मकवानपुरगढीमा आतंक मच्चाउँदै चितुवा, स्थानीयको पशुचौपाया मार्दै

हेटौंडा– विशेषतस् मकवानपुरगढी गाउँपालिकाको वन क्षेत्र बाघ, चितुवा लगायतका हिंसक जनावरका लागि उपयुक्त बासस्थान होइन । यहाँ विगत २–३ वर्षदेखि कहिले बाघ, कहिले चितुवाको रजगज चलिरहेको छ ।
बाघले २०७९ कार्तिक २६ गते राति मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ हेलिग्रामा स्थानीय गोपाल विश्वकर्माको ७ वटा खशिबाख्रा मारेको थियो । मकवानपुरगढीमा बन्यजन्तुले एकैपटक यतिको संख्यामा घरपालुवा जनावर क्षति गरेको यो पहिलो पटक थियो ।
करिब २ वर्षपछि मकवानपुरगढीमा बाघपछि चितुवाले आतंक मच्चाइरहेको छ । करिब डेढ महिना अघिदेखि चितुवा आतंक सुरु भएको इलाका वन कार्यालय धादिङका रेञ्जर निश्चल मिघिरेले बताए । गत महिना मकवानपुरगढी–५ सोलीथुममा स्थानीय माधव घिमिरेको खोरबाट दुई वटा बाख्रा मारेको थियो ।
यही चैत्र १८ गते रातको ९ बजेको समयमा मकवानपुरगढी गाउँपालिका–४ धरमचुली स्थित सूर्य बहादुर पाख्रीनको एकीकृत गाईफार्ममा एक बाच्छो मारेको र एक दुधालु गाईलाई घाइते बनाएको हो । त्यस्तै, चैत २० गते राती नै मकवानपुरगढी–२ भालुन्टार निवासी रन्जु चापागाईंको खोरबाट एक बाख्रा मारेर खाएको छ ।
त्यसैगरी, मकवानपुरगढी–६ को जनएकता टोलका नक्कुल सापकोटाको पनि दुई वटा बाख्रा क्षति गरेको छ । स्थानीयहरुले २–३ वटा घरपालुवा कुकुर पनि मृत अवस्थामा फेला पारेका छन् भने वडा नम्बर ३ मा स्थानीय राम प्रसाद दाहालको गोठमा बाच्छो घाइते अवस्थामा छ ।
जंगली जनावरले २ बाख्रा, एक बाच्छो मारेको र एक दुधालु गाई घाइते बनाएको विवरण संकलन भएको इलाका प्रहरी कार्यालय मकवानपुरगढीले जनाएको छ । विवरण टिपाउन क्रम चलिरहेको छ, जसका कारण क्षति बढ्न सक्ने देखिएको प्रहरीले जनाएको छ ।
घटनाको संख्यागत हिसाबले पालिकाभित्र अहिलेसम्मकै धेरै स्थानमा पुगेर जंगली जनावरले क्षति गरेको मकवानपुरगढी गाउँपालिका–३ का वडाध्यक्ष भागवत घिमिरे बताउँछन् । क्षतिपूर्तिका लागि वन कार्यालयसँग आवश्यक कागजात पठाउने तयारी भइरहेको उनले बताए ।
चितुवा मान्छेका लागि कति खतरनाक ?
मकवानपुरगढी–३ का स्थानीय विशाल लुङ्वाले आफू चितुवाको आक्रमणबाट बचेका छन् । उनले सामाजिक सञ्जालमार्फत बिहीबार साँझ ७ बजेको समयमा आफू हेटौंडाबाट मोटरसाइकलमा घर फर्कने क्रममा कालिखोलास्थित सुरेश पाख्रीनको घर नजिकै चितुवाको आक्रमणमा परेको बताएका छन् ।
चितुवा उनी सवार मोटरसाइकलसँग ठोक्किएर जंगलतर्फ भागेको र आफू जोगिन सफल भएको बताउँदै उनले लेखेका छन्, “सम्पूर्णमा सजग रहन अनुरोध गर्दछु ।” जंगली जनावरले मकवानपुरगढीका विभिन्न स्थानमा पशुचौपाया मारेका र मान्छेलाई समेत आक्रमण गर्न थालेपछि स्थानीयहरू त्रसित बनेका छन् ।
स्थानीयहरु एक्लै हिड्डुल गर्न, पानी ल्याउन, घरायसी काम जस्तै दाउरा, घाँस, सोत्तर लगायतका काम गर्न समेत डराउने स्थिति भएको स्थानीय राम प्रसाद चापागाईं बताउँछन् ।
डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश चन्द्रवंशीले मकवानपुरगढी क्षेत्रमा चितुवाले नै घटनाको पुष्टि गरेका छन् । उनका अनुसार नियन्त्रण र निगरानीका लागि निकुञ्जबाट दक्ष प्राविधिक ल्याएर ४ वटा सिसीटीभी र एक वटा पासो थपिएको छ ।
मंगलबार सिसीटीभी वडा नम्बर ३ र ४ मा २–२ वटा जडान गरेर वडा नम्बर ४ मा पासो थापिएको हो । करिब दुई महिनादेखि पालिकाभरी आतंक मच्चाउने चितुवा नियन्त्रणमा लिन सकेको छैन ।
बिहीबार रातीसम्म चितुवा न सिसीक्यामेरा देखिन्छ, न पासोमै परेको छ । पीडित किसानहरुले नेपाल सरकारले तोकेअनुसार क्षतिपूर्ति पाउने प्रमुख चन्द्रवंशीले बताए ।
मकवानपुरगढी होस् वा हेटौंडा उपमहानगर, जिल्लाभरका सामुदायिक वनमा हिंसक जनावरलाई चाहिने आहारा सहितको उपयुक्त बासस्थान छैन। जंगलमा रहेका थोरै संख्यामा मृत प्रजातिहरु चर्ने क्रममा स्थानीयको बालिमा पुग्ने गरेको छ ।
त्यही मृगलाई पछ्याउँदै जाने क्रममा चितुवा मानववस्तीमा प्रवेश गर्ने र नभेटेपछि स्थानीयहरुको गोठखोरको गाई–बाख्रालाई आफ्नो सिकार बनाउने गरेको हुन सक्ने अनुमान छ ।
यस वनमा चितुवा आउनुको कारण निकुञ्ज क्षेत्रको वनमा डढेलो रहेको जानकारहरुले बताएका छन् । सम्हाल र धैर्य अपनाउने हो भने चितुवा मान्छेलाई आक्रमण नगर्ने, डिभिजन वन अधिकृत चन्द्रवंशी बताउँछन् ।