हेटौंडा–१ का २० जना महिलालाई अचार बनाउने तालिम
हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नं. १ का २० जना महिलालाई अचार बनाउने सम्बन्धी तालिम प्रदान गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नं. १ को आर्थिक वर्ष २०७९/८० को महिला लक्षित कार्यक्रम अन्तर्गत् ८५ हजार रुपियाँ बजेटबाट २० जना महिलालाई अचार बनाउने तालिम दिइएको हो । तालिममा मेथी, करेला, चिकेन र मिक्स अचार गरी चार थरिको अचार बनाउन सिकाइएको प्रशिक्षक विनिता पौडेलले जानकारी दिइन् ।
महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले आयोजित तालिमको मंगलबार एक कार्यक्रमबीच समापन गरिएको छ । कार्यक्रम संयोजन गर्ने संस्था आश्रय नेपालकी अध्यक्ष दुर्गा घोरासाइनीको सभाध्यक्षता तथा वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा तालिम समापन भएको हो ।
तालिम समापन गर्दै वडा अध्यक्ष न्यौपानेले पछिल्लो समय अचार खाने प्रचलन बढ्दै गएकोले यसलाई व्यवसायिकरुपमा उत्पादन गर्न सके स्वरोजगार हुन सकिने बताए । उनले सिकेको सीपलाई व्यवहारमा उतार्न सुझाव दिँदै महिलाहरुलाई स्वरोजगार बनाउन सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा कार्यपालिका सदस्य ईश्वरी रसाइली, वडा सदस्य रामकृष्ण अधिकारी, वडा सचिव शान्तादेवी लौडारी, प्रशिक्षक विनिता पौडेल, बाल क्लब वडा सञ्जाल अध्यक्ष आयुष्मा अर्जेल, प्रशिक्षार्थी प्रविना श्रेष्ठ बज्राचार्यलगायतले तालिमको महत्व र महिला स्वरोजगारको विषय धारणा व्यक्त गरेका थिए ।