विरोध खतिवडाको नेतृत्वमा नेकपा एस सरकारमा जाने, को–को बन्दै छन् मन्त्री ?
हेटौंडा । मकवानपुरबाट प्रतिनिधिसभामा निर्वाचित चर्चित सांसद विरोध खतिवडाको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) सरकारमा सामेल हुने भएको छ ।
सरकारले अध्यादेश खारेज गर्न सिफारिस गरेसँगै मंगलबार नेकपा एस सरकारमा जाने सम्भावना बढेको । नेकपा एसको खतिवडाले नेतृत्व गरेर सरकारमा जाने सहमति बनेपछि उनको मन्त्रालय भने टुंगो नलागिसकेको जनाइएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले खतिवडाको नेतृत्वमा उनीसहित ६ जनालाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष नाम सिफारिस गरिसकेका छन् । स्रोतका अनुसार नेपालले नेता खतिवडासहित रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आले, किसान श्रेष्ठ र जीवनराम श्रेष्ठको नाम देउवालाई दिएका छन् ।
सोमबार बसेको गठबन्धन बैठकमा नेपालले उक्त नाम दिएको बुझिएको छ । मन्त्रालय भागबण्डा गठबन्धनबीच सहमतिमा हुने जनाइएको छ ।