सामाजिक सुरक्षा कोषमा जान बाणिज्य बैंकहरु ‘सकारात्मक’, दशौं हजार कर्मचारी लाभांवित हुने

संवाददाता
फाल्गुन १४, २०७७

कठमाडौं । अन्ततः बाणिज्य बैंकहरु पनि सामाजिक सुरक्षा कोषमा सहभागी हुन सकारात्मक भएका छन् । सामाजिक सुरक्षा कोष सञ्चालन कार्यविधि २०७५ दोस्रो संशोधनले आफ्ना अधिकांश चासो सम्बोधन गरेकाले कोषमा आवद्ध हुनेबारे सकारात्मक भएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘हाम्रा अधिकांश चासो सम्बोधन भएका छन्, पछिल्लो छलफबाट हामी थप सकारात्मक भएका छौं, संघको एचआर कमिटीको बैठक राख्छौं, त्यसपछि संघले नै आवश्यक निर्णय लिन्छ’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष दाहालले सिंहदरबारसँग भने ।

कोषका कार्यकारी निर्देशक कपिणमणी ज्ञवालीले पनि बाणिज्य बैंकहरु कोषमा आवद्ध हुन सकारात्मक बनेको बताए । ‘बाणिज्य बैंकका कर्मचारीहरुको चासोलाई सम्बोधन गरिसकेका छौं, केहिदिन अघि बैंकर्स संघको नेतृत्वसँग छलफल भएको थियो, उहाँहरुले सामुहिक निर्णय गरेर आउँछौं भन्नु भएको छ’, कोषका कार्यकारी निर्देशक ज्ञवालीले सिंहदरबारसँग भने ।

मासिक २५ हजार ३ सय ६५ रुपैयाँ भन्दा बढी योगदान गर्नेहरुले उपदान कोषमा रकम पठाउन पाउने व्यवस्था गरिदिएको छ । यो व्यवस्थाले धेरै तलब सुबिधा भएका बैंकका कर्मचारीहरुलाई आकर्षित गरेको छ । जागिर छाडेपछि पैसा झिक्न पाउने, सापटी लिन सकिने, शैक्षिक तथा घर कर्जा लिन पाइने जस्ता संसोधित सुबिधाहरुले बाणिज्य बैंकका कर्मचारीहरुलाई पनि आकर्षित गरेको हो ।

बाणिज्य बैंकहरु कोषमा आवद्ध भएपछि विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त र इन्स्योरेन्स कम्पनीहरु पनि आकर्षित हुने अपेक्षा पनि ज्ञवालीले व्यक्त गरे ।

हालसम्म ४ अर्ब ३६ करोड रुपैयाँको हाराहारीमा योगदान रकम जम्मा भएको छ । ९० हजार योगदान कर्ताका छन् । दैनिक औषत २ करोड रुपैयाँ योगदान रकम जम्मा हुने गरेको छ । हालसम्म १३ हजार २ सय संस्थाहरु सूचीकरण भएका छन् । सबैले योगदान भने सुरु गरेका छैनन् ।

सहभागीता, योगदानः सामाजिक सुरक्षा भन्दै २०७६ साल मंसिर ११ गते सामाजिक सुरक्षा कोष आरम्भ गरिएको थियो । नयाँ युगको आरम्भ भनिएको कोषमा श्रमिक तथा कामदारको आधारभूत परिश्रमिक ३१ प्रतिशत रकम जम्मा गर्नु पर्छ । जसमा ११ प्रतिशत श्रमिक तथा कामदार र २० प्रतिशत रकम रोजगारदाता कम्पनीले तिर्नुपर्छ ।

कोषमा सहभागी श्रमिकहरुले ४ प्रकारका सुविधा पाउँछन् । श्रमिकले औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्ध अवस्था सुरक्षा योजनाबाट लाभ पाउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*