बहुगुणी वनस्पति काँढे धनियाँ

नेपालका पहाडी गाउँ–बस्तीहरूमा कतिपय अमूल्य रैथाने वनस्पतिहरू आज पनि बेवास्ताको गर्तमा हराइरहेका छन् । तिनैमध्ये एउटा अनमोल नाम हो-‘काँढे धनियाँ’ । प्रकृतिले सहजै दिएको यो वनस्पति बहुगुणी मात्र होइन, सस्तो र सर्वसुलभ पनि हो । बाह्रै महिना पाइने काँढे धनियाँ विशेषतः मध्य पहाडी क्षेत्रमा प्रशस्त पाइन्छ, जहाँ चिस्यान र ओसिलो माटो हुन्छ । यसको जीवनशक्ति यति बलियो हुन्छ कि अन्य वनस्पतिको डसाइले पनि यसलाई असर गर्न सक्दैन । त्यसैले यो कहिलेकाहीँ अन्य बालीबीच पनि घुसिएर उम्रिन्छ । दुर्भाग्यवश, कृत्रिम र आयातित स्वादमा रमाउने हाम्रो बानीले यस्तो रैथाने औषधीय मूल्ययुक्त बालीलाई घर–आँगनबाट हराउँदै लगिरहेको छ । यही कारण, हामी विदेशी मसलाका पछि लाग्दा रोग र स्वास्थ्य समस्यामा फसिरहेका छौं । र, हाम्रो आर्थिक स्रोत बाहिरिन पनि यही प्रवृत्तिले टेवा पुर्‍याइरहेको छ ।
काँढे धनियाँलाई हाम्रो भान्सामा ‘प्राकृतिक मसला’को रूपमा सम्मान गर्न सकिन्छ । यसले माछा–मासु, तरकारी, वा चटनी जसमा राखिए पनि विशिष्ट बास्ना र स्वाद दिन्छ । पहाडी गाउँका पुराना पुस्ताले काँढे धनियाँलाई ‘कान्ले धनियाँ’ भनेर पनि चिन्छन्, किनकि यो प्रायः खेतका कान्ला, खरबारी र ओसिला ठाउँमा सहजै पलाउँछ । यसको हरियो र लम्बेतान पातका छेउमा स–साना काँडाहरू हुन्छन्, जसले यसलाई अन्य सागसब्जीभन्दा फरक बनाउँछ । फुलेको बेलामा ती काँडाहरू झनै स्पष्ट हुन्छन्, त्यही भएर यसको नाम ‘काँढे धनियाँ’ परेको हुनुपर्छ । असोज र कात्तिक यसको फस्टाउने र सुगन्धित बन्ने समय मानिन्छ । यसलाई खेतीका रूपमा पनि सजिलै उमार्न सकिन्छ– न कुनै रासायनिक मलको आवश्यकता, न कुनै विशेष हेरचाह । थोरै गोबर मल र चिस्यान पुग्ने वातावरण भए पुग्छ । यसरी हेर्दा काँढे धनियाँ जैविक खेतीको उत्कृष्ट उदाहरण बन्न सक्छ ।
पोषणविद्हरूका अनुसार काँढे धनियाँ केवल स्वादको स्रोत होइन, स्वास्थ्यको खानी पनि हो । यसमा पाइने क्याल्सियम, फलाम, राइबोफ्लाभिन र क्यारोटिनजस्ता तत्वहरूले शरीरलाई सशक्त बनाउँछन् । यो मसला मुटुलाई सशक्त राख्न, रगत शुद्ध गर्न, मधुमेह नियन्त्रणमा राख्न र स्नायु प्रणाली सुदृढ बनाउन मद्दत गर्छ । रुघाखोकी, पखाला, कब्जियत वा बान्ताजस्ता समस्यामा यसको सेवन लाभदायक हुन्छ । पोषणविद्हरूले सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत यसका औषधीय गुणहरूको प्रचार गर्न थालेका छन् । वैज्ञानिक अध्ययनले समेत यसमा शरीरभित्रको विषाक्त पदार्थ हटाउने क्षमता रहेको देखाएको छ । अल्जाइमर,पार्किन्सन र फोक्सोसम्बन्धी रोगका बिरामीका लागि पनि यसको प्रयोग लाभदायक मानिन्छ । यस्तो गुण भएको वनस्पति आज पनि हाम्रो भान्साबाट हराउँदै जानु वास्तवमै विडम्बना हो ।
अब परिस्थितिले दिशा परिवर्तन माग्दैछ । पछिल्ला वर्षहरूमा देशका विभिन्न सहरका तरकारी बजारहरूमा काँढे धनियाँ बिस्तारै बिक्रि हुन थालेको छ । उपभोक्ताले एकचोटि यसको स्वाद चाखेपछि फेरि खोज्ने गर्छन् । काँढे धनियाँलाई यदि नियमित खेतीका रूपमा लगाउन सकियो भने कम श्रममा पनि राम्रो आम्दानी लिन सकिन्छ । यो हाम्रो माटोमै हुर्किएको, कुनै मिसावट नभएको, पूर्ण जैविक वनस्पति हो । नेपालले आयातित मसलामा करोडौँ रुपैयाँ विदेश पठाइरहेको छ, तर आफ्नै आँगनमा यस्ता पौष्टिक र स्वादिला वनस्पति घाममा सुक्दै, काँडामा फँस्दै, लोप हुँदै छन् ।
अब काँढे धनियाँ जस्ता रैथाने बालीलाई पुनः मूल्याङ्कन गर्न आवश्यक छ । कृषकलाई प्रोत्साहन दिने र बजारमा यसको स्थायी आपूर्ति सुनिश्चित गर्नुपर्छ । यसको प्रयोगलाई गाउँघरको भान्साबाट शहरका होटल-रेस्टुराँसम्म पुर्‍याउन सकियो भने, यो केवल मसलाको रूपमा होइन ‘रोजगारी र आत्मनिर्भरताको प्रतीक’ पनि बन्न सक्छ । काँढे धनियाँ हाम्रो माटो, स्वाद र स्वास्थ्यसँग जोडिएको हरियो सम्पदा हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.