गाउँपालिकाले आफ्नै लगानीमा बनायो कैलाश–बैकुण्ठ जीपलाइन

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा निर्मित कैलाश–बैकुण्ठ जीपलाइनको उद्घाटन गरिएको छ । नयाँवर्षको अवसर पारेर जीपलाइनको उद्घाटन गरिएको हो ।
गाउँपालिकाको करिब ८८ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको एक हजार दुइसय मिटर लामो जीपलाइनको सोमबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्लले उद्घाटन गरेका हुन् । बैकुण्ठ–कैलाश जीपलाइन सञ्चालनमा आएसँगै यहाँ पर्यटकको आवागमन बढ्ने गाउँपालिका अध्यक्ष मुक्तानले विश्वास व्यक्त गरे ।
‘बैकुण्ठसम्म पुग्ने सडक सुधारका साथै होमस्टे सञ्चालन र अन्य संरचना निर्माण गर्न गाउँपालिका लागिपरेको छ’, गाउँपालिका अध्यक्ष मुक्तानले भने । प्रदेश र संघीय सरकारसँगसमेत समन्वय गरी सडक पूर्वाधार सुधार गर्ने र पर्यटक आवागमन वृद्धि गरी गाउँको विकास गरिने अध्यक्ष मुक्तानले प्रतिवद्धता जनाए ।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष मल्लले कैलाश–बैकुण्ठलाई ऐतिहासिक पर्यटकीयक्षेत्रको रुपमा चिनाउनको लागि आफूहरु निरन्तर लागिरहेको बताए । मनोरम प्राकृतिक वातावरण भएको बैकुण्ठमा नयाँ पर्यटकीयसंरचना थप गर्दै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याएर कैलाशले आम्दानी लिनुपर्ने उनको भनाई थियो ।
कैलाश गाउँपालिका–२ को बैकुण्ठडाँडामा रहेको स्टेशनबाट चढेर कैलाश डाँडासम्म जीपलाइनमा यात्रा गर्न सकिन्छ । कैलाश गाउँपालिकाको नामाकरण भएको कैलाश डाँडा र बैकुण्ठ डाँडाऐतिहासिक र धार्मिक महत्व बोकेको ठाउँ हो । धादिङको सीमानामा रहेको बैकुण्ठमा पछिल्लो समय गाउँपालिका र प्रदेश सरकारले पर्यटकीय संरचना निर्माणमा चासो दिइरहेका छन् ।
२०८० माघमा ठेक्का प्रकाशित भएसँगै सन्ध्या निर्माण सेवासँग ८८ लाख ५६ हजार ७ सात ६१ रुपैयाँमा ०८१ फागुन मसान्तसम्ममा सम्पन्न गर्नेगरी जीपलाइन निर्माणको ठेक्का सम्झौता भएको थियो ।
जीपलाइनको अघिल्लो आर्थिक वर्षमा ४८ प्रतिशत काम सम्पन्न भएको थियो भने बाँकी काम यसवर्ष सकिएको हो । जीपलाइन सञ्चालन भएसँगै धादिङको बेनीघाटरोराङ र गजुरी गाउँपालिका, मकवानपुरको थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिका, चितवनका जीपलाइन पारखीको गन्तव्यस्थल बन्ने विश्वास लिइएको छ ।
धादिङसँग सीमाना जोडिएकाले जीपलाइनस्थल पुग्न बेनीघाटरोराङ, थाहानगर र मनहरी बजार तीनै क्षेत्रबाट करिब ३३ किलोमिटर सडक सञ्जाल जोडिएको छ । बैकुण्ठमा जीपलाइनसँगै विभिन्न पर्यटकीय पार्कहरु निर्माण भइसकेका छन् । प्राकृतिक सौन्दर्यता, हावापानी र धार्मिक तथा पर्यटकीय महत्वका विभिन्न स्थल रहेको मकवानपुरको बैकुण्ठ नयाँ पर्यटकीय गन्तव्यको रुपमा उदाइरहेको छ ।
स्थानीय सरकारले बैकुण्ठलाई पर्यटकीयक्षेत्र बनाउनको लागि चासोका साथ लगानी गरेसँगै यहाँ आकर्षक पार्कहरु, गुम्बालगायत संरचना निर्माण भइसकेका छन् । धादिङ, मकवानपुर र चितवनबाट घुम्न आउने पर्यटकको संख्या पनि बढ्दो छ ।
बैकुण्ठबाट कैलाश गाउँपालिकाको अधिकांश वडाको अवलोकन गर्न सकिन्छ । ऐतिहासिक विष्णुकुण्ड, गुफा, तामाङ जातिको परम्परागत सांस्कृतिक सम्पदा रहेका कारण पर्यटकीय हिसाबले बैकुण्ठ निकै महत्वपूर्ण मानिएको गाउँपालिका–२ का वडाध्यक्ष राजेन्द्र घिसिङले बताए ।
कैलाश बैकुण्ठको पर्यटकीय विकासका लागि गाउँपालिका साथै बागमती प्रदेश सरकारले लगानी गरेको छ । विष्णुकुण्ड, गुरु पद्मसम्भवको प्रतिमा, डाँफे मुनाल पार्क, ऐतिहासिक सतिघाट, भाइरल पिङलगायत पर्यटकीय आकर्षणरहेको वैकुण्ठमा जिपलाइन अर्को ठुलो आकर्षण बन्ने भएको छ ।
प्राकृतिक, धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटनको केन्द्र वैकुण्ठ कैलाश अब साहसिक पर्यटनको गन्तव्य पनि बन्ने भएको छ । देशकै लामो जिपलाइन बनेपछि देशभरिकै आन्तरिक पर्यटकको ध्यानाकर्षण गर्ने र बाह्य पर्यटकको समेत आगमन बढ्ने स्थानीयको विश्वास छ ।
बैकुण्ठमा केही वर्षअघि निर्माण गरिएको डाँफे मुनाल पार्कले सबैको ध्यान खिचिरहेको छ । चारैतिर हिमाल र पहाडको दृश्य देखिने अग्लो पहाडको टुप्पामा निर्माण गरिएको डाँफे र मुनालको आकर्षक प्रतिमाले सबैको मन लोभ्याउने गरेको छ ।
डाँफे मुनाल पार्क नजिकैको डाँडामा आकर्षक डम्फूपार्क, चितुवापार्क र टु·ना पार्क निर्माण गरिएको छ । पर्यटनका लागि आवश्यक धेरै संरचनाहरु बनाइएको र अब पर्यटकको आवासको लागिव्यवस्थित होमस्टे स्थापना गरिने योजना रहेको वडाध्यक्ष घिसिङले बताए ।
मकवानपुरको पर्यटकीय नगरी पालुङबाट करिब ३ घण्टाको कच्ची सडकको यात्रापछि कैलाशको बैकुण्ठ पुग्न सकिन्छ । धादिङको मलेखु र आदमघाटबाट पनि बैकुण्ठ पुग्ने सडक बनिसकेको छ । राक्सिराङ गाउँपालिकाको खैराङबाट पनि बैकुण्ठसम्म पुग्न सकिनेगरी सडक निर्माण भइसकेको छ ।
हिउँदयाममा मकवानपुरको मनहरीबाट करिब साढे २ घण्टामै बैकुण्ठडाँडा पुग्न सकिन्छ । धादिङको बेनिघाट रोराङ गाउँपालिकासँग सीमाना जोडिएको बैकुण्ठबाट धादिङ, गोरखा र रसुवाका हिमालहरुको आकर्षक दृश्य देख्न सकिन्छ ।