हेटौंडा । चितवनको माडीमा बागमती सालक सम्मेलन भएको छ । ७ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सोमबार सकिएको छ ।
अवैद्य व्यापारका लागि चोरी शिकार र बासस्थल बिनास हुँदा सालक संकटमा परेको जनाउँदैं संरक्षणका लागि उक्त घोषणापत्र जारी गरिएको हो । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयले सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा जानकारी गराइए अनुसार विश्वमा ८ प्रजातीका सालक रहेका छन् ।
ती मध्ये एसिया महादेशमा ४ र नेपालमा कालो र तामे गरी दुई प्रजाती सालक पाइन्छन् । बागमती प्रदेशमा दूबै प्रजातिका सालक भेटिएका छन् ।
सालक संरक्षणमा देखिएका जोखिम न्यूनिकरणका लागि सम्मेलन आयोजना गरिएको हो । प्रदेश वन तथा वातावरण मन्त्री भरत केसीले सम्मेलन उदघाटन गरेका थिए । घोषणापत्रको पहिलो बुँदामा सालक पाइने वन र संरक्षित क्षेत्रमा बासस्थान व्यवस्थापनका लागि सरोकारवाला निकायको पहलमा संरक्षण शिक्षा कार्यक्रम गर्ने उल्लेख छ ।
चोरी शिकार र अवैद्य व्यपार नियन्त्रणकालागि संघ, प्रदेश र स्थानीय सरकारकासाथै संरक्षण साझेदार संस्थाको पहलमा स्थानीय समुदायलाई समेटेर कार्यक्रम गर्ने भनिएको छ ।
सालक संरक्षित वन्य जीव भएकाले यसको अवैद्य शिकार र व्यपार गरेको पाइएमा ५ देखि १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको सम्मेलन संयोजन गरेको चितवनका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले बताए ।
स्थानीय समुदायलाई सहभागी बनाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था, विश्वविद्यालय र तीन तहका सरकारको सहकार्यमा सालक संरक्षणका लागि आवश्यक अध्यय्न अनुसन्धान गरिने घोषणापत्रमा उल्लेख छ । स्थानीयको अपनत्व हुने गरी संरक्षण कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याउने भनिएको छ ।







