हेटौंडा । हेटौंडा उपमहानगरपालिका-२ सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा मतदान अधिकृतदेखि सबै कर्मचारी र सुरक्षाकर्मी महिला मात्र खटाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिद्धार्थ माविमा रहेको मतदानस्थलमा ६ वटा मतदान केन्द्र छन् । ती सबै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र स्वयसेवक पनि महिला नै राखिएका छन् । यी मतदानस्थलमा खटिने सबै सुरक्षाकर्मी पनि महिला छन् ।
ती ६ मतदान केन्द्रमा ३६ महिला कर्मचारी र २० महिला सुरक्षाकर्मी परिचालन हुनेछन् । यो मतदानस्थलमा ५ हजार ४ सय ९३ मतदाता रहेका छन् । मकवानपुरका १६७ मतदानस्थलमा निर्वाचन गराउन २ हजार २ सय ४४ कर्मचारी खटिने भएका छन् ।
२ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुर एउटा मतदान केन्द्रमा कम्तिमा ६ जना र बढी ८ जना कर्मचारी खटिएका छन् । मतदाता संख्याको आधार कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले बताइन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले शुक्रवार निर्वाचनमा खटिने कर्मचारीको सूची सार्वजनिक गरेको हो ।
मकवानपुर–१ मा ६२ मतदानस्थलमा १७८ वटा मतदान केन्द्र रहेका छन् । ती मतदान केन्द्रमा १ हजार ६८ कर्मचारी खटाइएको छ । क्षेत्र २ का १०५ मतदानस्थलमा १९६ मतदान केन्द्र छन् । ती केन्द्रमा १ हजार १ सय ७६ कर्मचारी खटाएका छन् ।







