चार महिनामा बागमतीमा ७८६ र मकवानपुरमा ५५ हिंसाका घटना
हेटौंडा– लैंगिकहिंसाविरुद्वको विश्वव्यापी १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिलाहिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिकहिंसाविरुद्धको १६ दिने अभियान समेत सन्चालन हुँदै आएको छ ।
नेपालमा पनि ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराकासाथ अभियान मनाइँदैछ । सामाजिक विकासमन्त्रालय बागमती प्रदेशले पनि अभियानको सन्दर्भमा सरकारी र गैरसरकारी क्षेत्रबाट प्रदेशका ११९ वटै स्थानीय तहभरि विभिन्न सचेतनामूलक कार्यक्रमहरु सन्चालन गरिरहेको छ । हरेक वर्ष सरकारी र गैरसरकारी संघसंस्थाहरुले महिलाको क्षेत्रका विभिन्न कार्यक्रम गर्दै आएपनि लैंगिकहिंसा भने बढ्दै गएको तथ्यांकले देखाएको छ ।
बागमती प्रदेशका १० जिल्लामा ९उपत्यकाको काठमाडौं, ललितपुर, भक्तपुरबाहेक० चालु आर्थिक वर्षको साउनदेखि कात्र्तिकसम्म ७ सय ८६ जना लैंगिकहिंसाका घटना भएको तथ्यांकले देखाएको छ । जसमा ४ सय २२ घरेलु हिंसाका घटना भएको पाइएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्र्तिक महिनाको अवधिमा सबैभन्दा धेरै चितवन जिल्लामा लैंगिकहिंसाको घटना भएको जनाएको छ । चितवनमा ४ महिनाको अवधिमा ८१ जना लैंगिकहिंसाको घटना परेका छन् भने १ सय ६७ घरेलुहिंसा भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठउपरीक्षक एवम् सूचना अधिकारी दीपक रेग्मीले जानकारी दिए ।
उनका अनुसार दोश्रोमा मकवानपुर रहेको छ । ४ महिनाको अवधिमा मकवानपुरमा ५५ जना लैंगिकहिंसाको घटनामा परेका छन् भने १ सय २ जना घरेलुहिंसाको शिकार बनेको तथ्यांकले देखाएको छ । त्यसैगरी, सिन्धुलीमा ३४ जना लैंगिकहिसांमा परेका छन् भने १९ जना घरेलुहिंसाको उजुरी परेको बागमती प्रदेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
रामेछापमा ४ महिनाको अवधिमा १२ वटा लैंगिकहिंसाको उजुरी परेका छन् भने ५ वटा घरेलुहिंसाको उजुरी परेको जनाएको छ । दोलखामा २० जना लैंगिकहिंसामा परेका छन् भने ६ जना घरेलुहिंसामा परेको तथ्यांकले देखाएको छ ।
यसैगरी, काभ्रेमा ६२ जना लैंगिकहिंसामा परेका छन् भने ६० जना घरेलुहिंसामा परेका छन् । सिन्धुपाल्चोकमा २२ जना लैंगिकहिंसामा परेको तथ्यांकले देखाएको छ भने २१ जना घरेलुहिंसामा परेका छन् ।
धादिङमा ३७ जना लैंगिकहिंसामा परेका छन् भने २३ जना घरेलुहिंसामा परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ नुवाकोटमा ३१ जना लैंगिकहिंसाका घटना भएको छ भने १८ जना घरेलुहिंसामा परेको तथ्यांकले देखाएको छ ।
रसुवामा लैंगिकहिंसाका घटना सबै भन्दा कम भएको तथ्यांकले देखाएको छ । रसुवामा २ वटा लैंगिकहिंसाका घटना भएका छन् भने एउटा घरेलु हिंसाका घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा १ हजार ९३ वटा लैंगिकहिंसाका घटना भएका छन् भने ११ सय २६ घरेलुहिंसाका घटना भएका छन् । त्यसैगरी, आव २०७८/७९ मा बागमती प्रदेशमा १ हजार ८ वटा लैंगिकहिंसाका घटना भएका छन् भने १५ सय ७४ घरेलुहिंसाका घटना भएका छन् ।
त्यसैगरी आव २०७९÷८० मा ११ सय ७४ लैंगिकहिंसाका घटना भएका छन् १३ सय ४६ घरेलुहिंसा भएको तथ्यांकले देखाएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठउपरीक्षक एवं सूचना अधिकारी रेग्मीका अनुसार बलात्कार, जबर्जस्ती विवाह, पितृसात्तात्मक सोच, मनोवैज्ञानिक असर तथा आफन्तलगायतका कारण लैंगिकहिंसा हुँदै आएको पाइएको छ ।
गरिवी, अशिक्षा र जनचेतनाको अभावले लैंगिकहिंसाका घटना हुने गरेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशकी महिला विकास अधिृत चन्दाकुमारी ब्यान्जनकार बताउँछिन् । ‘एउटा व्यक्तिले समाजमा घुलमिल हुन सिक्ने र सिकाइने मूल्य मान्यता, ब्यबहार, आचरण वा सिद्धान्तको प्रक्रियालाई सामाजिकीकरण भनिन्छ,’ उनले भनिन्, ‘ र, यही सामाजिकीकरणको गलत अभ्यास नै लैंगिक विभेदको मुल कारण बनेको छ ।’
ब्यान्जनकारले यस प्रक्रियालाई समयानुकूल व्यबहारमा परिवर्तन नगरेसम्म कुनै देशको कानुन र न्यायालयले पनि लैंगिक असमानता र हिंसा अन्त्य गर्न नसकिने बताइन् ।
उनका अनुसार हाल प्रदेश सरकारले महिलाहिंसा न्यूनीकरण गर्न सामाजिक विकास क्षेत्रमा काम गर्ने प्रदेशका ११९ वटै स्थानीय तहका महिला बालबालिका शाखाका कर्मचारीहरुलाई वार्षिक रुपमै अभिमूखीकरण कार्यक्रम गर्दै आएको जानकारी दिइन् ।
उनले लैंगिकहिंसाबाट प्रभावित महिलाका लागि अल्पकालीन आश्रयसहितको जिल्ला सेवाकेन्द्र, मनोसामाजिक मनोपरामर्श केन्द्र र महिला संशत्तीकरण क्षेत्रमा काम गर्ने संघ संस्थाहरुलाई चालु अनुदान तथा पुँजीगत सहयोग गरेर कार्यक्रम गरिरहेको र महिला उद्यमीहरुलाई सशक्तिकरण गराउने उद्यमशीलता विकास, वित्तीय पहुँच, सेवा पुँजीमा अनुदान दिदै आएको बताईन् । उनले हाल ४४ महिलाले उद्यमी प्रविधि सहयोगका लागि अनुदान पाईसकेको पनि जानकारी दिइन् ।