बागमतीको संसदीय समितिलाई पूर्णता, ६ जना सभापतिको सपथ
हेटौंडा । बागमती प्रदेशसभाको संसदीय समितिले डेढ वर्षपछि पूर्णता पाएको छ । सोमबार थप दुई समितिले सभापति पाएसँगै ६ वटै समितिले पूर्णता पाएको हो ।बागमतीमा डेढ वर्षदेखि संसदीय समिति सभापतिविहीन थियो ।
सदस्यमध्ये ज्येष्ठताका आधारमा अध्यक्षले समितिको नेतृत्व गरिहरेका थिए । पुस २०७९ बाट प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएता पनि १२ असार २०८० मा आएर मात्रै प्रदेशका पाँचवटा संसदीय समिति गठन भएको थियो । लामो सयमदेखि सभापतिविहीन हुँदा समितिहरुको बैठक नियमित बस्न सकेको थिएन ।
बैठक नियमित बस्न नसक्दा पेचिला र गम्भीर विषयमा समितिमा व्यापक र विस्तृतरुपमा विधेयक वा प्रतिवेदनमाथि हुनुपर्ने छलफल ओझेलमा परेको थियो ।
संसदको नियमित कार्यमा सहयोग पु¥याउन, सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउन सरकारबाट भएगरेका कामकारबाहीको अनुगमन र मूल्यांकन गरी निर्देशन दिन समितिको महत्वपूर्ण भूमिका हुन्छ ।
समितिले पूर्णता पाएपछि सरकार र व्यवस्थापिकाको पुल भई काम गर्न तथा सरकार र सदन दुवैको कार्यसम्पादनस्तर उच्च बनाउन उल्लेख्य भूमिका हुनेमा सांसदहरुले विश्वास लिएका छन् ।
प्रदेशसभाको प्रदेश मामिला समिति सभापतिमा कांग्रेसका छिरिङदोर्जे लामा, सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसकै श्रीराम लामिछाने, शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति नेकपा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाल र अर्थ तथा विकास समितिको सभापतिमा राप्रपाका नुरज बज्राचार्य ५ जेठमा भएको निर्वाचनबाट सर्वसम्मत चुनिएका थिए ।
उद्योग पर्यटन तथा वातावरण समिति सभापतिमा नेकपा एमालेका आनन्दकुमार श्रेष्ठ, विशेषाधिकार समितिका सभापतिमा नेकपा एकीकृत समाजवादीकी मायादेवी शर्मा ७ जेठ सोमबार भएको निर्वाचनबाट चुनिएको प्रदेशसभा सचिवालयले जानएको छ । ६ वटै समितिमा सभापति चुनिएसँगै सोमबार नै सभामुख भुवनकुमार पाठकले पद तथा गोपनीयताको सपथ गराएका छन् ।
प्रदेशसभा सचिवालयमा आयोजित एक समारोहमा विषयगत समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । विगतमा भागबन्डा र सरकार परिवर्तनका कारण समयमै संसदीय सभापति चयन हुन सकेको थिएन ।
दलीय भागबन्डाअनुसार प्रदेश मामिला समिति र सार्वजनिक लेखा समिति कांग्रेसलाई शिक्षा, स्वास्थ्य तथा कृषि समिति माओवादी केन्द्रलाई, राप्रपालाई अर्थ विकास समिति, एमालेलाई उद्योग, पर्यटन तथा वातावरण समिति भागमा परेको थियो ।
गत शुक्रबार सभामुख भुवनकुमार पाठकले राखेको पाँच दलीय बैठकले समितिको भागबण्डा टुंगो लगाउन नसकेपछि बागमती सरकारमा भागबण्डा मिलाउन मन्त्रालय फुटाएर थपेको ४८ घण्टा नबित्दै संसदीय समिति पनि थप गर्ने निर्णय भएको थियो ।
एकीकृत समाजवादीकी रमा आले मगरलाई सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय दिएको दुई दिनमै एकीकृत समाजवादीलाई सभापति दिन विषेशाधिकार समिति थप गरेर ६ गतेको प्रदेशसभा बैठकले समिति गठन गरेको थियो ।