उपभोक्ता मञ्च केन्द्रमा थापा, मकवानपुरमा अधिकारी
हेटौंडा– उपभोक्ता मञ्च नेपालको केन्द्रीय अध्यक्षमा आनन्द थापा चयन भएका छन् । ‘जागौं उपभोक्ता लागौं’ भन्ने नाराका साथ शनिबार हेटौंडामा आयोजित महाधिवेशनले थापालाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।
महाधिवेशनले थापाको अध्यक्षतामा २७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । महाधिवेशन आयोजक समितिका संयोजक, भवानीप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजसेवी, शिक्षाविद देवप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । उपभोक्ता मञ्चका ५४ जिल्लाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।\
समितिको वरिष्ठ उपाध्यक्षमा भवानीप्रसाद ढकाल, उपाध्यक्षमा कुमार पौडेल, विमल ठाकुर, ध्रुबराज चालिसे, उमाशंकर खड्का चयन भएका छन् । त्यस्तै समितिको महासचिवमा शत्रुघनप्रसाद देव, सचिवमा कृष्णप्रसाद अर्याल, शम्भु शाह, कोषाध्यक्ष डिल्लीराम ढकाल चयन भएका छन् ।
सदस्यहरुमा ऋषिराज गौतम, खडगबहादुर विष्ट, राजकुमार केसी, माधव नेपाल, विनयकुमार श्रेष्ठ, केशव श्रेष्ठ, शैलेश शर्मा, कपिला जोशी, विजेन्द्र अग्रवाल, सम्झना पौडेल अधिकारी र सन्तोष न्यौपाने चयन भएका छन् । महाधिवेशनले उपाध्यक्ष ४ वटा प्रदेशको संयोजक समेत चयन गरेको छ ।
केन्द्रीय उपाध्यक्ष प्रदेश समितिको संयोजक हुने विधानत प्रावधान रहेकोले सोही अनुसार केन्द्रीय कार्यसमितिका ४ उपाध्यक्षलाई प्रदेशको संयोजक चयन गरिएको छ । जसअनुसार उपाध्यक्ष कुमार पौडेललाई बागमती प्रदेश संयोजक, विमल ठाकुरलाई मधेश प्रदेश संयोजक, धुबराज चालिसेलाई गण्डकी प्रदेश संयोजक र उमाशंकर खडकालाई लुम्बीनी प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
कार्यक्रममा उपभोक्ता मञ्च नेपाल केन्द्रीय महाधिवेशन हेटौंडा घोषणापत्र–२०८० जारी गरिएको छ । घोषणापत्रमा उपभोक्ता हितसम्बन्धी ८ बुँदे माग समावेश गरिएको छ ।
घोषणापत्रअनुसार उपभोक्ताको हकहित संरक्षण गर्ने अभिप्रायले निर्माण भएका नीति नियम र कानूनहरु अपारदर्शी र अपरिपक्व सावित भई मूल्यवृद्धि आकासिनुको साथै आमउपभोक्ता नीतिगतरुपमा ठगिएको परिप्रेक्ष्यमा मौजुदा उपभोक्ता अधिकारसम्बन्धी नियम, कानून र नियमनकारी निकायसम्बन्धी व्यवस्था उपभोक्तावादी संघ संस्थाको सहकार्यमा थप संशोधन र व्याख्या हुनु समयसापेक्ष देखिएको भन्दै सरकारलाई ध्यानकर्षण गरिएको छ ।
स्वदेशमा उत्पादित वस्तुबाट आत्मनिर्भर भएको बहानामा आमउपभोक्ता बढी मूल्य तिरी उपभोग्य वस्तु उपभोग गर्न बाध्य भएको अवस्थाप्रति ध्यानाकर्षण गराउने, उपभोक्ता हकहितको निम्ति अनुगमन र कारवाहीको सतही परिभाषाका कारण न त साना व्यापारी नै खुशी छन्, न त उपभोक्ताले गुणस्तरीय र विश्वसनीय सेवा तथा वस्तु उपभोग गर्न पाएका छन् ।
