बागमतीमा साढे ३ प्रतिशत मात्रै रोपाइँ

हेटौंडा । मनसुन सक्रिय हुन नसक्दा बागमती प्रदेशमा धान रोपाइँ अत्यन्त सुस्त बनेको छ । पर्याप्त वर्षा नहुँदा धेरैजसो ठाउँमा किसानलाई धानको ब्याड जोगाउनसमेत मुस्किल भइरहेको छ ।

प्रदेशका १३ जिल्लामा १२ असारसम्म कुल खेतीयोग्य क्षेत्रफलको ३.५० प्रतिशतमा मात्रै रोपाइँ भएको छ । गतवर्ष यही अवधिमा १६ प्रतिशतभन्दा बढी क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सुजन कँडेलले मनसुनी वर्षा नहुँदा रोपाइँ उल्लेख्यरुपमा प्रभावित भएको बताए ।

गतवर्षको तुलनामा यसवर्ष रोपाइँ निकै पछाडि परेको उनले बताए । उनकाअनुसार प्रदेशमा वर्षे धानखेती हुने १ लाख ३५ हजार ८६८ हेक्टरमध्ये शुक्रबारसम्म ३ हजार ६५४ हेक्टरमा मात्रै रोपाइँ भएको छ ।

सबैभन्दा बढी काठमाडौंमा ४० प्रतिशत रोपाइँ भएको छ । ५ हजार ९५९ हेक्टर क्षेत्रफलमध्ये २ हजार ५७५ हेक्टरमा धान रोपिएको मन्त्रालयले जनाएको छ । धान उत्पादनको मुख्यक्षेत्र मानिने चितवनमा भने अवस्था निराशाजनक छ ।

चितवनमा २८ हजार ६८० हेक्टरमा धानखेती हुनेमा शुक्रबारसम्म १।३ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको छ । मकवानपुरमा अवस्था झन् कमजोर छ । यहाँ ०।३५ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको छ ।

नुवाकोटमा ३ प्रतिशत, रामेछापमा २ प्रतिशत, सिन्धुपाल्चोकमा ५ प्रतिशत, काभ्रेमा १६ प्रतिशत, रसुवामा ८ प्रतिशत, ललितपुरमा १० प्रतिशत, भक्तपुरमा ११ प्रतिशत, धादिङमा ०.४१ प्रतिशत, दोलखामा ४ प्रतिशत र सिन्धुलीमा ४.२ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । वर्षा नहुँदा रोपिएको खेत समेत सुक्न थालेको छ । धेरै ठाउँमा खेतमा धाँजा फाट्न थालेपछि किसान थप चिन्तित बनेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.