बूढीगण्डकीमा कसरी आयो विनाशकारी बाढी ?

काठमाडौं । रसुवा–भोटेकोशी बाढीको डेढ महिनापछि गोरखामा पर्ने बूढीगण्डकी नदीमा पनि विनाशकारी बाढी आएको छ । कालो लेदोसहितको बाढीले पक्की पुल र बजारहरुमा समेत क्षति पुर्‍याएको छ ।

बाढीले पुर्‍याएको क्षतिको पूर्णविवरण आउन बाँकी छ । यद्यपि गोरखा जिल्लाबाट सांसद निर्वाचित भएर गृहमन्त्री बनेका सुधन गुरुङले नेपालले फेरि ‘अर्को भयावह बाढी’को सामना गर्नुपरेको बताएका छन् ।

गोरखाको उत्तरी क्षेत्रका बासिन्दाले पनि यस्तो भयावह बाढी पहिलोपटक देखेको बताएका छन् । बाढीले गोरखा–धादिङ जोड्ने आरुघाट पुल बगाएको छ । पुलको गोरखातर्फको एउटा स्पान बगेको सामाजिक सन्जालमा सार्वजनिक भिडियोहरुमा देखिन्छ ।

बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका २ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको छ ।

बूढीगण्डकीको उपल्लो क्षेत्रमा बाढी आउने खालको पानी परेको रेकर्ड छैन

ठूला ढुंगा नै बगाउने गरी बाढी आउनुको स्पष्ट कारण खुलिसकेको छैन । तर अधिकारीहरुले उत्तरी क्षेत्रमा हिमपहिरो गएको वा सुक्खा पहिरोले बहाव थुनिएर बाढीको रुप लिएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक डा। धर्मराज उप्रेतीले प्रारम्भिक जानकारीअनुसार, उत्तरी क्षेत्रमा हिमपहिरो गएको र त्यसबाट आएको हिउँ, लेदो तथा अन्य पदार्थ नदीमा मिसिएर बाढी आएको हुनसक्छ । ‘स्थानीयसँगको टेलिफोन सम्पर्कबाट यस्तो जानकारी प्राप्त भएको हो । तर बाढी आउनुको वास्तविक कारणबारे अहिलेसम्म पुष्टि भइसकेको छैन,’ उनले भने ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखाका बरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली पनि बूढीगण्डकीको उपल्लो क्षेत्रमा पानी परेको रेकर्ड छैन । त्यसैले वर्षाका कारण बाढी आएको भन्न सकिँदैन ।

बाढीविद पराजुली भन्छन्, ‘मानववस्तीभन्दा पनि माथि हिमाली क्षेत्रबाट यो बाढी सुरु भएको जस्तो देखिन्छ । पहिरोले थुनिएको हो वा हिमाली क्षेत्रबाट बाढी सिर्जना भएको हो भन्ने समग्र कारणबारे अध्ययन गरिरहेका छौं ।’

गोरखाको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार वडा नम्बर(६ लोक्पा भन्ने ठाउँमा गएराति सुक्खा पहिरो गएर नदी थुनिएको र पछि भीषण बाढी आएको भनेर स्थानीयले भनेको अनलाइनखबरलाई बताएका छन् ।

गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोला स्यार खोला हुँदै बाढी बूढीगण्डकीमा मिसिएको छ । उङगिलुङ खोला चुम्चेत क्षेत्र हुँदै बग्ने गर्छ । त्यसैले बूढीगण्डकीलाई मनास्लु हिमालबाट उत्पत्ती भएको बताइन्छ ।

विपद् प्राधिकरणका अनुसार बाढीबाट हालसम्म मानवीय क्षतिको पुष्टि भएको छैन । तर गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोला किनार क्षेत्रबाट चार जना सम्पर्कविहीन भएका राष्ट्रिय समाचार समितिले जनाएको छ ।

प्रभावित क्षेत्रमा काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । अहिले हेलिकप्टर अवतरण गर्न सक्ने अवस्था नरहेकाले तत्काल उद्धारमा कठिनाइ भएको विपद प्राधिकरणले जनाएको छ ।

नेपाल प्रहरी पनि परिचालन भएको छ । प्रहरीले विभिन्न स्थानमा बस्ती खाली गराउने र स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ । यस बाढीको प्रभाव गोर्खा, धादिङ, तनहुँ, मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । (अनलाइनखबरबाट)

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.