बागमतीमा विश्वविद्यालय र प्रतिष्ठान खोल्न सात शैक्षिक संस्था इच्छुक
हेटौंडा– बागमती प्रदेशमा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि सात वटा शैक्षिक संस्था इच्छुक देखिएका छन् ।सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रदेश उच्चशिक्षा परिषद्को सचिवालय, हेटौंडामा सातवटा शैक्षिक संस्थाले आवेदन दिएका हुन् ।
विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गर्न प्रक्रिया अगाडि बढाएको परिषद्ले अन्य सामुदायिक एवम् सार्वजनिक शैक्षिक संस्थाले समेत आवेदन दिन इच्छा देखाएको भन्दै आवेदन दिने म्याद अरु एक महिना थप गरेको थियो तर, सो अवधिमा धादिङ जिल्लाको चन्द्रोदय बहुमुखी क्याम्पसको मात्र आवेदन परेको मन्त्रालयका सचिव डा। भीष्मकुमार भुषालले बताए ।
परिषद्ले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न आवेदन दिने म्याद थप गर्दै दोस्रोपटक आवेदन दिनसक्ने क्षेत्र र विषयसमेत थप गरेको थियो । परिषद्ले पछिल्लो पटक विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न खेलकुद र पर्यटन क्षेत्र थप गर्दै गत कात्तिक १९ गते सूचना जारी गरी पुनः आवेदन माग गरेको जनाएको छ ।
परिषद्ले पछिल्लो पटक म्याद र क्षेत्र थप गर्दै विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न आवश्यक मापदण्ड तथा पूर्वाधार पुगेका इच्छुक क्याम्पस वा शैक्षिक संस्थामध्ये स्वास्थ्य/चिकित्सा विज्ञान, विज्ञान प्रविधि (इन्जिनियरिङसमेत), कानुन, पर्यटन र खेलकुदको क्षेत्रमा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गर्न आवेदन माग गरेको थियो ।यसअघि गत असोज ७ गते विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न इच्छुक क्याम्पस वा शैक्षिक संस्थामध्ये स्वास्थ्य, सूचना प्रविधि ९इन्जिनियरिङ समेत० र कानुन क्षेत्रमा आवेदन माग गरेको थियो ।
पहिलो पटक मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा, धुलिखेल हस्पिटल, धुलिखेल, काठमाडौं स्कुल अफ ल, सूर्यविनायक, भक्तपुर, बानेश्वर बहुमुखी क्याम्पस, काठमाडौं, मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स काठमाडौं र डिडब्लुआइटी कलेज, काठमाडौंले आवेदन दिएका थिए ।
मकवानपुर बहुमुखी क्याम्पसले सार्वजनिक विश्वविद्यालय, धुलिखेल अस्पतालले सामुदायिक विश्वविद्यालय, बानेश्वर बहुमुखी क्याम्पस, काठमाडौं र मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स काठमाडौंले मानित विश्वविद्यालय तथा काठमाडौं स्कुल अफ ल, भक्तपुर र डिडब्लुआइटी कलेज, काठमाडौंले प्रतिष्ठान स्थापनाका लागि आवेदन दिएका हुन् ।
मन्त्रालयका सचिव भुषालले यसअघि आवेदन दिएका ६ वटा सामुदायिक एवम् सार्वजनिक शैक्षिक संस्थाको प्रस्तावसहित आवेदनमाथि प्रारम्भिक छलफल अध्ययन भएको बताए । प्रदेश उच्चशिक्षा परिषद्को सचिवालयले प्रदेश उच्चशिक्षा ऐन २०७८ को अनुसूचीमा व्यवस्था भएको विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवश्यक पर्ने मापदण्ड तथा पूर्वाधार पुगेका इच्छुक क्याम्पस तथा शैक्षिक संस्थासँग आवेदन माग गरेको हो ।