मकवानपुरमा २० वर्ष मुनिका २ सय २५ आमा बने

संवाददाता
जेष्ठ ७, २०८०

हेटौंडा– बालमैत्री घोषणाको अभियानमा जुटेको हेटौंडा उपमहानगरपालिकालाई बालविवाह र बालश्रम दुई प्रमुख चुनौतीका रुपमा देखिएका छन् । बालश्रम भन्दा पनि बालविवाह झनै चुनौतीको रुपमा देखिँदै आएको छ । मकवानपुरमा यसअघि मनहरी, बकैया र मकवानपुरगढी गाउँपालिका बालमैत्री स्थानीय तह घोषणा भइसकेका छन् । तर, यी तीनै पालिकामा बालविवाह नियन्त्रणमा आएको छैन । बालमैत्री घोषणा भएपनि बालविवाह भने भइरहेको घटना क्रमले देखाएको छ ।

आगामी मंसिर महिनामा बालमैत्री स्थानीय तह घोषणाको तीव्र तयारीमा रहेको हेटौंडामा पनि बालविवाहको समस्या ठूलो छ । बालविवाहको समस्याले उपमहानगरलाई टाउको दुखाई बनिरहेको छ । २० वर्ष मुनिको उमेरमा आमा बन्नेहरुको एक तथ्यांकले भने चुनौतीमा उपमहानगर रहेको छ ।

हेटौंडा उपमहानगर बागमती प्रदेशको राजधानीसमेत हो । हेटौंडाभित्र किशोरीहरु आमा बन्ने क्रम पनि बढेको तथ्यांकले देखाएको छ । हेटौंडा अस्पतालका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को ९ महिनाको अवधिमा २० वर्षमुनिका २ सय २५ जना किशोरी आमा बनेका छन् ।

उक्त ९ महिनाको अवधिमा हेटौंडा अस्पतालमा ३ हजार २ सय ६५ जना सुत्केरी भएका थिए । हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको साउन महिनामा मात्रै २० वर्ष मुनिका २८ जना आमा बनेका थिए । त्यसैगरी, भदौ महिनामा ३० जना किशोरी आमा बनेका थिए भने असोज महिनामा २४ जना किशोरी आमा बनेको हेटौंडा अस्पतालको तथ्यांकले देखाएको छ ।

कार्तिक महिनामा २३ जना, मंसिरमा १५ जना, पुस महिनामा ३१ जना किशोरी आमा बनेका थिए । त्यसैगरी, माघ महिनामा २५ जना, फागुन महिनामा २४ र चैत्र महिनामा २५ जना किशोरी आमा बनेका थिए । ‘यो तथ्यांकले बालविवाहसँगै कम उमेरमै गर्भवती हुँदा र गर्भमा रहेको शिशुको जोखिमलाई सहज ढंगले बुझ्न सकिन्छ’, हेटौंडा अस्पतालका सूचना अधिकारी राजीव झाले भने ।

उनले बाल विवाहका कारण गर्भवती महिला र शिशु उच्च जोखिममा रहेको बताए । मकवानपुरमा बाल विवाह नरोकिँदा सानो उमेरमा नै किशोरीहरु आमा बन्ने गरेका छन् ।

स्थानीय सरकारले बाल विवाह रोक्न विभिन्न कार्यक्रम संचालन गरे पनि जिल्लामा यस प्रकारका विवा रोकिएको छैन जसकारण कलिलो उमेरमै विवाह हुँदा २० वर्ष मुनिका किशोरीहरु आमा बन्नेको संख्या बढ्दो अवस्थामा रहेको छ ।सिविन बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीका अनुसार मकवानपुरमा आर्थिक वर्ष २०७८-७९ मा यसखाले ४७ वटा विवाहका घटना दर्ता भएको थियो ।

