फ्रान्समा लगातार तेस्रो साता प्रदर्शन

काठमाडौं । महँगी, जीवनयापनको बढ्दो लागत र सार्वजनिक सेवाको अवस्थाप्रति असन्तुष्टि जनाउँदै फ्रान्समा शनिबार लगातार तेस्रो साता विशाल प्रदर्शन भएको छ ।

फ्रान्सको गृह मन्त्रालयका अनुसार देशभर करिब ३ लाख २० हजार मानिस प्रदर्शनमा सहभागी भएका छन् । तर विद्यार्थी तथा युवा संगठनहरुले भने प्रदर्शनमा सहभागीको संख्या झन्डै ५ लाख रहेको दाबी गरेका छन् ।

शनिबारको प्रदर्शन अक्टोबर १७ यता भएका ठूला विरोध कार्यक्रममध्ये तेस्रो हो । सरकारी तथ्यांकअनुसार अक्टोबर १७ मा ५ लाख ५० हजार र अक्टोबर २४ मा ४ लाख १० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए ।

यसपटक सहभागीको संख्या अघिल्ला दुई साताको तुलनामा घटेको छ । पेरिसमा मात्रै स्थानीय समयअनुसार साँझ ५ बजेसम्म ७० हजार प्रदर्शनकारी सडकमा उत्रिएको गृह मन्त्रालयले जनाएको छ । विद्यार्थी तथा युवा संगठनहरुले भने राजधानीमा २ लाख मानिस सहभागी भएको दाबी गरेका छन् ।

प्रदर्शनकारीहरूले बढ्दो महँगी, आवासको समस्या, शिक्षा तथा सार्वजनिक सेवाको कमजोर अवस्था र सरकारप्रतिको असन्तुष्टिलगायत विषय उठाएका थिए । विद्यालय तथा विश्वविद्यालयका विद्यार्थी, श्रमिक संगठन र अन्य समूह प्रदर्शनमा सहभागी भएका थिए ।

प्रदर्शनका कारण राजधानी पेरिसको सार्वजनिक यातायात सेवा प्रभावित भएको थियो । यातायात सेवा प्रदायक आरएटीपीले शनिबार ४० भन्दा बढी मेट्रो स्टेसन बन्द गरिएको जनाएको छ । केही क्षेत्रमा ट्राम सेवासमेत प्रभावित भएको थियो ।

दिनभर अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे पनि केही सहरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भयो । पेरिसमा प्रदर्शनको अन्त्यतिर केही समूहले प्रहरीमाथि ढुङ्गा तथा अन्य वस्तु प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो ।

लियोन र अन्य सहरमा पनि प्रदर्शन तितरबितर पार्ने क्रममा झडप भएको समाचारमा उल्लेख छ । प्रदर्शनका क्रममा सम्भावित हिंसा नियन्त्रण गर्न देशभर ७० हजार प्रहरी र जन्डार्म तैनाथ गरिएको थियो । शनिबार रातिसम्म देशका विभिन्न स्थानमा सयौँ मानिस पक्राउ परेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

लगातार तीन सातादेखि जारी प्रदर्शनमा सहभागीको संख्या सरकारी तथ्यांकअनुसार घट्दै गए पनि सरकारविरुद्धको असन्तुष्टि कायमै छ । युवा तथा विद्यार्थी संगठनहरुले आफ्ना माग सम्बोधन नभए आन्दोलन जारी राख्ने बताएका छन् । (अनलाइनखबरबाट)

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.