यसको निराकरणको निम्ति मुहान सफा गर्ने उद्देश्य सहित उत्पादकले आफ्नो उत्पादनलाई गुणस्तरीय बनाई म पनि उपभोक्ता नै हु भन्ने भावना अभिप्रेरित गर्न गराउन ठोस नीति अवलम्बन गर्न सरकारलाई अनुरोध गर्ने, मूल्य अभिवृद्धि कर लागू भएपश्चात आमउपभोक्ता तथा व्यापारीलाई मूल्यवृद्धि हुने आशा सहित झन्झटिलो लेखाप्रणाली र तजविजी कर निर्धारण प्रणालिलाई वैज्ञानिकरण गर्दै उत्पादक तथा व्यापारीलाई लागेको मूल्य अभिवृद्धि कर आम उपभोक्ताबाट असूलउपर गर्ने प्रावधान र परिपाटीको विरोध गर्दै वैज्ञानिक, व्यावहारिक र सरल कर प्रणाली अवलम्बनको निम्ति अत्यावश्यक वस्तु र सेवामा मूल्य अभिवृद्धि कर व्यवहारीकरणको माग गर्ने निर्णय गरेको छ ।
अनुगमन नियमनको सिलसिलामा हुने ठूलो धनराशीको खर्च उपभोक्ता सचेतनासम्बन्धी कार्यक्रममा सदुपयोग गरी सचेत उपभोक्ता अभिवृद्धिको निम्ति केन्द्रदेखि स्थानीय तहसम्म नियमित अनिवार्य बजेट विनियोजन गरी आम उपभोक्ता सचेत बनाउन प्रभावकारी नीतिगत निर्णयको लागि सम्बन्धित निकायसँग माग गर्दै उपभोक्ता हकहित संरक्षणको निम्ति उपभोक्ता मञ्च नेपाल सदैव दत्तचित्त, क्रियाशील र पहरेदारको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
ऐन नियमावली पारित भएको वर्षौंं वितिसक्दा पनि उपभोक्ता अदालतको स्थापना नगरी आम उपभोक्ताको हक हित संरक्षण तथा सम्बद्र्धन गर्न नेपाल सरकार चुकेको अवस्थामा यथाशीघ्र उपभोक्ता अदालतको स्थापना गरी कार्य अगाडि बढाई निरन्तरताको लागि ध्यानाकर्षण गराउने, महत्वपूर्ण विषयको पहिचान गरेर सम्बन्धीत विज्ञ सहितको उपसमिति बनाई सचेतनाका लागी विविध कार्य संचालन गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने घोषणापत्रमा छ ।
उपभोक्ता मन्च मकवानपुरमा अधिकारीको नेतृत्व
उपभोक्ता मन्च मकवानपुर अध्यक्षमा सुनिल अधिकारी चयन भएका छन् । शनिबार हेटौंडामा भएको मन्चको जिल्ला अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
मन्चको उपाध्यक्षमा श्रीकृष्ण कर्माचार्य, सचिव विजय कार्की र गंगाप्रसाद पौडेल, कोषाध्यक्ष सुधीर दाहाल तथा सदस्यमा मिनु अग्रवाल, भूपेन्द्र अधिकारी, भवनाथ अधिकारी, श्यामलाल दुलाल, सकुन्तला ब्लोन, इश्वरीसिंह ठकुरी, लक्ष्मी श्रेष्ठ र श्रवण सुनार रहेका छन् । उपभोक्ता मन्च मकवानपुरका अध्यक्ष कुमार पौडेलको अध्यक्षतामा अधिवेशन भएको हो । अध्यक्षमा चयन भएका अधिकारीले उपभोक्ताको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
व्यापार व्यवसायमा आवद्ध भएकाहरुले उपभोक्ताको अधिकारलाई पनि ध्यान दिनुपर्ने उनको सुझाव थियो । संस्थागत एवम् उपभोक्ताको हितमा योजनाबद्ध रुपमा अघि बढ्ने अध्यक्ष अधिकारीले प्रतिबद्धता जनाए । जिल्ला अधिवेशनसँगै शनिबार उपभोक्ता मन्चको केन्द्रीय महाधिवेशन समेत हेटौंडामा भएको हो । महाधिवेशनबाट मकवानपुरका निवर्तमान अध्यक्ष कुमार पौडेल केन्द्रीय उपाध्यक्षमा चयन भएका छन् ।