चालु आर्थिक वर्ष २०७९÷८० मा हालसम्म ४२ वटा बालविवाहका घटना दर्ता भइसकेको उनले बताए । यी त दर्ता भएका घटनामात्र भए गाउँहरुमा हुने बालविवाहको रेकर्ड यसमा जोडिएको छैन । भागेर विवाह, परिवारबाट जबर्जस्ती गराइएका विवाहको तथ्यांक नभएको उनले बताए ।

मकवानपुरमा गरिवी, जनचेतनाको अभाव, विभिन्न वाध्यात्मक कारण, सामाजिक सञ्जाल लगायतको बढ्दो प्रयोगसँगैद परिवारको स्वीकृति बिना नै भागेर बालविवाह हुने गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले बालविवाहका घटना जर्वजस्ती करणी घटनाको रुपमा दर्ता हुने जनाएको छ ।

जसकारण पनि बालविवाहकै घटनाको यकिन तथ्यांक भने नहुने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए । मकवानपुरमा जिल्ला बालविवाह रोक्न विभिन्न संघसस्था कार्यरत छन् । समाजमा उनीहरुको कार्यक्रमको केही सकारात्मक प्रभाव परे पनि बालविवाह निर्मूल भने हुनसकेको छैन । यस्ता संस्थाहरुको औपचारिक कार्यक्रम बजार क्षेत्रमा मात्रै सीमित छन् ।

गर्भावस्थाबारे पहिलो पटक परीक्षण गर्नेको संख्या उल्लेख्य भए पनि स्वास्थ्यका दृष्टिले आवश्यक ४ पटक गर्भ जाँच गराउने महिलाको संख्या भने निकै कम देखिन्छ । चार पटक गर्भ जाँच गराउने गर्भवतीलाई सरकारले प्रोत्साहनस्वरुप यातायात खर्चसमेत प्रदान गर्ने गरेको छ । नियमित गर्भ जाँच गर्ने क्रममा गर्भमा रहेको भ्रुणको अवस्था, गर्भवतीको अवस्थाका बारेमा जाँच गर्ने गरिन्छ ।

साथै आवश्यकताअनुसार गर्भवतीलाई सुई लगाउने, औषधि खुवाउने र पोषणसम्बन्धी अभिमुखीकरणसमेत गराउने गरिन्छ । संविधानको धारा ३९ को उपधारा ५ ले बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने गरी हक स्थापित गरेको छ । हेटौंडा उपमहानगपालिका प्रवक्ता एवं हेटौंडा–१ का वडाअध्यक्ष सबिन न्यौपानेले पालिकालाई बालमैत्री घोषणा गर्ने तयारीका लागि हरेक वडामा गइरहेको बताए ।

तर, त्यहाँ जाँदा बालविवाहको विकराल रुप देखेको उनी बताउँछन् । प्रवक्ता न्यौपानेले हेटौंडा–१ का ग्रामीण भेगका किशोरीहरु आमा बन्ने तयारीमा देखेको र उनीहरुलाई सुरक्षित र पोषणयुक्त खाद्यसामग्री वितरण गरी सचेतना कार्यक्रम दिएको बताए । उनले अन्य किशोरीलाई बालबिवाह गर्नबाट रोक्न सचेत गराएको पनि बताए ।

हेटौंडाभित्र विकट र साबिकका ६ गाविस मिसिएर हेटौंडा उपमहानगरपालिका बनेकाले त्यस्ता विकट स्थानमा शिक्षा र चेतनाको कमीका कारण बालविवाह कायमै रहेको उनले बताए । हेटौंडा उमहानगरपालिका १९ वडामा विभाजित छ । उपमहानगरपालिकाभित्र विकट ग्रामीण बस्ती छन् । मकवानपुरको उत्तरी पश्चिमी क्षेत्रमा पर्ने राक्सिराङ, कैलाश गाउँपालिका र पूर्वी क्षेत्रमा पर्ने बकैया र वाग्मती गाउँपालिकामा कलिलै उमेरमा आमा बन्नेको संख्या बाक्लो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*