हेटौंडा अस्पतालका झण्डै डेढसय कर्मचारी हटाउँदै प्रतिष्ठान
हेटौंडा– जिल्लाको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा कार्यरत झण्डै डेढसय कर्मचारी हटाउने तयारी भएको छ ।अस्पताल सञ्चालन गरिरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक संकटको कारण देखाउँदै कर्मचारी हटाउने तयारी गरेको हो ।
प्रतिष्ठान र हेटौंडा अस्पतालका लागि चालु आर्थिक वर्ष २०७९/८० मा नियुक्त गरिएको १ सय ४४ जना प्रशासनिक र प्राविधिक जनशक्ति कटौतीको तयारी गरिएको हो ।
राजनीतिक हस्तक्षेपबाट अछुतो रहन नसकेको प्रतिष्ठानले अस्पतालमा लोकसेवा आयोगसँगको समन्वयमा यसअघि व्यापक कर्मचारी भर्ना गरेको थियो । हेटौंडा अस्पताल नयाँ व्यवस्थापनमा सञ्चालन भएसँगै र त्यसअघि पनि प्रतिष्ठानले कर्मचारी करारमा लिएको थियो ।नेता र कार्यकर्ताका श्रीमतीदेखि नातेदारलाई जागिर खुवाउने माध्यम बनेको भन्दै प्रतिष्ठानको चर्को विरोध हुने गरेको थियो ।
प्रतिष्ठानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा उजुरीसमेत परेको थियो । हाल, प्रदेश सरकारले प्रतिष्ठानलाई बजेट घटाएर पठाएपछि कर्मचारी हटाउने योजना बनाइएको छ । बजेट अभावका कारण आगामी आर्थिक वर्षमा तलबभत्ता वितरणमा समस्या हुने भएपछि प्रतिष्ठानले ठूलो संख्यामा कर्मचारी हटाउन खोजेको हो ।
प्रतिष्ठानका उपकुलपति विश्वराज जोशीको अध्यक्षतामा आइतबार बसेको कार्यकारी परिषद्को बैठकले बजेट अभावका कारण चालु आर्थिक वर्षमा नियुक्त गरिएको कर्मचारी हटाउने निर्णय गरेको छ ।
संघीय सरकार र प्रदेश सरकारबाट चालुखर्चतर्फ प्रतिष्ठान वा अस्पतालमा कुनै पनि शीर्षकमा बजेट प्राप्त नभएकाले कर्मचारी हटाउनु पर्ने बाध्यता आएको प्रतिष्ठानका रजिष्ट्रार एवम् हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईँले बताए ।
संघीय सरकारबाट प्रतिष्ठानको शैक्षिक भवन र अस्पतालको भवनका लागि चालु आर्थिक वर्षका लागि प्राप्त अनुदान बाहेक अन्य बजेट प्राप्त नभएको उनले बताए ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रतिष्ठानको लागि १९ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने हेटौंडा अस्पतालको सेवा विस्तार तथा उपकरण खरिदका लागि थप ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
संघीय सरकारबाट यसवर्षका लागि प्रतिष्ठानको शैक्षिक भवन निर्माणका लागि ९७ करोड रुपैयाँ विशेष अनुदान प्राप्त गरेको थियो । प्रदेश सरकाले आगामी आव ०८०/८१ का लागि प्रतिष्ठानको ७ करोड १९ लाख रुपैयाँ बजेट कटौती गरेको छ ।
प्रदेश सरकारले बजेट भाषणमार्फत आगामी आर्थिक वर्षमा प्रतिष्ठानका लागि १२ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त ७ करोड १९ लाख रुपैयाँ कटौती हुँदा अस्पतालमा विस्तारित सेवा र गुणस्तर लागि खटाइएका कर्मचारी कटौती गर्नुपरेको रजिष्ट्रार प्रसाईँले बताए ।
प्रतिष्ठानले हेटौंडा अस्पतालमा सेवा विस्तार र गुणस्तर वृद्धिका लागि चालु आर्थिक वर्षमा लोकसेवा आयोगसँगको समन्वयमा विज्ञापन गरी ती कर्मचारी नियुक्त गरेको प्रतिष्ठानका रजिष्ट्रार एवम् हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रसाईँले जानकारी दिए । तर, प्रतिष्ठानमा भने नेताको चाहना अनुसार विगतमै कर्मचारी राखिएको थियो ।
रजिष्ट्रार प्रसाईका अनुसार कटौती हुने कर्मचारीमा एबिबिएस डाक्टर १५ जना, आयुर्वेदिक चिकित्सक एक, नर्स, फार्मेसिष्ट, रेडियोलोजिष्ट, ल्याब टेक्निसियनलगायत प्राविधिक कर्मचारी १ सय ३ जना र प्रशासनतर्फ कार्यरत् २५ जना रहेका छन् ।
टेन्डरबाट अस्पताल सरसफाईमा ३५ र सुरक्षाका लागि खटाईएका २५ गरी ६० जना कर्मचारीसमेत हटाइने उनले बताए । हेटौंडा अस्पतालमा कार्यरत यी कर्मचारीका लागि वार्षिक रुपमा १० करोड रुपैयाँ बजेट खर्च हुँदै आएको रजिष्ट्रार प्रसाईँले जानकारी दिए ।