बागमतीमा ३८ हजार, मकवानपुरमा साढे दुई हजार हेक्टर जमिन बाँझो

संवाददाता
मंसिर १७, २०८०

हेटौंडा– बागमती प्रदेशमा अझै पनि हजारौं हेक्टर जमिन खेती नगरी बाँझो राख्ने गरिएको छ । यहाँ खेतीयोग्य जमिनमध्ये ३८ हजार ६३५ हेक्टर जमिन बाँझो रहेको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कुल ५ लाख १३ हजार ७१८ हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये १ लाख ५९ हजार ७८२ हेक्टरमा मात्रै सिँचाई सुविधा छ । यद्यपि ३ लाख ८८ हजार ९८५ हेक्टर जग्गामा खेती भइरहेको प्रदेशको कृषि मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताए । बागमती सरकार गठन भएलगत्तै बाँझो जमिन जोतेर खेती गर्ने नीति तथा कार्यक्रम ल्याइए पनि त्यसको कार्यान्वयन भने निकै सुस्त छ ।

बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारको विगतका वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालनमा छन् । ती कार्यक्रमले बाँझो जमिनको उपयोग भने अपेक्षित रुपमा बढेको छैन । यद्यपि, मन्त्रालयले बाँझो जमिनको उपयोग पछिल्लो समय बढ्दै गएको दाबी गर्दै आएको छ ।

प्रदेशको १३ जिल्लामध्ये सिन्धुपाल्चोकमा सबैभन्दा खेतीयोग्य जमिन रहेको छ । यहाँ ७३ हजार ७१० हेक्टर खेतीयोग्य जमिन छ । योमध्ये ४७ हजार ४७५ हेक्टरमा मात्रै हाल खेती भइरहेको छ भने ६ हजार ८९२ हेक्टर जग्गा बाँझो राखिएको छ । यसैगरी ६२ हजार ७१३ हेक्टर खेतीयोग्य जमिन भएको सिन्धुली जिल्लामा जम्मा ४९ हजार ७८९ हेक्टरमा मात्रै खेती गरिएको छ ।

यहाँको ४ हजार ५८ हेक्टर जमिन बाँझो छ । यसैगरी ६१ हजार ५९८ हेक्टर खेतीयोग्य जमिन रहेको काभ्रेपलाञ्चोकमा ४ हजार ९६ हेक्टर खेतीयोग्य जमिन बाँझै छ । प्रदेशको तेस्रो ठुलो खेतीयोग्य जमिन भएको काभ्रेमा ६१ हजार ७१० हेक्टर जमिन खेती योग्य छ । जहाँ ४४ हजार ७७५ हेक्टर जग्गामा मात्रै खेती भएको छ । यसैगरी नुवाकोटमा ४८ हजार २५३ खेतीयोग्य जमिनमध्ये १ हजार ४ हेक्टर जमिन बाँझो रहेको छ ।

धादिङमा ४८ हजार १३६ हेक्टरमध्ये ४ हजार २९ हेक्टर, चितवनमा ४८ हजार ५३७ हेक्टरमध्ये ५७६ हेक्टर, दोलखामा ४४ हजार ५१३ हेक्टरमध्ये २ हजार ९२७ हेक्टर, मकवानपुरमा ३५ हजार ७७९ हेक्टरमध्ये २ हजार ५०५ हेक्टर जग्गा बाँझो रहेको मन्त्रालयको तथ्याङले देखाएको छ ।

यसैगरी रामेछापमा २८ हजार ४३४ हेक्टरमध्ये १ हजार ९५६ हेक्टर, काठमाडौंमा २१ हजार २०० हेक्टरमध्ये ३ हजार ३३ हेक्टर बाँझो छ ।यसैगरी रसुवामा १६ हजार ८११ हेक्टर खेतीयोग्य जमिनमध्ये १ हजार ६३२ हेक्टर, ललितपुरमा १५ हजार २९६ हेक्टरमध्ये ४ हजार ३८२ हेक्टर र भक्तपुरमा कुल १२ हजार ७३८ हेक्टर खेतीयोग्य जमिनमध्ये १ हजार ५५४ हेक्टर जग्गा बाँझो रहेको छ ।

केही बाध्यता र केही लहैलहैको कारण ग्रामीण भेगका खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ भने सहरी क्षेत्रका जमिन बसाइसराइकै कारण आवासले भरिने क्रम बढेको छ । खेतीयोग्य जमिन प्लटिङ गरेर घडेरीमा विक्री भएपछि आवास नबनेका जमिन पनि टुक्राटुक्रा भएर बाँझो नै रहेको छ ।

नेपालको समग्र कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७ दशमलव १२ प्रतिशत रहेको छ । प्रदेश सरकारको पहिलो आवधिक योजना आर्थिक वर्ष २०७६÷७७ देखि २०८०÷८१ ले प्रदेशको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको आधार वर्षको योगदान १३ प्रतिशतबाट १० दशमलव ३ मा सीमित गर्ने लक्ष्य लिएको छ ।

बागमती प्रदेशको कुल जनसंख्याको ५५ प्रतिशत अर्थात करिब ३३ लाख ६५ हजार जना कृषि पेशामा आवद्ध छन् ।बागतमीमा कृषिको आम्दानीले वर्षैभरि खान नपुग्ने किसानको प्रतिशत ५५ दशमलव ९ रहेको सरकारको तथ्यांकले देखाएको छ । कृषिप्रधान मुलुकमा कृषिपेशाबाट घरबार चलाउन नसक्ने अवस्थाबाट किसान गुज्रिनु बिडम्बनाको विषय बनेको हो ।

बागमती प्रदेशमा कतिपय किसानहरु कृषिपेशामै आत्मनिर्भर छन् । तर, आत्मनिर्भर हुनेहरु पनि वर्षैभरि खान नपुग्ने अवस्था रहेको कृषि गणना–२०७८ को तथ्यांकले देखाएको हो । बागमती प्रदेशमा ५५ दशमलव ९ प्रतिशतलाई कृषिको आम्दानीले खान नपुग्ने देखिएको हो । बागमतीमा ७२ दशमलव ६ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*