मकवानपुरमा टिपर आतड्ढ कायमै, नियमनकारी निकाय मुकदर्शक
हेटौंडा– मकवानपुर जिल्लामा खानी क्षेत्रमा सञ्चालन हुने टिपरको तीव्रगति र ओभरलोडले आमजनतामा आतड्ढ नै फैलिएको भन्दै राजनीतिक दलका भातृ संगठनदेखि नागरिक समाज सडकमा उत्रने तयारी गरेका छन् ।
जिल्लास्थित सिमेन्ट उद्योगमा चुनढुंगा उत्खनन् क्षेत्र (खानी) बाट आवतजावत गर्ने टिपरले गाउँदेखि नगर क्षेत्र नै आतड्ढित बनाएको भन्दै पटक–पटक आवाज उठ्ने गरेको छ । तर, ‘हात्तीका अगाडि भुसुना’ भन्ने नेपाली उखान झैं शक्तिको आडमा व्यवसायीले ट्राफिक नियम उल्लंघन गरिरहँदा आतड्ढ हट्नुको साटो झन् बढेको छ ।
टिपरले ढालाभन्दा एक हातमाथि ढुंगा बोकेर तीव्रगतिमा कुदिरहेका छन् । जसको कारण ढुंगा खसेर लाग्ने डरले विशेष गरी हेटौंडा बजारको मुख्य सडक क्षेत्र नै आतड्ढित बनेको हो । तर, ओभरलोड बोकेर सडकभरि खानीजन्य ढुंगा, गिट्टी र बालुवा छरेर टिपर कुदिरहँदा पनि ट्राफिक प्रहरी रमिते बनिरहेका छन् ।
जिल्लाको शान्ति सुरक्षाको जिम्मा लिएका प्रमुख जिल्ला अधिकारीको आदेशसमेत प्रहरीले कार्यान्वयन नगरेको गुनासो सरकारी अधिकारी नै गरिरहेका छन् । टिपरले ओभरलोड चुनढुंगा बोकेर हिँडेको गुनासो धेरै आएपछि केही महिनाअघि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो ।
हेटौंडा १ नम्बर वडा कार्यालयले पनि सो सम्बन्धमा ध्यानाकर्षण बुझाएको थियो । तर, उक्त पत्राचारप्रति नियमन गर्नेतर्फ प्रहरी गम्भीर नभएको हाल भइरहेको टिपरका आतड्ढले पुष्टि गर्दछ ।
‘नेपालको कानून दैवले जानून्’ भन्ने उखान यही प्रसङ्गमा पुनः मिल्न गएको छ । कानुन कार्यान्वयनमा समय सीमा निर्धारण हुँदैन । तर, मकवानपुरमा भने आवाज उठेपछि कानुन कार्यान्वयन भएको जस्तो देखिने र आवाज मत्थर हुन थालेपछि कानुनले कामै गर्न छोड्ने समस्या रहेको हेटौंडा–१ चौकीटोलका डिल्लीबहादुर थापा बताउँछन् । हेटौंडाको मुख्य सडकमा मंगलबार एउटा ६ चक्के टिपरको तीव्रगति देखेर स्थानीयबासी नै दंग परे ।
टिपरको तीव्रगतिका कारण दायाँबायाँ गुड्ने साना सवारीहरु नै साइड लागेर भागेको देख्दा स्थानीयले जिब्रो नै टोकेर भयभित भएका थिए । सर्वसाधारणमात्र नभई बुधबार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शिवम् सिमेन्टको बुढीचौर खानीबाट चुनढुंगा बोकेर आउँदै गरेको टिपर देखेर आफ्नो सात्तो गएको घटना सुनाए ।
बकैयास्थित निर्माणाधीन सुरुङमार्गको अनुगमनमा जाने क्रममा तीव्रगतिमा आएको उक्त टिपरले झण्डै आफ्नो गाडीलाई ठक्कर दिएको सुनाए । सोधिखोजी डटकमले टिपर आतड्ढ नियन्त्रण हुन नसकेको विषयमा जवाफ माग्न कुरा गर्ने क्रममा नियमनकारी निकायका प्रमुख नै टिपर देखेर आत्तिनुपर्ने दिन आएपछि सर्वसाधारणले हात जोडेर बस्नुको विकल्प नभएको अनुभूति हुन्छ ।
‘म बकैया जाँदै थिएँ । मकवानपुरगढीमा ओभरलोड ढुंगा बोकेको टिपर देखेको थिएँ । त्यो ढुंगा झरेको अवस्थामा जुनसुकै घटना हुनसक्ने देखिन्थ्यो । मेरो पनि सात्तो गयो’, शर्माले टेलिफोनमा भने । सहायक सीडीओ शर्माले प्रहरीलाई नियमन गर्न पत्राचार गरेको जानकारी दिए । तर, टिपर आतड्ढ केही समयअघि नियन्त्रणमा आएको र पुनः समस्या देखिएकोले कानुनी कारबाही गरिने बताए ।
