हेटौंडा उपमहानगरको सहयोगमा उत्पादित गुन्द्रुक बजारमा
हेटौंडा/हेटौंडा उपमहानगरपालिकाको सहयोगमा उत्पादन थालिएको गुन्द्रुक अब बजारमा जाने भएको छ । हेटौंडा उपमहानगरपालिका–१२ घलेगाउँस्थित कञ्चनजंघा कृषि सहकारी संस्था लघु उद्यमी उत्पादन थालेको अर्गानिक गुन्द्रुकको वजारीकरणका लागि अनुज्ञापत्र प्राप्त गरेपछि बजारमा पठाइने भएको हो ।
लघु उद्यमीहरूले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौंडा स्थत खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञापत्र दिएको सोमबार उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेको साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यताप्राप्त गरेको छ ।
मान्यता प्राप्त गरेसँगै जिल्लाभित्र र बाहिरी सहरमा बिक्रीका लागि बाटो खुलेको छ ।
करिब चार महिना लामो परीक्षण र निगरानीपश्चात खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञा पत्र दिएको उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले बताए । उपमहानगरपालिकाको १ लाख रुपैयाँबाट सुरु गरेको अर्गानिक साग उत्पादन गरी बनाएको गुन्द्रुकले बजारीकरणका लागि स्वीकृत पाउँदा आफूहरू निकै खुसी भएको उद्यमी समूहका अध्यक्ष चिनीमाया गुरुङले बताइन् ।
नगरको पैसा र सहकारीको ८० हजार रुपैयाँबाट १५ कठ्ठा जमिन भाडामा लिएर साग लगाई गुन्द्रुकको उत्पादनमा लागेको उनले बताइन् । अनुज्ञापत्र नहुँदा बजारमा लैजान नपाएर गाउँमै अहिले करिब ३ लाख रुपैयाँबराबरको गुन्द्रुक घरमै राखेको उनले जानकारी दिइन् ।
गत असोजमा कामका लागि सम्झौता गरेसँगै समूहले मंसिरबाट गुन्द्रुकको उत्पादन थालेका थिए । उपमहानगरले ८ सय जनाभन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिए पनि अहिले २६८ जना उद्यममा जोडिएका छन् । हेटौंडामा उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने नगर प्रमुख मीनाकुमारी लामाले बताएकी छन् । उद्यमी समूहलाई अनुज्ञापत्र हस्तान्तरण गर्दै उनले हेटौंडा बजारसहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।