यसवर्ष भरिएन कुलेखानी जलाशय
हेटौंडा– मनसुन सकिएसँगै विद्युत प्राधिकरणको ‘ब्याकअप’का रुपमा रहेको कुलेखानी जलाशय यसवर्ष नभरिने अवस्थामा पुगेको छ ।जलाशय भरिन अझै साढे सात मिटर बाँकी छ ।
जेठदेखि असोजको पहिलो सातासम्म कुलेखानी जलविद्युत आयोजनाका तीनवटै युनिट दैनिक १५ घन्टादेखि २० घन्टासम्म सञ्चालन गरिएको थियो । निरन्तर आयोजनाबाट विद्युत उत्पादन नगरेको भए कुलेखानीको जलाशय भरिने अवस्थामा पुगिसक्ने कुलेखानी–१ आयोजनाका प्रमुख धीरेन्द्र चौधरीले बताए । जलाशय भरिएर पानी फाल्नु पर्ला भन्ने डरले पनि जेठदेखि नै कुलेखानीको तीनवटै युनिट सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।
कुलेखानी जलाशयको जलस्तर गत असार ३१ गते १४९५।४ सेन्टिमिटरमा झरेको थियो । त्यसपछि जलाधार क्षेत्रमा वर्षा सुरु भएपछि पानीको सतह बढ्दै आएको आयोजनाले जनाएको छ । साउन १ देखि हालसम्म जलाशयमा २७ मिटरभन्दा बढी पानी संकलन भइसकेको छ ।
जलाशयमा सोमबार दिउँसो ३ बजेसम्म पानीको सतह १५२२।४७ सेन्टिमिटर छ । गतवर्ष यही समयमा जलस्तर १५२५।५ सेन्टिमिटर थियो । कुलेखानी जलाशयमा अहिले दैनिक ६ सेन्टिमिटरमात्र पानी थपिने गरेको छ ।
खपत पनि दैनिक ५ सेन्टिमिटरसम्म हुने गरेको छ । जलाधार क्षेत्रमा अब भारी वर्षा भएन भने जलाशय भरिने सम्भावना कमै रहेको चौधरीले बताए । तर, कुलेखानी जलाशय नभरिए पनि सुक्खायाममा विद्युतको समस्या भने नहुने जनाइएको छ ।
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाको दामन, पालुङ, बज्रबाराही, चित्लाङ र इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् ।
२०५० सालमा एकै रात ६ मिटर पानीको सतह बढेको थियो । जलाशय भरिएर पानी बाहिर फाल्न एक्कासि ड्याम खोल्ने काम गरिएको थियो । जसले गर्दा सर्लाहीको बागमती सिँचाई आयोजनाको निर्माणमा खटिएका तीन जना चिनियाँ कामदारको बाढीले बगाएर मुत्यु भएको थियो ।
कुलेखानी जलाशयमा १५३० मिटरसम्म पानी संकलन गर्न सकिन्छ ।२०७२ सालको भूकम्पले जलाशयको बाँधका केही भाग चर्केकाले सकेसम्म पानीको सतह १५२७ मिटरभन्दा बढ्न नदिनु हितकर रहेको प्राविधिकहरुले बताएका छन् ।
कुलेखानी जलाशयको पानी १४८४ मिटरसम्म तल झर्दा प्रयोग गर्न सकिन्छ । जलाशयमा संकलन गरिएको पानीमध्ये ४६ मिटरमात्र विद्युत् उत्पादनमा प्रयोग गर्न सकिन्छ । कुलेखानी–१ बाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १ सय ६ मेगावाट विद्युत उत्पादन हुने गरेको छ ।
कुलेखानी जलाशयमा संकलन गरेको पानीबाट तीनवटै आयोजनाले विद्युत उत्पादन गर्छन् । ३ सय मिटर चौडाइ र सात किलोमिटर लम्बाइ रहेको कुलेखानीको जलाशयको मार्खु क्षेत्रको तल्लो भाग पानीले ढाकिसकेको छ ।