कांग्रेस मकवानपुरले राजनीतिसँगै सामाजिक रुपान्तरण थाल्ने
नेपाली कांग्रेस मकवानपुरले राजनीतिसँगै सामाजिक रुपान्तरणको अभियान पनि चलाउने भएको छ ।आगामी ३ पुसमा हेटौंडामा जिल्ला सम्मेलनको आयोजना गरेर राजनीतिक गतिविधिसँगै सामाजिक रुपान्तरणमा जुट्ने गरी आन्तरिक रुप रेखा तयार गर्ने जनाइएको छ ।
जिल्ला सम्मेलनको तयारी बारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टीले राजनीतिक गतिविधिसँगै सामाजिक क्षेत्रमा सहभागी भएर काम गर्ने प्रतिबद्धता जनाएका हुन् । लामाले राजनीतिक पार्टीहरुले सामाजिक काम छोडेर राजनीति मात्रै गरिरहेकोप्रति चित्त नबुझेको बताएका थिए ।
‘पार्टीहरुले पछिल्लो समय सामाजिक क्षेत्रमा ध्यान दिन छोडेको छ । पार्टीहरुले राजनीतिसँगै सामाजिक रुपान्तरणको क्षेत्रमा पनि काम गर्नुपर्छ । जिल्ला सम्मेलनले सामाजिक रुपान्तरण अभियान बारे एउटा रुप रेखा तयार गर्नेछ ।’ लामाले भने, ‘जिल्ला सम्मेलनमा पार्टीको आन्तरिक गतिविधिको मुल्यांकन गर्दै आगामी रुप रेखा पनि तयार गर्ने योजना छ ।’, उनले मकवानपुरमा रहेको १ सय २ वटै वडा समिति, गाउँपालिका समिति, प्रतिनिधिसभा र प्रदेश निर्वाचन क्षेत्र समितिलाई सक्रिय बनाउने सम्मेलनको लक्ष्य रहेको बताए ।
सम्मेलनबाट पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्वको व्यवस्थापन बारे पत्रकारहरुको प्रश्नमा सभापति लामाले हाल समस्या नभएको बताए । पार्टीभित्रको आन्तरिक द्वन्द्व भएको गुनासो रहेता पनि गुनासो, असन्तुष्टि देखिनु स्वाभाविक भएको र यसलाई मिलाउँदै जानुपर्ने उनको भनाई थियो । पार्टीमा एकता ल्याउन प्रयास सबैले गर्नुपर्ने र मकवानपुरमा पार्टी सही ढंगले अगाडि बढेको उनको दाबी थियो ।
कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा। प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा सम्मेलन हुने कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए । उनका अनुसार सम्मेलनमा पार्टीका शीर्ष नेता, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलगायत अन्य जिल्लाका पार्टी सभापतिहरुको पनि उपस्थिति रहने जनाइएको छ ।
जिल्ला सम्मेलनमा १ सय २ वडा, १० पालिका, ६ प्रदेश र संघीय निर्वाचन क्षेत्र समिति र जिल्ला कार्य समिति गरी १ सय १९ वटा संरचनाबाट २ हजार जना प्रतिनिधि सहभागी हुने कांग्रेस मकवानपुरका सचिव भिमसेन महतले जानकारी दिए ।सम्मेलनमा जिल्लाको संगठानात्मक अवस्था, वार्षिक प्रगति, राजनीतिक सिद्धान्त र विचारका विषयमा केन्द्रित रहेर छलफल तथा बहस हुनेछ ।
जिल्ला सचिवद्वय भिमसेन महत र इश्वर पाठक, प्रवक्ता चौलागाईंलगायतले प्रतिवेदन प्रस्तुत गर्नेछन् । सम्मेलनले कांग्रेसको आगामी कार्ययोजना, रणनीति र एजेण्डाका विषयमा छलफल गरी मार्ग निर्देशन गर्ने तयारी छ । सम्मेलनमा पार्टी संगठनभित्र देखिएका कमीकमजोरी, समस्याका विषयमा छलफल गरेर हल गर्ने प्रयत्न हुने सचिव महतले बताए ।
सम्मेलनलाई फरक बनाउन र पार्टीलाई आर्थिक सामाजिक रुपमा जोड्न फरक शैलीबाट छलफल र बहसहरु गरिने उनले बताए । सम्मेलनमा मकवानपुरको आर्थिक सामाजिक रुपान्तरणका विषयलाई जोड्न जिल्लाका १० वटै पालिकाका कृषि, पर्यटन तथा समाज रुपान्तरणका विषयमा प्रस्तुति तथा बहस गरिने उनको भनाई छ । पार्टीले थाहा नगरपालिकालाई पर्यटन र कृषि क्षेत्रमा जोड दिने गरी अभियान चलाउने एजेण्डा जिल्ला सम्मेलनमा लैजाने भएको छ ।
सम्मेलनका लागि पार्टीले आन्तरिक कार्यविभाजन गरेको छ । सम्मेलनको तयारीका लागि सभापति लामाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । सचिव भिमसेन महतलाई प्रतिवेदन लेखन उपसमितिको संयोजक, उपसभापति आनन्द कठायतलाई स्वागत समितिको संयोजक, सहसचिव इन्दिरा न्यौपानेलाई आर्थिक व्यवस्थापन उपसमिति संयोजक, प्रवक्ता अर्जुन चौलागाईंलाई प्रचारप्रसार उपसमितिको संयोजक तोकेर तयारी अघि बढाइएको जानकारी दिइएको छ ।
सम्मेलनमा १५ लाख रुपैयाँ खर्च लाग्ने उनले बताए । सम्मेलनको खर्च व्यवस्थापनका लागि सहभागी प्रतिनिधिहरुबाट जनही २०० रुपैयाँ, जिल्ला पदाधिकारी र सदस्यहरुबाट एक हजार रुपैयाँ र महासमिति सदस्यहरुबाट एक हजार र १ हजार ५०० रुपैयाँका दरले शुल्क उठाउने निर्णय भएको सभापति लामाले जानकारी दिए । सम्मेलनको खर्च व्यवस्थापनका लागि पार्टीका विभिन्न तहमा रहेका व्यक्तिहरुबाट सहयोग संकलन गरिने उनको भनाई छ । प्रतिनिधिहरुलाई आवाससहितको सुविधा रहेको जनाइएको छ ।
एकमहिने समुदायमा कांग्रेस अभियान
कांग्रेसले एकमहिने समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले एकमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
देशका ७५३ वटै स्थानीय तहका ६७४३ वडामा यो अभियान सञ्चालन गरिने कांग्रेसले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मध्य पहाडी लोकमार्ग यात्रा चलाएको करिब दुई महिनापछि कांग्रेस पनि समुदायमा पुग्ने भएको हो ।
पुस १६ देखि माघ १६ सम्म वडातहसम्म पार्टी प्रतिनिधि परिचालन गरी समुदायमा कांग्रेस अभियान चलाउने कांग्रेसको निर्णय छ । यसका लागि केन्द्रीय कार्यसमितिको तर्फबाट ७७ वटै जिल्लामा प्रतिनिधि खटाइने कांग्रेसले जनाएको छ ।