मकवानपुरढीमा कोदो र फापर नगदे बालीमा रुपान्तरण

संवाददाता
पुस ९, २०८०

हेटौंडा– मकवानपुरगढी गाउँपालिकाले पालिका भित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेपछि किसान खुसी भएका छन् । गाउँपालिकाले कोदो प्रतिकेजी ५४, फापरको प्रतिकेजी १०० र जुनेलोको प्रतिकेजी ८४ रुपैयाँ हुने गरी न्यूनतम मूल्य निर्धारण गरेको छ । कोदो, फापरको महत्व हिजोका दिनमा हाम्रा पुर्खाले बुझेका थिएनन् र महत्व दिइएन भन्ने महशुस भएको छ गढी गाउँपालिकाका जनप्रतिनिधिलाई ।

गढी गाउँपालिकाका पूर्वअध्यक्ष बिदुर हुमागाईंका अनुसार गढीको हरेक पाखोबारी कोदो र फापर उत्पादनका लागि योग्य छन् । हुमागाईंले आफ्नो कार्यकालमा कोदो र फापर उत्पादन गर्ने किसानलाई पालिकाबाट अनुदान दिंदा बाँझो बस्दै गरेका बारीमा हरियाली छाउने महशुस भएको बताउँछन् । पछिल्लो वर्षमा कोदो र फापर हाताहाती बिक्री हुने नगदे बालीको रुपमा परिणत हुँदै गएको छ ।

एकातिर बाँझो रहेको पाखो बारीमा हरियाली छाउने र अर्कोतिर पाखोपखेराबाट बसाईं सर्ने क्रम रोकिने भएपछि अनुदान दिन थालेको पूर्वअध्यक्ष हुमागाईले बताए । मानिसले कोदो र फापरलाई महत्व दिन छोडेपछि लोप हुने अवस्थामा पुगेको रैथाने बाली संरक्षणका लागि पनि स्थानीय सरकारले केही गर्नुपर्छ भन्ने लागेर मकवापुरगढी गाउँपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई थोरै भएपनि राहत दिन सुरु गरेको हुमागाईंले साझाकुरालाई बताएका छन् । पूर्वअध्यक्ष हुमागाईको यो अभियानलाई किसानले पनि साथ दिएका छन् ।

गाउँपालिकाले न्यूनतम समर्थन मूल्य तोकेर स्थानीय सहकारी मार्फत खरिद गर्ने अभियान सुरु गरेपछि किसानले उत्पादन गरेको कोदो र फापर उत्साहजनकरुपमा बिक्री गर्न थालेका हुन् । गाउँपालिकाको बर्तमान नेतृत्वले पनि यो अभियानलाई प्राथमिकतामा राखेको छ । कोदो र फापरको पौष्टिकताको बारेमा सर्बसाधारणलाई बताएर यसको ब्राण्डिङ गर्न सकेको खण्डमा ग्रामीण क्षेत्रका किसानको उन्नति हुने अध्यक्ष लोर्जे लामा बताउँछन् । भिरालो बारीमा पनि उत्पादन हुने कोदो र फापरबाटै स्थानीय किसानको गुजारासँगै आम्दानी पनि हुने अध्यक्ष लामाले बताएका छन् ।

मकवानपुरगढीमा यसअघि ४ नम्बर वडाको कालीखोलास्थित अपा· तथा विपन्न कृषि सहकारी संस्था लिमिटेडले त्यस क्षेत्रमा कृषकबाट उत्पादित कोदो खरिद गरी संकलन गर्न सुरुवात गरेको हो । मकवानपुरगढी–८, बुढीचौरस्थित एकता स्वाबलम्बन कृषि सहकारी संस्था लिमिटेडले गाउँमै उत्पादित मिठे फापर र तिते फापर आइतबारबाट खरिद गरी किसानको उत्पादन संकलन थालेको छ ।

