कैलाश गाउँपालिकाले ल्यायो नीति तथा कार्यक्रम
हेटौंडा– मकवानपुरको बिकट मानिने कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । बिहीबार आयोजित १२ ओैं गाउँसभामा पालिका अध्यक्ष लोकबहादुर मुक्तानले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष मुक्तानले आगामी वर्ष गाउँपालिकाले दूध र खसीबोका बिक्रीमा अनुदान दिने घोषणा गरे । गाउँपालिकाले सहकारीमार्फत दूध बिक्री गर्दा किसानलाई प्रोत्साहनस्वरुप प्रतिलिटर ३ रुपैयाँ र खसीबोका बिक्री गर्दा जिउँदो प्रतिकिलो ५ रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।
यस्तै बीमा गरेका गाईभैंसी कृत्रिम गर्भाधान गरी ब्याएपछि सुत्केरी पोषण भत्ता बापत सम्बन्धित कृषकलाई रु २५०० नगद दिइने नीतिसमेत लिइएको छ ।
‘कृषि उत्पादनमा अविवृद्धि, कैलाश गाउँपालिकाको समृद्धि’ भन्ने नाराका साथ कृषि क्षेत्रलाई मुख्य प्राथमिकताको साथ अगाडि बढाइने, ‘बांझो जग्गाबिहिन गाउँपालिका, हराभरा गाउँपालिका’ को निर्माण गर्न जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने, कृषि तथा पशुपालनसम्वन्धी प्राबिधिक परामर्श उपलब्ध गराउन प्राविधिक जनशक्तिलाइ बढाइने कार्यक्रम ल्याएको छ ।
कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिई कृषि व्यवसायको आधुनिकिकरण, यान्त्रिकिकरण र बजारीकरणमा जोड दिईने, कृषकलाई आधुनिक कृषिऔजार उपलब्ध गराईने, गाउँबासीमा स्वरोजगारीको सृजना गर्न एक वडा एक उत्पादनको नीति लिइने, विषादिरहित प्रा·ारिक खेती तथा व्यावसायिक पशुपालनलाई प्रोत्साहन दिँदै पशु तथा बाली बीमा कार्यक्रम सञ्चालन गरिने, भने सहकारी खेती तथा सामूहिक खेतीलाई प्रवद्र्धन गर्न अनुदानको व्यवस्था मिलाईने कार्यक्रम ल्याएको छ ।
रैथाने बाली कोदो, फापर, मास, मस्याङ, मकै, भटमास, सिमी आदि बालीको उत्पादन र बजारिकरणमा जोड दिइने, गिठ्ठा भ्याकुर जस्ता कन्दमुलको उचित संरक्षण गरी यसको विकास र बजारीकरणमा जोड दिइने, आधुनिक उन्नत पशुको उत्पादनमा जोड दिदै किसानलाई दुग्ध र मासुजन्य उत्पादनमा प्रोत्सान गरिने, युवा लक्षित कार्याक्रमलाई जोड दिदै नमुना कृषि फर्मको विकास गरिने जस्ता नीति तथा कार्यक्रम अघि सारेको छ ।
स्थानीय महत्वका खाद्य तथा पोषण कार्यक्रमलाई प्रोत्सान गरिने, गाई तथा बाख्रा पालन प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकताको साथ अगाडि बढाइने, कैलाश गाउँपालिकामा संचालित सहकारी तथा वित्तीय संघ संस्थासँग समन्वय गरी कृषकलाई कृषिकर्जाको नागि समन्वय गरिने कैलाशको नीति तथा कार्यक्रममा छ ।
कैलाश गाउंपालिकामा कृषि अन्न तथा बालीहरु उत्पादनको लागि मौसम अनुकूल रहेको र जिल्लाका अन्य स्थानभन्दा राम्रो खेतीको सम्भावना भएको हुँदा अनुकूल समयमा उत्पादन हुने अदुवा, कफी, आलु, अलैंची, धान, मकैलगायत बाली उत्पादन बढाउनेतर्फ आवश्यक कार्यक्रमलाई निरन्तरता दिईने बताइएको छ ।
कृषि तथा पशुपालनको क्षेत्रमा कुनैपनि महामारी तथा संक्रमण फैलिएमा तत्काल पालिकास्तरबाट महामारी र प्रकोप नियन्त्रणमा आवश्यक कदम उठाइने, ‘कृषकको ग्राहक स्थानीय सरकार’ कार्यक्रममार्फत कृषि उत्पादनहरु स्थानीय सरकारले नै खरिद गरिदिने नीतिलाई दृढताका साथ अवलम्बन गरिने भएको छ ।
गाउँपालिकालाई प्राङगारिक मलमा आत्मानिर्भर गाउँपालिकामा रुपान्तरण गर्न रसायनिक मलमा दिईदै आएको अनुदान क्रमिक रुपमा प्राङ्गारिक मलतर्फ स्थानान्तरण गर्ने नीतिलाई बढावा दिदै लगिने बताइएको छ ।