स्टारसिपको ऐतिहासिक सफलता

विश्वका सबैभन्दा धनी र दूरदर्शी उद्यमी एलन मस्कले फेरि एकपटक संसारको ध्यान आकृष्ट गरेका छन् । उनीद्वारा स्थापना गरिएको कम्पनी स्पेसएक्सले मंगल यात्रातर्फको मानव सभ्यताको सपना साकार पार्ने दिशामा अर्को महत्वपूर्ण पाइला चालेको छ । कम्पनीले हालै विश्वकै सबैभन्दा शक्तिशाली रकेट ‘स्टारसिप’को ११ औँ परीक्षण सफलतापूर्वक सम्पन्न गरेको घोषणा गरेको हो । मंगलबार बिहान अमेरिकाको टेक्सास राज्यको बोका चिका स्पेस सेन्टरबाट गरिएको प्रक्षेपण करिब एक घण्टा ६ मिनेट लामो उडानपछि सफल अवतरणसहित सम्पन्न भएको थियो ।

यो परीक्षण केवल एउटा प्राविधिक सफलता मात्र होइन, मानव इतिहासको अर्को सम्भावनाको द्वार पनि हो । स्टारसिपको ‘सुपर हेभी बुस्टर’ योजनाअनुसार मेक्सिकोको खाडीमा अवतरण भयो, जबकि मुख्य अन्तरिक्षयान हिन्द महासागरमा नियन्त्रित रूपमा अवतरण गरियो । यसरी सम्पूर्ण मिशन योजनाबद्ध रूपमा सम्पन्न हुनुले स्पेसएक्सको प्रविधि अब प्रयोगिक चरणमा पुगेको प्रमाणित भएको छ ।

४०३ फिट अग्लो यो रकेट अहिले सम्म निर्माण गरिएका सबैभन्दा ठूलो र शक्तिशाली संरचना हो । यसको माथिल्लो भागलाई ‘स्टारसिप’ र तल्लो भागलाई ‘सुपर हेभी बुस्टर’ भनिन्छ । यी दुई मिलेर बनेको यो प्रणालीलाई पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने बनाइएको छ । यसको अर्थ एक पटक उडाएको रकेटलाई मर्मतपछिको अर्को मिशनमा पुनः प्रयोग गर्न सकिनेछ । यसले अन्तरिक्ष यात्रालाई सस्तो, सुरक्षित र दीर्घकालीन रूपमा सम्भव बनाउनेछ ।

एलन मस्कले बारम्बार आफ्नो अभिव्यक्तिमा भनेका छन्-‘मानवता पृथ्वीमै सीमित रहन सक्दैन, हामीले तारामण्डलको खोजी गर्नैपर्छ ।’ स्पेसएक्सको स्टारसिप यही दृष्टिकोणको मूर्त रूप हो । यो परियोजना नासाको ‘आर्टेमिस प्रोग्राम’ सँग पनि सम्बन्धित छ, जसअन्तर्गत अन्तरिक्ष यात्रीहरूलाई पुनः चन्द्रमामा पठाउने तयारी भइरहेको छ । मस्कको योजना अझ पर पुग्छ-मानवलाई स्थायी रूपमा मंगल ग्रहमा पठाउने, त्यहाँ बसोबासको वातावरण तयार गर्ने र पृथ्वी बाहिर पनि जीवनको सम्भावना देखाउने ।

यसअघि गत अगस्ट २७ मा गरिएको १० औँ परीक्षण पनि सफल भएको थियो । त्यसपटक स्पेसएक्सले स्टारलिंक सिम्युलेटर उपग्रहलाई अन्तरिक्षमा पठाएको थियो । त्यसबेला सम्पूर्ण प्राविधिक उद्देश्यहरू पूरा गरेको थियो । यो ११ औँ उडानसँगै कम्पनीले अझ उन्नत इन्धन दक्षता, नेभिगेशन प्रणाली र पुनः प्रवेश प्रविधि परीक्षण गरेको बताइएको छ । प्रत्येक उडानपछि हुने सुधारले अब स्टारसिपलाई व्यावसायिक प्रयोगका लागि नजिक ल्याइरहेको छ ।

स्टारसिपको मुख्य इन्जिन ‘र्‍याप्टर’ मिथेन र अक्सिजनको मिश्रणमा चल्ने अत्याधुनिक प्रविधि हो, जसले परम्परागत इन्धनको तुलनामा कम प्रदूषण उत्पन्न गर्छ । यसले वातावरणमैत्री अन्तरिक्ष यात्राको सम्भावना पनि देखाएको छ । करिब १५० टनभन्दा बढी कार्गो अन्तरिक्षमा लैजान सक्ने यो रकेटले भविष्यमा मानिस मात्र होइन, ठूला संरचना र उपकरणहरू पनि अन्तरिक्षमा पठाउने बाटो खोल्नेछ ।

कयौँ आलोचकहरूले मस्कको मंगल-यात्रा योजनालाई असम्भवको सपनाजस्तो व्याख्या गर्दै आएका थिए, तर यो ११औँ सफल परीक्षणले ती सबै शंका धेरै हदसम्म मेटेको छ । नासाका अधिकारीहरूका अनुसार यो सफलताले मानवलाई चन्द्रमादेखि मंगल ग्रहसम्म पुर्‍याउने तयारीलाई व्यवहारिक बनाएको छ ।

अन्तरिक्ष यात्राको इतिहास हेर्दा हरेक युगमा कुनै एउटा ठूलो साहसिक कदमले नयाँ अध्याय खोल्दै आएको छ-राइट दाजुभाइको पहिलो उडानदेखि लिएर एपोलो ११ को चन्द्र अवतरणसम्म । अहिले त्यो अध्यायमा अर्को नाम थपिएको छ-स्टारसिप । यो केवल प्रविधिको प्रगति होइन,मानवताको अस्तित्वलाई तारासँग जोड्ने सपना हो । एलन मस्कको भनाई छ -‘हामी मंगलमा पुग्नेछौं, यो ‘हुन्छ कि हुँदैन’ भन्ने होइन, ‘कहिले हुन्छ’ भन्ने मात्र प्रश्न हो ।’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.