मकवानपुर । हेटौँडाको सडक विस्तार कार्यमा अवरोध गर्नेलाई कारवाही गर्ने मकवानपुर प्रशासनले चेतावनी दिएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै व्यवसायी तथा स्थानीयलाई सडक विस्तार कार्यमा सहयोग गर्न आग्रह गरेको छ । सडक डिभिजन कार्यालयले हेटौँडा बजार क्षेत्रको सडक विस्तारका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी दिएपछि यस कार्यलाई अगाडि बढाउनुपर्ने आवश्यकता भएको सूचनामा उल्लेख छ । सूचनामा सडक विस्तार कार्यलाई सहज र प्रभावकारी बनाउन सबै पक्षको सहयोग अनिवार्य रहेको जनाइएको छ ।
हेटौँडा बजार क्षेत्रमा रहेका व्यापारी तथा सर्वसाधारणको सक्रिय र सकारात्मक सहयोग आवश्यक पर्ने प्रशासनको सूचनामा छ । सूचनामा यही मंसिर २० गतेदेखि सडक निर्माणका लागि व्यवसायीले आफ्नो सामान, व्यापारिक सामग्री र निजी संरचना हटाउनुपर्ने बाध्यता आउने सम्भावनालाई ध्यानमा राख्दै समयमै तयारी गर्न आग्रह गरिएको छ ।
व्यवसायीले सडक विस्तारमा अवरोध पुग्ने गरी सार्वजनिक सम्पत्ति, सेवा सडक, व्यापारिक गतिविधि तथा संरचनालाई अनावश्यक रूपमा रोकेर प्रशासन र निर्माण कार्यमा बाधा पुर्याउने कार्य नगर्न सूचनामार्फत भनिएको छ । विकास निर्माणका कार्यलाई अवरोध पुर्याउने गतिविधि गर्ने व्यक्ति वा समूहलाई कानूनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।
अनधिकृत रूपमा व्यापारिक गतिविधि सञ्चालन गर्ने, सार्वजनिक स्थान र सडक पेटी अतिक्रमण गरी संरचना निर्माण गर्ने तथा सरकारी कार्यमा बाधा पुर्याउने क्रियाकलाप देखिएमा तुरुन्त रोक्न पनि प्रशासनको अनुरोध गरेको छ । सूचनामा सरोकारवाला सबैलाई सडक विस्तारलाई सहज र सफल बनाउन पूर्ण सहयोग पुर्याउन आग्रह गर्दै कुनै पनि कानुनविपरीत कार्य भएमा कडा कदम चालिने उल्लेख गरिएको छ ।
सडक विस्तारको तयारीपछि हेटौँडा बजार क्षेत्रका घरधनी र व्यावसायी भने आन्दोलित बनेका छन् । बुधबार हेटौँडाको बुद्धचोकबाट र्याली उनीहरुले निकालेका थिए । उनीहरुले सडक डिभिजन कार्यालय हेटौँडा, जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाए ।
आफ्नो घरका लालपूर्जा र अरुको लालपूर्जामा फरक नभएको भन्दै बिना मुआब्जा व्यक्तिका घर भत्काउन नहुने उनीहरुको दाबी छ ।
हेटौँडाको चौकीटोलदेखि रोतोमाटेसम्म र हेटौँडाको थानाभर्याङदेखि बजारक्षेत्र सम्मका घरधनी तथा व्यवसायीले हेटौँडाको मुख्य बजार क्षेत्रका सबै पसलहरु बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
सडक डिभिजन कार्यालय हेटौंडाका अनुसार उपमहानगरपालिका क्षेत्र भित्र पर्ने दुइ वटा राजमार्ग क्षेत्रका सडकहरु विस्तार गर्ने तयारी छ । सडक डिभिजन कार्यालय हेटौंडाले पूर्व-पश्चिम राजमार्ग र त्रिभुवनराजपथका दुई महत्वपूर्ण खण्डलाई स्तरोन्नति गर्दै दायाँ–बायाँ २५–२५ गज चौडाइसम्म सडक विस्तारको तयारी तीव्र पारेको हो । सडकमा रहेका संरचना भत्काउने दिन नजिकिदै गर्दा घरधनी र व्यवसायीहरु भने दिनहुँ आन्दोलनका कार्यक्रममा छन् । घरहरु भत्काउन आएमा प्रतिकारमा उत्रने उनीहरुको चेतावनी छ ।







