आँखामा हुने एलर्जीको समस्या पनि मनसुनमा बढी देखिन्छ । एलर्जीले आँखामा रातोपन, चिलाउने, माडौँ-माडौँ हुने अवस्था ल्याउँछ । यसले केवल व्यक्तिलाई असजिलो बनाउने मात्र होइन, एक व्यक्तिबाट अर्कोमा इन्फेक्सन सर्न सक्ने जोखिम पनि बढाउँछ । त्यसैले यस मौसममा आँखाको सुरक्षा र स्वच्छता विशेष महत्व राख्छ ।
सावधानीका उपायहरूः
सकेसम्म प्रदूषित इलाकामा नजाने प्रयास गर्नुहोस्। बाइक वा गाडी चलाउँदा, वा पहाडी क्षेत्रमा हिँड्दा सनग्लास लगाउनाले घाम र प्रदूषणबाट आँखालाई बचाउँछ ।
घर बाहिरबाट फर्किएपछि हात साबुनपानीले राम्ररी धुनुहोस् । हात नपखाली आँखामा नछुनुहोस् । पहिले हात धुने र त्यसपछि आँखामा पानीले पखाल्नु उपयुक्त हुन्छ । यसले आँखामा टाँसिएका धुलो-धुवाँ सफा गर्छ । बिहान पनि चिसो पानीले हल्का पखाल गर्दा आँखालाई राहत मिल्छ ।कोही व्यक्ति संक्रमणयुक्त छ भने उनको नजिक नजानुहोस् । संक्रमित व्यक्ति नजिक हुँदा इन्फेक्सन सर्न सक्छ । यस्ता अवस्थामा संक्रमितले कालो चस्मा लगाउँदा जोखिम कम हुन्छ ।
संक्रमितले प्रयोग गरेका सामान जस्तै मोबाइल, रुमाल, टाबेल, चस्मा आदि अरूले नचलाउने ।
आँखामा हेभी मेकअप नगर्नु राम्रो हुन्छ । भित्री ढकनीमा मेकअपले इरिटेसन ल्याउन सक्छ । बाहिरी भागमा सामान्य मेकअप गर्न सकिन्छ, तर एउटाले प्रयोग गरेको ब्रस अर्कोले प्रयोग गर्नु हानिकारक हुन्छ ।
गर्मी र मनसुनको समयमा स्विमिङ पुलमा ध्यान दिनु आवश्यक छ । आँखा संक्रमित भएका व्यक्तिले स्विमिङ नगर्नु पर्ने हुन्छ । स्वस्थ व्यक्तिले पनि पानीको सफाइ कस्तो छ भन्ने निश्चित गर्नु पर्छ । निर्मलीकरण भएको पानीमा मात्र पौड्नुपर्छ । स्विमिङ गगल्स लगाउँदा आँखामा पानी प्रवेश हुँदैन ।
आँखा संक्रमण वा पाकेको अवस्थामा बच्चालाई केही दिन स्कूल नपठाउनुहोस् र घरमै आराम गर्न दिनुहोस् । यसले संक्रमण अरूमा सर्नबाट रोक्छ र बच्चालाई पनि आराम मिल्छ ।
आँखामा सुक्खापन, पोल्ने वा चिलाउने समस्या भएमा लुब्रिकेटिङ आई ड्रप प्रयोग गर्न सकिन्छ । दिनमा तीन–चार घण्टाको फरकमा प्रयोग गर्दा आँखालाई राहत मिल्छ ।
कम्प्युटर, ल्यापटप वा अन्य डिजिटल उपकरण प्रयोग गर्दा आँखामा समय-समयमा आई ड्रप लगाउन सकिन्छ । दुई–तीन घण्टाको अन्तरालमा प्रयोग गर्दा आँखालाई सुक्खापनबाट जोगाउन सकिन्छ र शीतलता पनि मिल्छ ।
आँखाको नियमित जाँच गर्न आवश्यक छ । चस्मा लगाउने वा पावर भएका व्यक्तिले ६ महिनामा जाँच गर्नुपर्छ । आँखामा कुनै समस्या नभएमा वर्षमा एकपटक स्क्रिनिङ टेस्ट गर्नु राम्रो अभ्यास हो ।
मनसुनमा आँखाको सुरक्षा र स्वच्छता अपनाउँदा मात्र रातोपन, जलन र संक्रमणबाट बच्न सकिन्छ । व्यक्तिगत सफाइ, सनग्लास प्रयोग, सही आई ड्रप र डिजिटल उपकरणको सीमित प्रयोगले आँखा स्वस्थ राख्न मद्दत गर्छ । यसरी व्यवस्थित सावधानी अपनाउनाले मनसुनमा पनि आँखामा कुनै गम्भीर समस्या नआउने सुनिश्चित गर्न सकिन्छ ।







