दामनमा भेटियो विश्वमै दुर्लभ सूचीमा रहेको गुराँस

संवाददाता
जेष्ठ २८, २०८१

हेटौंडा– विश्वमै दुर्लभ सूचीमा रहेको गुराँस प्रजातिको ‘चिमाल’ मकवानपुरको दामनमा फेला परेको छ । नेपालमा इलामको माइपोखरी क्षेत्रमा मात्र देखापरेको यो चिमाल मकवानपुरको दामनमा फेला परेको हो ।

‘करिब १५ वर्ष अघि नेपालका लेकाली क्षेत्रहरुमा चिमालको अध्ययनको क्रममा इलाम बाहेक अन्य जिल्लामा देखिएको थिएन, दोस्रो जिल्ला मकवानपुरको दामनमा देखियो,’ वनस्पतिविज्ञ रघुराम पराजुलीले भने, ‘तपाइहरुले पठाउनु भएको फोटो र गर्नुभएको कुराकानीको आधारमा यो दुर्लभ वनस्पति चिमाल नै हो, अझ म फिल्डमै आएको बेला हेरेर थप जानकारी दिन सक्ने भएँ ।,’ नेपालमा चिमालको सन् २००९ मा अध्ययन भएको थियो ।

थाहा नगरपालिका–४ को महांकाल सामुदायिक वन क्षेत्रमा भेटिएको चिमालको रुखको संख्या निकै कम रहेको छ । केही वर्ष अघिबाट मात्र आफूले चिमाल अर्थात गुराँस फूलीरहेको देखेको करुणाभूमि सामुदायिक वन थाहा–४ का अध्यक्ष बिनोद लामाले जानकारी दिए ।

अध्यक्ष लामाको अनुरोधमा स्थानीय पत्रकार तथा फोटो पत्रकारहरुगुराँस अवलोकन गर्न सामुदायिक वन क्षेत्रमा पुगेका थिए । अध्ययन अनुसार कतिपय स्थानमा यसलाई लहरे चिमाल गुराँस भनिने गरिएको छ ।

पूर्वी हिमालय क्षेत्रमा यसको सर्वप्रथम पहिचान गरिएको अध्ययनहरुले देखाएको छ । यो क्षेत्र भनेको हालको सिक्किम हो । यो प्रजातिको गुराँस एक एपिफाइट हो, सामान्यतया रुख, चट्टान र ढुंगामा पाइन्छ ।

हिमालयको तल्लो भागहरुमा ५ हजारदेखि ९ हजार फिटको उचाइमा पाइने चिमाल तिब्बत, भुटान, नेपाल र उत्तरपूर्वी भारतको दक्षिणी सीमानामा, विशेष गरी अरुणाचल प्रदेशमा पाइने अभिलेखहरु भेटिएको छ ।

फूलको रङ सेतोदेखि क्रिम, फिक्का पहेँलो, वा पहेँलो गुलाबीसम्म फरक फरक हुन्छ । फूलमा मन्द कागतीको सुगन्ध आउने गर्दछ । यसको वास्नाले मात लाग्ने इलामका स्थानीयले भन्ने गरेको अनुभव वनश्पतिविज्ञ पराजुलीले सुनाए ।

चैत लागेसँगै हिमाली क्षेत्रका वन गुराँसका प्रजाति(चिमाल) ले रंगीन फूल्ने गरेको सुनेको भएपनि दामन क्षेत्रमा अन्य गुराँस फूलीसकेपछि अन्तिममा यो फूल्ने गरेको अध्यक्ष लामा बताउँछन् ।सीमित संख्यामा रहेको चिमाल पछिल्लो समय संकटमा पर्दै गएकाले संरक्षण गर्नुपरेको जिल्ला वनस्पति कार्यालय मकवानपुरले जनाएको छ ।

चिमालको कटिङबाट पनि विरुवा उत्पादन गर्न सकिने पराजुलीले बताए । चिमालको फूल स्थानीयले औषधिको रुपमा समेत प्रयोग गर्दै आएको पाइन्छ ।

गुराँस पूर्वीपहाडी क्षेत्रमा बढी पाइन्छ भने पश्चिम नेपालतर्फ क्रमशः कम हुँदै गएको भेटिन्छ । नेपालमा ३२ थरीका गुराँस पाइन्छन् । नेपालका ४३ जिल्लामा थरीथरीका गुराँस फूल्ने गरेको एक अध्ययनले देखाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*