अन्तरिक्षमा गुगलको डाटा सेन्टर !

अहिले कृत्रिम बुद्धिमत्ताको लहरले विज्ञान, व्यवसाय, सञ्चार र मानव जीवनका हरेक पक्षमा नयाँ दिशा दिइरहेको छ । यो प्रविधि चलाउनका लागि आवश्यक उर्जा, डाटा भण्डारण र कम्प्युटिङ क्षमता निरन्तर चुनौती पनि बन्दै गएको छ । यही समस्याको दीर्घकालीन समाधानका खोजीमा ठूला प्रविधि कम्पनीहरू विश्वभर सक्रिय छन् । कोही जमिनमुनि डाटा सेन्टर बनाइरहेका छन्, त कोही समुद्रभित्र ऊर्जा–कुशल कम्प्युटिङ संरचना निर्माण गर्दैछन् । यिनै प्रयासहरूबीच गुगलले भने सोचभन्दा पनि परको दिशामा कदम चालेको छ की अन्तरिक्षमा कृत्रिम बुद्धिमत्ता कम्प्युटिङ प्रणाली निर्माण गर्ने साहसिक तयारी गरेको छ । गुगलको यो महत्वाकांक्षी परियोजना ‘सनक्याचर’ नामले परिचित छ । यसमा कम्पनीले पृथ्वीको तल्लो कक्षमा कृत्रिम बुद्धिमत्ताका लागि विशेष कम्प्युटिङ प्रणाली निर्माण गर्ने योजना बनाएको छ । कम्पनीका प्रमुख सुन्दर पिचाईका अनुसार, यस परियोजनाको पहिलो परीक्षण सफल भइसकेको छ । परीक्षणका क्रममा कम्पनीले ट्रिलियम पुस्ताको टेन्सर प्रोसेसिङ युनिट नामक चिपलाई पृथ्वीको बाहिरी विकिरणयुक्त वातावरणमा प्रयोग गर्‍यो, जसले उच्च विकिरण र तापक्रम सहन सक्ने क्षमता प्रदर्शन गर्‍यो । यो चिप विशेष गरी कृत्रिम बुद्धिमत्ताका गणनात्मक कार्यहरू तीव्र गतिमा सम्पन्न गर्नका लागि बनाइएको हो । उच्च विकिरणको वातावरणमा पनि यस चिपमा कुनै क्षति नहुँदा, अन्तरिक्षमा एआई प्रणाली सञ्चालन सम्भव हुने गुगलको विश्वास बलियो बनेको छ ।

सनक्याचर परियोजनाको मूल अवधारणा भनेको अन्तरिक्षमा डाटा सेन्टरहरू निर्माण गरेर तिनलाई सौर्य ऊर्जाबाट सञ्चालन गर्नु हो । अहिलेका कृत्रिम बुद्धिमत्ता प्रणालीहरू जस्तै संवादात्मक मोडेल, चित्र पहिचान गर्ने प्रणाली वा आवाज विश्लेषण गर्ने प्रविधि सञ्चालन गर्न अत्यधिक बिजुलीको खपत हुन्छ । त्यो बिजुली प्रायः कोइला, ग्यास वा पेट्रोलियमबाट उत्पादन हुने भएकाले वातावरणमा प्रदूषण बढाउँछ । तर अन्तरिक्षमा रहेको सौर्य ऊर्जा लगभग निरन्तर रूपमा उपलब्ध हुन्छ, र पृथ्वीको तुलनामा आठ गुणासम्म बढी प्रभावकारी हुन्छ । गुगलको योजनाले पृथ्वीमा ऊर्जा उत्पादनका कारण हुने प्रदूषण घटाउने मात्र होइन, हरित प्रविधिको नयाँ अध्याय सुरु गर्ने सम्भावना बोकेको छ । यसरी हेर्दा, गुगलको अन्तरिक्ष डाटा सेन्टरले वातावरणमैत्री प्रविधि र स्थायित्वका दृष्टिले नयाँ मोड ल्याउन सक्छ ।

गुगलले प्लानेट नामक कम्पनीसँग सहकार्य गरेर सन् २०२७ भित्र दुईवटा प्रोटोटाइप उपग्रह प्रक्षेपण गर्ने योजना बनाएको छ । यी उपग्रहहरूमा अन्तरिक्षमा कृत्रिम बुद्धिमत्ता प्रणाली सञ्चालनको सम्भाव्यता परीक्षण गरिनेछ । यसले भविष्यमा विशाल मात्राको डाटा प्रोसेसिङ र मेसिन लर्निङ कार्यहरू सीधै अन्तरिक्षबाट गर्न सक्नेछ । यदि यो योजना सफल भयो भने भविष्यका एआई मोडेलहरू पृथ्वीको सीमित स्रोतमा निर्भर हुने छैनन् । डाटा सेन्टरहरूको सञ्चालन लागत घट्नेछ, ऊर्जा खपत कम हुनेछ र जलवायु परिवर्तनको प्रभावमा समेत कमी आउनेछ ।
अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्नु केवल प्रविधिको चमत्कार मात्र नभई ऊर्जा–संकट र वातावरणीय असन्तुलनको दीर्घकालीन समाधान पनि रहेको प्रविधि विशेषज्ञहरूको भनाइ छ । पृथ्वीमा बढ्दो डेटा आवश्यकता र ऊर्जा संकटबीच, यो कदम नयाँ युगको सुरुवात हुन सक्छ । विज्ञानले कल्पना गरेको भविष्य जहाँ प्रविधि पृथ्वीको सीमाभन्दा पर पुगेर मानव सभ्यतालाई सन्तुलित बनाउँन गुगलको यो परियोजना त्यस दिशातिरको साहसिक पाइला हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.