मकवानपुरको ३४ विगाहामा लगाइएको गाँजा फँडानी

संवाददाता
मंसिर १२, २०८०

हेटौंडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिकामा गरी ३४ विगाहा १५ कठ्ठामा लगाइएको अवैध गाँजा फँडानी गरेको छ ।

प्रहरीले सोमबार राक्सिराङ गाउँपालिका–६, स्थित बान्द्राङ, सिराधुनी, ८ नम्बर वडाको गौरीडाँडा, गढीडाँडा क्षेत्रमा २० विगाहा १५ कठ्ठामा लगाइएको अवैध गाँजा फँडानी गरेको मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनकाअनुसार सोमबार नै कैलाश गाउँपालिका–१, स्थित धुसाहा, डाँडाखर्क, भोर्लाडाँडा, डाडाँबारी तथा २ नम्बर वडाको बैकुण्ठडाँडा, जलेखु क्षेत्रमा १४ विगाहामा लगाइएको प्रतिबन्धित गाँजा फँडानी गरेर नष्ट गरिएको छ ।

मकवानपुर प्रहरीले राक्सिराङ र कैलाशमा गाँजा फँडानी गर्न टोली नै खटाएको थियो । विकट कैलाश र राक्सिराङमा गाँजा फँडानी गर्न १ सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी निरीक्षकको कमाण्डमा कैलाश र राक्सिराङ गाउँपालिकामा ५०/५० जनाको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता प्रहरीनायबउपरीक्षक भण्डारीले जानकारी दिए । मंसिर १० गते आइतबार खटाइएकामा २ जनाको ड्रोन टोली समेत रहेको बताइएको छ ।

गाँजा फँडानीको लागि कैलाश–२ स्थित डाँडाखर्क वेस रहने गरी एक टोली र राक्सिराङ-७ जुरेथुम बेस रहने अर्को टोली परिचालन गरिएको प्रवक्ता भण्डारीले बताए ।

यसअघि गत असोजमा राक्सिराङ गाउँपालिकामा ९० जना तथा कैलाश गाउँपालिकाको विभिन्न वडामा ४० जना प्रहरी परिचालन गरी लागुऔषध गाँजा फँडानी गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*