अस्पतालको सेवा प्रभावित नगर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउने
हेटौंडा– हेटौंडा अस्पतालको सेवा प्रभावित नपार्न बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराउने सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।
अस्पताल सञ्चालन गरिरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट कटौती गरेर अस्पतालको सेवा प्रभावित पार्न खोजिएको आरोप प्रदेश सरकारमाथि थियो ।
प्रतिष्ठान मातहत ल्याएपछि अस्पतालको सेवामा सुधार आएसँगै उपचारमा पनि प्रगति भइरहेको सन्दर्भमा प्रदेश सरकारले बजेट कटौती गरेर राम्रो नगरेको भन्दै व्यापक विरोध भइरहेको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक संकटको कारण देखाउँदै कर्मचारी हटाउने तयारी गरेपछि बिहीवार हेटौंडा उपमहानगरपालिकामा सर्वपक्षीय बैठक बसेको थियो ।
बैठकले अस्पतालको सेवा प्रभावित हुन नदिनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको हेटौंडा–४ का वडाअध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।
प्रदेश सांसद तथा पूर्वमन्त्री एकालाल श्रेष्ठको संयोजन तथा उपमहानगरकी प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा जिल्लास्थित नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतका राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाको उपस्थिति रहेको थियो ।
बैठकले हेटौंडा अस्पतालमा उत्पन्न समस्याप्रति ध्यानाकर्षण भएको र अस्पतालको सेवालाई प्रभावित नहुने गरी बजेट व्यवस्थापन गर्न बागमती सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको वडाध्यक्ष सिग्देलले जानकारी दिए ।
सुधारोन्मुख अस्पताललाई पुरानै अवस्थामा फर्काउने प्रदेश सरकारको योजनाविरुद्ध नेकपा एमाले मकवानपुरले यसअघि विज्ञप्ति नै जारी गरी विरोध जनाएको थियो ।
हाल, प्रदेश सरकारले प्रतिष्ठानलाई बजेट घटाएर पठाएपछि कर्मचारी हटाउने योजना बनाइएको छ । बजेट अभावका कारण आगामी आर्थिक वर्षमा तलबभत्ता वितरणमा समस्या हुने भएपछि प्रतिष्ठानले ठूलो संख्यामा कर्मचारी हटाउन खोजेको हो ।
प्रतिष्ठानका उपकूलपति विश्वराज जोशीको अध्यक्षतामा गत आइतबार बसेको कार्यकारी परिषद्को बैठकले बजेट अभावका कारण चालु आर्थिक वर्षमा नियुक्त गरिएको कर्मचारी हटाउने निर्णय गरेको थियो ।
संघीय सरकार र प्रदेश सरकारबाट चालुखर्चतर्फ प्रतिष्ठान वा अस्पतालमा कुनैपनि शीर्षकमा बजेट प्राप्त नभएकाले कर्मचारी हटाउनु पर्ने बाध्यता आएको प्रतिष्ठानका रजिष्ट्रार एवम् हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईँले बताएका छन् ।
संघीय सरकारबाट प्रतिष्ठानको शैक्षिक भवन र अस्पतालको भवनका लागि चालु आर्थिक वर्षमा प्राप्त अनुदान बाहेक अन्य बजेट प्राप्त नभएको उनले बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रतिष्ठानको लागि १९ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने हेटौंडा अस्पतालको सेवा विस्तार तथा उपकरण खरिदका लागि थप ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
संघीय सरकारबाट यसवर्षका लागि प्रतिष्ठानको शैक्षिक भवन निर्माणका लागि ९७ करोड रुपैयाँ विशेष अनुदान प्राप्त गरेको थियो । प्रदेश सरकाले आगामी आव ०८०/८१ का लागि प्रतिष्ठानको ७ करोड १९ लाख रुपैयाँ बजेट कटौती गरेको छ ।
प्रदेश सरकारले बजेट भाषणमार्फत् आगामी आर्थिक वर्षमा प्रतिष्ठानका लागि १२ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त ७ करोड १९ लाख रुपैयाँ कटौती हुँदा अस्पतालमा विस्तारित सेवा र गुणस्तर लागि खटाइएका कर्मचारी कटौती गर्नुपरेको रजिष्ट्रार प्रसाईँले बताए ।
रजिष्ट्रार प्रसाईका अनुसार कटौती हुने कर्मचारीमा एमबिबिएस डाक्टर १५ जना, आयुर्वेदिक चिकित्सक एक, नर्स, फार्मेसिष्ट, रेडियोलोजिष्ट, ल्याब टेक्निसियनलगायत प्राविधिक कर्मचारी १ सय ३ जना र प्रशासनतर्फ कार्यरत् २५ जना रहेका छन् ।