पूर्वमुख्यमन्त्रीका छोरा दिक्षान्त जोडिएको मुद्दा के हो ?

काठमाडौं । कात्तिक १६ मा पक्राउ परेका बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दीक्षान्त बानियाँमाथि अनुसन्धान गर्न अदालतबाट प्रहरीले चार दिनको म्याद लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर–४ स्थित भैरहवाबाट पक्राउ गरेर काठमाडौं ल्याई अनुसन्धान गरिरहेको हो ।

दीक्षान्तमाथि बैंकिङ कसुर मुद्दामा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी योगेन्द्रकुमार खड्काले रातोपाटीलाई बताए ।

प्रभु बैंकबाट लिएको ३४ करोड ऋण दीक्षान्तले दुरुपयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सीआईबीका सहप्रवक्ता (एसपी) खड्का भन्छन्, ‘जुन प्रयोजनका लागि ऋण लिइएको थियो, त्यसअनुसार नभएर अन्यत्र लगानी गरेर अपचलन गरेको देखिन्छ ।’

बानियाँ निर्माण सेवा प्रालि, बानियाँ सप्लायर्स प्रालि र भुगर्भ सिमेन्ट कम्पनीको नाममा बैंकबाट ३४ करोड ऋण निकासा भएको थियो । सो रकम उनले अन्य बैंक खातामा राखेर तथा सेयरमा लगानी गरेर तोकिएको प्रयोजनमा प्रयोग नगरेको भेटिएको छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार त्यसरी प्रयोजनभन्दा विपरीत क्षेत्रमा कर्जाको दुरुपयोग गर्न मिल्दैन ।

बाफियासम्बन्धी कानुनविपरीत सेयर ब्रोकरको खातामा रकम हालेर सेयर किनेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनीमाथि अनुसन्धान भइरहेको एसपी खड्काले जानकारी दिए । (रातोपाटीबाट)

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.