्षायाममा सवारीसाधन सञ्चालनमा रोक लाग्ने ज्यामिरे खोलामा पुल बनेपछि गाउँपालिका– बासी खुशी छन् ।

यसैगरी गाउँपालिकाको पहलमा मकवानपुरगढी–४ वाइवा– डाँडा र मकवानपुरगढी–५ कालिवन जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । वडा नम्बर ८ ओखरडाँडा र भीमफेदी गाउँपालिकाको वडा नम्बर २ इचुङ जोड्ने झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ । मकवानपुरगढी–५ सिमल्टार र ४ नम्बर वडाको कुसुमटार जोड्न ६५ लाख लागतमा फलामे पुल निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष हुमागाईंले जानकारी दिए ।

सडक नभएका र अहिले तत्काल समस्या भएका स्थानमा झोलुङ्गे पुल र फलामे पुल निर्माणले प्राथमिकता पाएका छन् । ६ नम्बर वडाको बाग्दली र ३ नम्बर वडाको देविडाँडामा जोडने स्टील ट्रस ब्रिज निर्माण गर्न लागिएको छ । गाउँपालिका र संघीय सरकारको समपुरक बजेट बाट पुल निर्माण गर्न लागिएको हुमागाईंले बताए । कुल ३ करोड लागतमा निर्माण गर्न लागिएको पुलमा संघीय सरकारको एक करोड १८ लाख र अन्य एक करोड ८२ लाख गाउँपालिकाको लागतमा निर्माण गर्न लागिएको छ ।

ठेक्का मार्फत यो पुल निर्माणको काम भइरहेको छ । मकवानपुरगढी गाउँ पालिका वडा नम्बर–६ डुम्रेकुना र २ र ३ नम्बर वडाको लामिडाँडा जोड्न पक्की पुल निर्माण सुरु गर्न लागिएको गाउँपालिका अध्यक्ष हुमागाईंले जानकारी दिए । चालू आर्थिक वर्ष २०७७÷०७८ मा पुल निर्माणको काम सुरु गरिने उनले बताए । कुल १४ करोड रुपैयाँ लागतमा पुल निर्माण गर्न लागिएको हुमागाईंको भनाई छ । उक्त क्षेत्रमा पुल नबन्दा स्थानीयलाई ओहोरदोहोरमा खोलाबाट जोखिमको यात्रा गर्नु परिरहेको छ ।

पुल निर्माण भएपछि मकवानपुरगढीबासीलाई आवत– जावतमा सहज हुनेछ । यसैगरी सरमपुर र तल्लोछाप जोड्ने झोलुङ्गे पुल निर्माणको काम चालू आवबाटै सुरु हुने भएको छ । वडा नम्बर १ र बकैया गाउँपालिका वडा नम्बर ११ जोड्नका लागि दुइवटा गाउँपालिकाको संयुक्त लगानीमा झोलुङगे पुल निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष हुमागाईंले जानकारी दिएका छन् ।

गाउँपालिकाले ३ वर्षको अवधिमा खोल्सीहरुमा साना खालका कल्भर्ट निर्माण गरेको छ । साना खोला, खोल्सी तर्नका लागि स्थानीयले समस्या भोग्दै आएकाले गाउँपालिकाले कल्भर्ट निर्माण गरेको हो । चालू आर्थिक वर्षमा करिब एक करोड रुपैयाँ लागतमा ५ वटा कल्भर्ट निर्माण गर्ने तयारी भइरहेकोछ अध्यक्ष हुमागाईं बताउँछन् ।

गाउँपालिकाका ८ वटै वडामा रहेका खहरे खोलाहरु र सामरी खोला ओहोर दोहोर गर्ने पुल नभएकै कारण धेरैले हरेक वर्षायाममा समस्या बेहोर्नुपर्यो । कतिपयले खोलासँगै बगेर प्राण त्यागेका पनि छन् ।

पुल नुहँदा गाउँपालिकाबासीले मृत्युवरण गर्नुपरेको कारण पनि पुल निर्माणलाई प्राथमिकताका साथ काम गरेको अध्यक्ष हुमागाईंले बताए । ‘खेलाका कारण सबै भन्दा धेरै प्रभावित क्षेत्रमा प्राथमिकताका साथ पुल निर्माण गरिएको छ । चालु आर्थिक वर्ष र आगामी वर्षहरुमा पुल निर्माणको काम जारी रहन्छ ।’, उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*