तीनकुने घटनापछि फरार दुर्गा प्रसाईं भारतबाट पक्राउ

हेटौंडा । विवादास्पद व्यवसायी दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ परेका छन् । उनलाई पक्राउ गरि नेपाल ल्याईंदैछ ।
गत १५ चैतमा काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका हुन् । राजावादीहरुको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाले ज्यान गुमाउनु परेको थियो ।
तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं एउटा घरको सटरभित्र लुकेर स्कर्पियोमा हुँकिएपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो ।
प्रसाईंले भने सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको र नेपालमै रहेको बताउँदै आएका थिए । उनले आफू नभागेको र ज्यान सुरक्षाको माग गरिरहेका थिए ।
यद्यपि, प्रसाईंको सचिवालयले भने भारत आसाममा आत्मसमर्पण गरेको दाबी गरेको छ । दुर्गा प्रसाईं नामक फेसबुक एकाउन्टमा उनको सचिवालयले राखेको पोष्टमा आफ्नो सुरक्षाको लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको दाबी गरिएको छ ।