जिल्ला प्रशासन कार्यालयले नै टिपर आतड्ढ नियन्त्रण गर्न नसकेपछि कुन अदृश्य शक्तिले आतड्ढ रोक्न नखोजेको भन्दै दलका भातृ संगठनहरु सडकमै उत्रिन थालेका छन् । नेकपा माओवादी केन्द्र मकवानपुरको युवा संगठन योङ कम्युनिष्ट लिग ९वाईसीएल०ले बुधबार सडकमै बसेर टिपर नियन्त्रणमा लिएको वाईसीएल जिल्ला अध्यक्ष लवराज ठकुरीले जानकारी दिए । ओभरलोड बोक्ने टिपरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको ठकुरी बताउँछन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले ओभरलोड बोक्ने टिपरलाई नियन्त्रणमा लिएर कारबाही भइरहेको बताए । उनले प्रहरीको आँखा छलेर हिँड्ने टिपर नियन्त्रणमा पनि चासो दिइरहेको बताए । पछिल्लो समय ओभरलोड बोकेको टिपरले आतड्ढ मच्चाएको भन्दै हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडा कार्यालयले प्रहरी प्रशासनसमक्ष पत्राचार पनि गरेको तर, प्रहरीले टिपर नियन्त्रण गर्न छोडेर मुकदर्शक मात्रै बनेको वडाअध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।
अध्यक्ष न्यौपानेले सवारीको क्षमता अनुसारको लोड बोकेर बाटोको अवस्था हेरेर ठीक गतिमा नहिँडी यस्तै अटेर गरिरहे अब जनताको जीउज्यानको सुरक्षाको लागि सडकमा हेभी टिपर गुडाउन रोक्ने चेतावनी दिए ।
हेटौंडा नगरक्षेत्रका तीनवटा सिमेन्ट उद्योगका कच्चापदार्थ आपूर्ति गर्ने क्रममा टिपरले क्षमता भन्दा बढी लोड बोकेर नगरको मुख्य सडक र यात्रुलाई जोखिममा पारिरहेका छन् । तीव्र गतिका टिपर आउने बित्तिकै मोटरसाइकल, साइकल, अटो, मयुरी जस्ता साना सवारीसाधन कालोपत्रे सडक छोडेर भाग्नुपर्ने अवस्था छ ।
टिपरले ढालाभन्दा माथि चुली लगाएर चुनढुंगा ल्याएपछि सडक सुरक्षामै खतरा निम्तिएको हो । नेपालको सडकहरु १० मेट्रिक टन भारवहन गर्ने सवारीका लागि निर्माण गरिएको भएपनि ५० टनभन्दा बढी चुनढुंगा बोक्ने टिपरहरु निर्बाध चलिरहेका छन् । तर, प्रहरी प्रशासनको यसतर्फ कुनै ध्यान गएको छैन ।
नयाँ किन्दाको अवस्थाको टिपरको ढाला बराबरमात्रै चुनढुंगा बोक्न पाउने मापदण्ड भएपनि हाल ढाला थपेर त्यसमाथि पनि चुली लगाएर ढुंगा ओसारपसार गरिरहेका छन् । शक्तिको आढमा विभिन्न निर्माण कम्पनीले प्रहरीलाई समेत प्रलोभनमा पारेर चुनढुंगा ढुवानी गरिरहेको नागरिक समाजको आरोप छ ।टिपरहरुको अटेरीपनाका कारण ट्राफिक प्रहरी नै हैरान छन् ।
हेटौंडास्थित ऋद्धिसिद्धि सिमेन्ट उद्योगले राक्सिराङ गाउँपालिका र शिवम् सिमेन्टले मकवानपुरगढी गाउँपालिकाको ७ र ८ नम्बर वडामा रहेका खानीबाट चुनढुंगा उत्खनन् गरिरहेका छन् । उत्खनन् गरिएका चुनढुंगा टिपरले ढालाभन्दा माथि चुली बनाएर कानुनविपरित ओसारपसार गरिरहेका हुन् ।
दुबै सिमेन्ट उद्योगका लागि चुनढुंगा उत्खनन् र ढुवानीको जिम्मा लिएका मोडर्न इन्फ्रास्ट्रक्चर प्रालि, मोतिदान कन्स्ट्रक्सन प्रालि, बानियाँ निर्माण सेवा प्रालि र बागमती विन्द्यबासिनी कन्स्ट्रक्सन प्रालिले मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई केही समयअघि शान्ति सुरक्षा र व्यवसाय गर्ने वातावरण बनाइदिन निवेदनसमेत दिएका थिए ।
प्रजिअ पाण्डेलाई बुझाएको पत्रमा कम्पनीहरुले ओभरलोड बोक्ने टिपरलाई कारबाही गर्न आवाज उठाउनेलाई स्वार्थ समूहको आरोप लगाउँदै शान्ति सुरक्षासहित व्यवसाय गरी खान पाउनुपर्ने माग गरेका छन् ।