सहकारी संस्थाले गाउँपालिकाबाट प्रतिकेजी मूल्य १०० रुपैयाँ तोकिएकोमा सहकारी संस्थाले १० रुपैयाँ थप गरी १ सय १० मा खरिद गरेको छ । जसमा अनुदान रकमसमेत थप गरी किसानले प्रतिकेजी १ सय १६ रुपैंयाको दरले नगद पाउँछन् ।

कृषकबाट एक सय १६ रुपैयाँ प्रतिकेजीका दरले फापर खरिद गरिएको सहकारीका व्यवस्थापक गुन्जरत्न लुङ्वाले जानकारी दिएका छन् । आइतबार पहिलो दिन २१ जना कृषकबाट २ हजार १ सय ७४ केजी फापर खरिद भएको सहकारीका सचिव अजय योन्जनले बताए ।

सहकारीका अध्यक्ष बालानन्द तिमल्सिनाले यस वर्षदेखि कृषकबाट फापर संकलन सुरुवात गरेको हो । सहकारीले यो वर्ष करिव १० मेट्रिकटन फापर खरिद गर्ने लक्ष्य राखेको उनले जानकारी दिए । गतवर्ष कृषकले प्रतिकेजी ९० रुपैयाँमा बिक्री गरेको फापरमा योवर्ष गाउँपालिकाको अनुदान समेत थप गरी प्रतिकेजी १ सय १६ रुपैयाँ पाएकोपछि कृषक खुशी भएका छन् । आइतबार फापर बिक्री गर्ने कृषकमध्ये मकवानपुरगढी–८ बुढीचौरका कृषक चन्द्रबहादुर लुङ्वाले सबैभन्दा बढी २ सय ६८ केजी फापर बिक्री गरेको सहकारीले जानकारी दिएको छ ।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष लामा र वडा नम्बर ८ का वडाअध्यक्ष कुमारसिं घिसिङ, वडासदस्यद्वय गोकुलप्रसाद देवकोटा, सूर्यमाया दोङको उपस्थितिमा फापर खरिद तथा संकलनको कार्य सुरुवात गरिएको हो । कार्यक्रममा सहकारी संस्थाका पदाधिकारी र फापर विक्री गर्ने कृषकको उपस्थिति रहेको थियो । रैथाने बालीको खेती गरेवापत स्थानीय सरकारले प्रोत्साहनस्वरुप थप रकम दिने भएपछि कोदो र फापरको खेती गर्ने किसानको आकर्षण बढेको छ ।

सहकारी संस्थाले गाउँपालिकाबाट तोकिएको मूल्यमा अनुदान रकम समेत थप गरी प्रतिकेजी ६० रुपैंयाको दरले कोदो खरिद गरिएको सहकारीका अध्यक्ष दिलबहादुर योन्जनले जानकारी दिए । कोदो संकलनको पहिलो दिन ११ जना कृषकबाट १५ सय केजी भन्दा बढी खरिद भएको सहकारीका सचिव कृष्णबहादुर घलानले बताए । कोदो बिक्री गर्ने कृषकमध्ये मकवानपुरगढी–४ का कृषक सुकुमबहादुर घलानले सबैभन्दा धेरै ५ सय केजी कोदो बिक्री गरेका थिए ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष स्याङ्तान र वडा नम्बर ४ का वडाअध्यक्ष अर्जुनप्रसाद तिमल्सिनाको उपस्थितिमा कोदो खरिद तथा संकलनको कार्य सुरु गरिएको थियो । गाउँपालिका अध्यक्ष स्याङ्तानले ८६ वर्षीय कृषक बीरबहादुर योन्जनलाई चेक हस्तान्तरण गरी कोदो खरिदको कार्य सुरुवात गरेका थिए । अपा· तथा विपन्न कृषि सहकारी संस्थाले गाउँपालिकाको सहयोगमा गत वर्षदेखि कालीखोला ब्रान्डको कोदोको पीठो प्याकेजिङ गरी बजारमा बिक्री गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*