कर्मचारी नै बस सञ्चालक, बास बसेको घरमै झुण्डिएको भेटिए

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा गएराति दुर्घटनामा परेको बसका सञ्चालकसमेत रहेका भीमफेदी गाउँपालिकाको कर्मचारी झुण्डिएको अवस्थामा भेटिएका छन् ।
गाउँपालिकाको पशु विकास शाखामा कार्यरत् प्राविधिक बिमल ढुंगाना आज बिहीवार बिहान उनी सुतेको घरको कोठामा पंखामा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । हेटौंडा उपमहानगरपालिका–१९ हर्नामाडी घर भएका २९ वर्षीय ढुंगाना बस सञ्चालकमध्ये एक रहेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।
पूर्वीमकवानपुरको बकैया गाउँपालिका–३ चिसापानीमा बा प्र ०६–००१ ख ०२७० नम्बरको यात्रुबाहक बस बुधवार राति दुर्घटनामा परेको थियो । भीमफेदी गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाको आयोजनामा अगुवा कृषकहरु पूर्वी नेपालको भ्रमण सकेर फर्किने क्रममा बस मदन भण्डारी मार्ग (धरान–चतरा सडक खण्ड)को मोडमा पल्टिएको हो । दुर्घटनामा बसमा सवार ३० जना घाइते भएको र चालक फरार रहेको प्रहरीले जनाएको छ ।
भ्रमणमा बस सञ्चालकसमेत रहेका कर्मचारी ढुंगाना पनि सहभागी थिए । दुर्घटनामा उनी सामान्य घाइते मात्रै भएको डिएसपी अर्यालले बताए । हेटौंडा अस्पतालमा उपचारपछि आज बिहान करिब ३ बजे निस्किएका ढुंगाना हेटौंडा–११ नवलपुरस्थित भीमफेदी गाउँपालिका–९ का वडासदस्य उदयप्रसाद हटवालको घरमा बास बसेको अर्यालले बताए ।
बिहान अवेरसम्म नउठेपछि हटुवालले बोलाउँदा पनि नबोलेका कारण झयालबाट हेर्दा ढुंगाना पंखामा खादा र टाईको डोरी बनाएर झुण्डिएको अवस्थामा फेला परेका हुन् । ढुंगाना सुतेको कोठामा हेर्दा कपडा राख्ने दराजबाट खादा, टाई निकालेर डोरी बनाएको प्रहरीले जनाएको छ ।
पाइन्टमा लगाउने पेटी चुँडिएको अवस्थामा प्रहरीले बरामद गरेको छ । प्रहरीकाअनुसार पेटीलाई पासो बनाउन खोज्दा चुँडिएको अनुमान छ ।
भ्रमणमा सँगै रहेका गाउँपालिकाका कृषि प्राविधिक सुदिप पराजुलीले दुर्घटनामा पछि ढुंगाना आत्तिएको अवस्थामा रहेको बताएका छन् । उनले आफ्नो बस रहेको बारे कहिल्यै नबताएको र घटनापछि मात्रै थाहा पाएको सुनाए ।
विश्वनाथ र सत्यवतीका कान्छो छोरा बिमलले बस भन्दा अगाडि चार पाङ्ग्रे सवारी पनि सञ्चालन गरेको अस्पतालमा भेटिएका उनका आफन्तहरुले बताएका छन् । यसअघि उनको स्कर्पियो गाडि पनि रहेको थियो । उनले गागि भाडामा लगाउने गरेका थिए । उनको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।
दुर्घटनामा घाइतेहरुको चितवन र हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको डिएसपी श्यामु अर्यालले जानकारी दिए । भीमफेदी गाउँपालिका–२ का वडाध्यक्ष कासीराम बज्युसहितका जनप्रतिनिधि, गाउँपालिकाको कर्मचारी र कृषकहरु दुर्घटनामा घाइते भएका छन् ।
भीमफेदी–६ बस्ने ४५ वर्षीया सुमित्रा लामा र ५५ वर्षकी सानी आलेको अवस्था गम्भीर भएकाले उनीहरुलाई चितवन मेडिकल कलेज रिफर गरिएको छ ।