बागमती सरकारमाथि ९ आरोपः आर्थिक चलखेलदेखि विकासमा बेवास्थासम्म
हेटौंडा– नेकपा एमाले बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सरकारलाई ९ वटा आरोप लगाएको छ । प्रदेश सरकार आर्थिक चलखेलदेखि महत्वपूर्ण संरचना निर्माण अधुरै राखेर काम नगरेकोप्रति एमालेले रोष प्रकटगरेको हो ।
हेटौंडामा बसेको संसदीय दलको बैठकका निर्णय सार्वजनिक गर्दै एमालेले बागमती सरकार निश्चित मन्त्री र कार्यकर्ता रिझाउनमै व्यस्त रहेको आरोप लगाइएको छ ।
जनताको विषय उठान गर्नुपर्ने संसद लामो समयदेखि बन्द गरेर सरकारले राम्रो नगरेको एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए । उनले लामो समयदेखि संसद् बन्द हुँदा प्रतिनिधिले जनताका आवाज सरकार समक्ष पु¥याउन नपाएको सुनाए । मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकार आर्थिक चलखेलमा लागेकोसमेत थपलियाले आरोप लगाएका छन् ।
सरकारले यातायात कार्यालय र ट्रायल सेन्टरहरु बढाउने नाममा प्रदेशको आर्थिक भार बढ्ने गरी आर्थिक चलखेल हुन थालेको एमालेले आरोप लगाएको हो ।
सरकारले बजेटमा थप दरबन्दी र संगठन सिर्जना नगर्ने र सवारीसाधन खरिद गर्ने कार्यलाई निरुत्साहित गर्ने भनेर २६ नम्बर बुँदामा उल्लेख गरिए पनि सरकार आफ्नै नीतिविपरित सरकारलाई आर्थिक भार बढाउनेतर्फ लागेको आरोप लगाइएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पास गर्दा प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलसँग गरिएको सम्झौता पूर्णरुपमा पालना नगरेकोमा एमालेले असन्तुष्टि जनाएको छ ।
नेता थपलियाले सरकारलाई तत्काल सहमति पालन गरी सदन सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गरेको छ । ‘प्रदेशसभाको पहिलो वर्षको कार्यकालमा ३८ दिन संदन सञ्चालन हुँदा ५६ वटा मात्र बैठक बसेका छन् । यो न्यून हो ।’, उनले भने ।
नेता थपलियाले सरकारले आफ्नो अनुकुलमा मात्र अधिवेशन बोलाउने काम गरिरहेको बताए ।नेता थपलियाले प्रदेश सभा गठनको एक वर्षसम्ममा संसदीय समितिको सभापति चयन नभएको भन्दै दलीय सहमतिका आधारमा संसदीय समितिको सभापति चयन प्रक्रिया थाल्न सरकार समक्ष माग गरेका छन् ।
प्रदेशका सबै क्षेत्रलाई समानुपातिक र समावेशी रुपमा बजेट विनियोजन नभएको कारण सदनमा अवरोध गर्नुपरेको थपलियाले बताए । सरकारले आफ्नोकमजोरी सच्याएर प्रतिपक्षले दिएको योजनामा सम्झौताअनुसार अर्थ विविध शीर्षकको बजेट विनियोजन गर्न एमालेले माग गरेको उनले बताए ।