कविता: झ्यालमा देखिने एउटी सानी नानी

माधव बहादुर पोखरेल

हरेक दिन
सुर्यको किरण उदाए झैं
मेरो घरको ठिक पुर्व
हरेक बिहान
घरको एउटा झ्याल खुल्छ
एउटी सानी नानी
झ्यालको छेवैमा आएर बस्छिन्
र चियाउछिन् बाहिरको संसार,
बिहानीको उषा झैँ
उनी निर्मल छिन्
निश्चल छिन्
अबोध छिन्
अनि सुन्दर पनि,

झ्याल खोले संगै पस्ने
उज्यालोको प्रकाशले
कोठा झलमल्ल भए जस्तै
लाग्छ
हरेक बिहान झुल्किने
उषाको रङ्ग
उनका शरीरका
हरेक अंगमा पोतिएर
दिन दिनै इन्द्रेणी झैँ
सुन्दर बनाई रहेकोछ,

केही छिन् पछि
उनी त्यहाँ बाट हराउछिन्
उनी त्यहाँ रहन्नन्
दिन छिप्पिदै जान्छ
घाम चर्किदै जान्छ
कोठाको वातावरण
चकमन्न हुन्छ
शून्य हुन्छ!

त्यसै त्यसै घोत्लिन्छु
अनि सोच्छु
एकदिन
उनी पनि यसै गरि
घाम जस्तै छिप्पिने छिन्
अनि
हराउनेछिन्
यो रंगीन संसारमा !

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.