सिस्नोबाट स्वास्थ्य लाभ

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

नेपालका गाउँघरमा प्रायः बेवारिसे रूपमा उम्रिने, छुँदा पोल्ने र काँडा–काँडा लाग्ने सिस्नोलाई धेरैले अनावश्यक झार सम्झन्छन् । तर यही काँडाभित्र लुकेको छ-अपार स्वास्थ्य लाभ र पोषणको खजाना । सिस्नो नियमित सेवन गर्नाले शरीरमा सकारात्मक परिवर्तन ल्याउने मात्र होइन, यसबाट आवश्यक सबै पोषक तत्व प्राप्त गर्न सकिन्छ । यसमा पाइने क्याल्सियम, प्रोटिन, भिटामिन ‘सि’, फस्फोरस, फलाम, फाइबर र कार्बोहाइड्रेट शरीरका हरेक कोषमा ऊर्जा भर्ने शक्ति हुन् । विशेषगरी मुटु रोग, मधुमेह, उच्च रक्तचाप, रगतको कमी, प्रोस्टेट ग्रन्थीको समस्या तथा बाथ रोगमा सिस्नो अत्यन्त उपयोगी मानिन्छ । गर्भवती र सुत्केरी महिलाका लागि त यो प्राकृतिक पूरक आहारको रूपमा पनि काम गर्छ, जसले शरीरमा आवश्यक पोषणको मात्रा सन्तुलनमा राख्दछ ।

सिस्नो केवल औषधीय गुणले भरिएको बाली होइन, सौन्दर्य र पोषण दुबैको स्रोत हो । यसको नियमित सेवनले छाला मुलायम र अनुहार चम्किलो बनाउँछ, दाग हटाउँछ र कपाल झर्ने समस्या घटाउँछ । सिस्नोमा पाइने प्राकृतिक तत्वहरूले शरीरभित्र नयाँ रगतका कोष निर्माणमा सहयोग गर्छन् र शरीरका विषाक्त पदार्थहरू हटाउँछन् । यसले शरीरको प्रतिरक्षा शक्ति बढाउने काम पनि गर्छ । अझ चाखलाग्दो कुरा के छ भने सिस्नो जतिसुकै काटे पनि फेरि पलाउने वनस्पति हो । जति काटिन्छ, उति नै नयाँ मुना पलाउँछ । यसले वातावरणीय सन्तुलनमा पनि योगदान पुर्‍याउँछ । त्यसैले यसलाई अब आयआर्जनको स्रोतको रूपमा उपयोग गर्न सकिन्छ । अहिले धेरै किसानहरूले सिस्नोको व्यावसायिक खेतीमा रुचि देखाउन थालेका छन्, किनकि यो श्रम र लगानी दुवै हिसाबले सस्तो तर फाइदाजनक बाली हो ।

सिस्नो खानका विभिन्न स्वादिला तरिकाहरू छन् । हाम्रो गाउँघरमा तातो पानीमा उमालेर नुन, खुर्सानी, टिमुर, लसुन र मकैको च्याख्लासँग पकाएर खाने परम्परा छ । यसरी बनाइएको सिस्नो तरकारी वा साग स्वादमा मात्र होइन, स्वास्थ्यका हिसाबले पनि उत्तम हुन्छ । सिस्नोको सूप, जुस र चिया पनि अत्यन्त लोकप्रिय छन् । यसको सूपलाई भात वा मकैको च्याख्लासँग सेवन गर्दा ऊर्जा दिने, पेटलाई हलुका बनाउने र शरीर तातो राख्ने गुण हुन्छ । सिस्नोको फुलको सूप समेत स्वादिष्ट हुन्छ । अहिले बजारमा सिस्नोको सुख्खा पात र पाउडर पनि पाइन्छ, जसलाई सूप, तरकारी वा चियाका रूपमा प्रयोग गर्न सकिन्छ ।

सिस्नोको उपयोग केवल मानव स्वास्थ्यसम्म सीमित छैन । अनुसन्धानले देखाएको छ कि सिस्नो जनावरका लागि पनि उपयोगी हुन्छ । गाई-भैसीलाई सिस्नो खुवाउँदा दुध बढ्ने, शरीर तन्दुरुस्त हुने र रोग प्रतिरोधात्मक क्षमता बलियो हुने तथ्य पाइन्छ । कुखुरालाई सिस्नोको फुल र जराको सेवन गराउँदा अण्डा उत्पादनमा वृद्धि हुन्छ । यसको जरा औषधीय रूपमा समेत प्रयोग हुन्छ, विशेष गरी जोर्नी दुख्ने, बाथ र स्नायु सम्बन्धी समस्यामा। सिस्नोले शरीरमा ग्लुकोजको मात्रा नियन्त्रणमा राख्छ, रक्तचाप घटाउँछ, रगत शुद्ध गर्छ र छालामा हुने विभिन्न एलर्जीको उपचारमा पनि मद्दत गर्छ ।

आज विश्वका धेरै मुलुकमा सिस्नोलाई अमूल्य औषधीय बालीका रूपमा चिनिन्छ । युरोपका केही देशहरूमा त यसको सूप र जुस स्वास्थ्य उपचारमा प्रयोग गरिन्छ, जबकि नेपालमा भने अझै पनि धेरै ठाउँमा यसलाई झार सम्झेर फालिन्छ । तर अब चेतना फेरिन थालेको छ की पहाडका किसानहरूले यसको खेती गर्न थालेका छन् । र, बजारमा यसको माग बढ्दो क्रममा छ । यसलाई निर्यात गरेर पनि विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । वास्तवमा सिस्नो हाम्रो माटोको उपहार हो की जसले स्वास्थ्य, सौन्दर्य र अर्थोपार्जन तीनै कुरा एकसाथ दिन सक्छ । काँडाले पोल्ने भनिए पनि, यही सिस्नो जीवनमा अमृत झार्ने वनस्पति हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.