हेटौंडा । निर्वाचनसँगै लामो बिदा परेकाले ८ लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ । निर्वाचन आसपासमा करिव एक साता सार्वजनिक बिदा पर्ने भएपछि ठूलो संख्यामा मानिसले काठमाडौं छोड्ने तयारी गरेका छन् ।
सरकारले आमनिर्वाचनका लागि फागुन २०, २१ र २२ गते तीनदिन बिदा दिएको छ भने फागुन १८ गते पहाडी क्षेत्रमा फागूपूर्णिमाको बिदा परेको छ । यस्तै फागुन १९ गते तराईमा फागूपूर्णिमाको बिदा परेको छ ।
फागुन २३ गते शनिवार र २४ गते अर्थात ८ मार्चका दिन अन्तर्राष्ट्रिय महिला दिवसको विदा परेको छ । यसरी फागुन १८ देखि २४ सम्म सात दिन बिदा हुनेभएपछि दशैँतिहारमा जस्तै यसपटक आगामी हप्तामा धेरैले उपत्यका बाहिर जाने तयारी गरेका हुन् ।
यातायात व्यवसायीका अनुसार अहिलेबाटै उपत्यका छाड्नेहरु बढेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले एक साताको सार्वजनिक बिदाको कारणले सार्वजनिक यातायातमा चाप पर्न थालेको बताए ।
१९ गतेसम्मका लागि लामोदूरीका गाडीमा भीडभाड रहेको उनको भनाइ छ । सिटौलाका अनुसार १७, १८,१९ गते थेगिनसक्नु भीड छ । धेरैले गाडी रिजर्व समेत गर्न थालिसकेका छन् । यता साना सवारी साधनका कारण भीमफेदी–कुलेखानी–सिस्नेरी रोडमा तीब्र चाप बृद्धि भएको छ ।
सिटौलाले भने, ‘६÷७ दिनको बिदाका कारण काठमाडौं उपत्यकाबाट निकै धेरै यात्रु उपत्यकाबाट घरतर्फ जाने देखिरहेका छौँं । जानेक्रम सुरु भइसकेको छ । आमनिर्वाचनको क्रमलाई लिएर सुरक्षानिकाय समेत आफ्नो कार्यक्षेत्रमा गइसकेको अवस्था छ ।
करिव ८–९ लाखको हाराहारीमा उपत्यका बाहिरिने क्रम सुरु भइसकेको छ । १९ गतेसम्म लामोदूरीका गाडीमा अत्यन्तै भीडभाड छ । १७, १८, १९ गते थेगिनसक्नु भीड छ । धेरै सवारीसाधन रिजर्व गर्न थालिसक्नु भएको छ ।’ यातायात व्यवसायी सिटौलाकाअनुसार लामो दूरी कञ्चनपुर, डडेलधुरादेखि अर्घाखाँची, गुल्मी, पाल्पा जस्ता जिल्लामा १९ गतेपछि गाडी जानसक्ने अवस्था रहने छैन ।
२० गते रातको १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म सार्वजनिक तथा निजी सवारी प्रतिबन्ध लगाइएको छ । मध्यम दूरी काभ्रे, धादिङ सिन्धुपाल्चोक सम्मका दूरीमा गाडीहरु चल्नेछन् । यातायात व्यवस्था विभागले पनि आमनिर्वाचनको असापासमा धेरै बिदा परेकाले यात्रु बाहिर जाने भएकाले सार्वजनिक यातायातलाई चुस्त राखिने बताएको छ । विभागका महानिर्देशक राजीव पोखरेलले सार्वजनिक यातायात प्रणालीलाई चुनावका बेला चुस्तदुरुस्त राख्न योजनावद्ध तवरले विभाग लागिरहेको बताए ।
उनले निर्वाधरुपमा सार्वजनिक यातायातबाट नागरिकलाई सुरक्षित गन्तव्यमा पु¥याइने बताउँदै अपुग भए नेपाली सेनादेखि स्कुल, कलेजका सबारी साधनसमेत सरकारले प्रयोग गरेर चलाउने बताए । बिगतका वर्षमा होलीको समयमा काठमाडौंबाट तराई जाने यात्रुको चाप देखिने गरेको थियो । योवर्ष निर्वाचन पनि रहेका कारण अधिकांशले आफ्नो घर जाने तयारी गरिरहेका छन् ।







