कुलेखानी–फाखेल सडक सञ्चालनमा ल्याउने गरी धमाधम काम
हेटौंडा । हेटौंडा–काठमाडौं छोटो दूरीको वैकल्पिक मार्ग भीमफेदी(कुलेखानी–फाखेल सडक दुई दिनभित्रमा सञ्चालनमा आउने भएको छ ।
असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण छोटो दूरीका भीमफेदी–कुलेखानी–फाखेल र भीमफेदी–कुलेखानी–सिस्नेरी सडक मार्गको विभिन्न स्थानमा गएको पहिरो र सडक तथा पुल क्षेत्रमा भएको कटानका कारण अवरुद्ध रहेको छ ।
अहिले भीमफेदी–कुलेखानी–फाखेल सडक सञ्चालनका लागि प्रदेश सरकार र स्थानीय प्रशासन युद्ध स्तरमा जुटेका छन् । भीमफेदी–फाखेल सडक खण्डको कुलेखानी डयाममुनि रहेको पुलको दुवैतर्फको पहुँच मार्ग क्षतिग्रस्त बनेको छ । उक्त पुलको पहुँचमार्गमा एकातिर करिब १५ मिटर र अर्कोतर्फ १० मिटर बगाएको छ भने करिब १५ मिटर गहिरो बनाएको छ ।
उक्त पहुँच मार्गलाई मर्मत गरी सञ्चालनमा ल्यान बुधबार बिहानदेखि नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीको जनशक्ति परिचालन गरिएको छ । यातायात पूर्वाधार निर्देशनालयको स्रोत र साधनको प्रयोग गरी तीव्र रूपमा मर्मत कार्य अगाडि बढाइएको छ ।
बिहीबार बेलुकासम्ममा उक्त भीमफेदी–कुलेखानी–फाखेल–हुमानेसम्मको सडक सञ्चालनमा ल्याउने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिल्वालले बताए ।
हुमाने सडक खण्डको महालक्ष्मी पुल क्षेत्रमा भएको क्षतिग्रस्त सडकको मर्मत कार्य भइरहेको र उक्त कार्य पनि बिहीबार बेलुकासम्ममा सकिने प्रजिअ चिलुवालले बताए ।