मदन भण्डारी लोकमार्गको हेटौंडा–सिन्धुली खण्ड पूरा हुने चरणमा

संवाददाता
बैशाख २७, २०८०

हेटौंडा– २०६४ मा तराई–मधेश आन्दोलनले महत्व दर्साएको धरान–चतरा–सिन्धुली–हेटौंडा सडक खण्ड निर्माणको अन्तिम चरणमा पुगेको छ ।

धरान–चतरा–सिन्धुली–हेटौंडा सडक आयोजनाले निर्माण गरेको मदन भण्डारी राजमार्ग नामकरण गरिएको यो सडक सुनसरीदेखि मकवानपुरसम्मको भित्री मधेशको लाइफलाइन बनेको छ । २०६४–६५ मा आयोजना कार्यालय काठमाडौंमा स्थापना गरी निर्माण सुरु भएको हेटौंडा–सिन्धुली–चतरा–धरान सडकले आव २०७२÷७३ देखि राष्ट्रिय प्राथमिकता प्राप्त गरेको थियो ।

२०७५ जेठ ६ गतेको निर्णयबाट मदन भण्डारी राजमार्ग आयोजना बनाइएको थियो । पूर्व–पश्चिम जोड्ने गरी पूर्व–पश्चिम राजमार्ग र मध्यपहाडी राजमार्ग बीचमा समानान्तर सडक निर्माण हुने यस आयोजना निर्माणको अन्तिम चरणमा छ । उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमानसम्म १ सय ३५ किलोमिटर सडकलाई पूर्वी खण्ड र भिमानदेखि हेटौँडा उपमहानगरपालिका–६ चौघडासम्म १ सय १५ किलोमिटर लम्बाइ सडकलाई पश्चिम खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो।

हेटौंडा–सिन्धुली–चतरा–धरान सडकको पश्चिमी खण्ड सडक डिभिजन कार्यालय, हेटौँडालाई हस्तान्तरण गरिएको छ । मकवानपुरतर्फ ४८ किलोमिटर र सिन्धुलीतर्फ ६७ किलोमिटर रहेको यस पश्चिमी खण्डको अधिकांश भागको निर्माण पूरा भएसँगै सडक डिभिजनलाई हस्तान्तरण गरिएको हो । अहिले हेटौंडा–सिन्धुली खण्डमा सार्वजनिक यातायातका साधन चल्न थालिसकेका छन् तर, सरकारले यो सडकखण्ड प्रयोग गर्ने रुट ईजाजत भने दिएको छैन ।

मकवानपुरतर्फ हेटौंडा–६ को कर्रा पुल नजिकै, बकैया गाउँपालिका–४ को माझी खोलाको पुलसँगै र कमलामाई नगरपालिकाको धुरा बजारदेखि खट्टारसम्म विवादका कारण रोकिएको थियो तर, हेटौंडा–६ को बिवाद भने मिलिसकेको छ । यसबाहेक सडकको कालोपत्रेलगायतका सबै काम पूरा भएको छ। यस खण्डमा पर्ने ३९ वटा पुलमध्ये पछिल्लो पटक ठेक्का लागेका छवटा पुल निर्माण समेत अन्तिम चरणमा पुगेको छ।

सडक डिभिजन कार्यालय, हेटौंडाका प्रमुख राजेश यादवले पश्चिमी खण्डको सडक र पुल निर्माणको काम लगभग पूरा भएर हस्तान्तरण भएको जानकारी दिए । गत माघमा हस्तान्तरणसँगै सडक कार्यालयले मर्मतसम्भारको काम गरिरहेको छ । यो सडक खण्डको ९९ दशमलव ९ प्रतिशतभन्दा बढी काम पूरा भइसकेको यादवले जानकारी दिएका छन् । निजगढ–काठमाडौं द्रुतमार्ग सडक खण्डमा पर्ने र मरिण डाइभर्सन आयोजना नजिक आयोजनाका कारण रोकिएको भागमा ती आयोजनाले नै निर्माण गर्ने भएका छन्।

हेटौंडा–सिन्धुली सडकखण्ड पुलबाहेक सडक सात अर्ब १० करोड रुपैयाँको लागतमा निर्माण भएको हो । पहिले सम्पन्न भएका सिन्धुली र मकवानपुरका गरी ३२ वटा पुल तीन अर्ब १९ करोड, बागमती पुल २४ करोड र अन्तिम चरणमा ठेक्का लागेका छवटा पुलको निर्माण लागत ५५ करोड रुपैयाँ रहेको छ। सिन्धुलीको कमलामाई नगरपालिकाको धुरा बजारदेखि खट्टारसम्म एक किलोमिटर मुआब्जा लगायतका विवादले रोकिएको हो ।

हेटौंडा–सिन्धुली–चतरा–धरान सडक खण्डको पश्चिमी खण्ड निर्माणले पूर्णता पाएसँगै बागमती प्रदेशको राजधानी हेटौँडासँग सिन्धुली र रामेछाप जिल्लाका नागरिकको पहुँच बृद्धि भएको छ। यो सडक बन्नुअघि सिन्धुलीवासीलाई सर्लाही, रौतहट, बारा हुँदै हेटौँडा आउनुपर्ने बाध्यता थियो। रामेछापवासी काठमाडौं हुँदै हेटौँडा आउनु पथ्र्यो। यो सडक निर्माणले प्रदेश राजधानी हेटौंडा आइपुग्न लाग्ने दूरी र समय घटेको छ।

विगतमा बागमती खोलामा पुल नहुँदा सिन्धुली र मकवानपुरका बासिन्दालाई वर्षायाममा सकस हुँदै आएको थियो। गत वर्ष पुल निर्माण भएपछि मकवानपुरको पूर्वी क्षेत्र र सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रका स्थानीय तहमा सडक सुविधा बढेर आवागमन सहज भएको छ। हेटौंडा–सिन्धुली–धरान सडक निर्माणसँगै सडकले छोएको जिल्लाका स्थानीय तहका बस्तीमा चहलपहल बढेको छ। सहज यातायात सुविधाले त्यस क्षेत्रका बासिन्दाको सामाजिक र आर्थिक जीवनमा परिवर्तन आउन थालेको छ।

मकवानपुरको बकैया गाउँपालिकाका अध्यक्ष धर्म लामिछानेले सडक निर्माणपछि मकवानपुरको पूर्वी स्थानीय तहसँगै सडक मार्गले आर्थिक गतिविधि बढ्न थालेको बताए । यसले भित्री मधेशका नागरिकको आर्थिक–सामाजिक जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउने धारणा व्यक्त गर्दै लामिछानेले भने, ‘स्थानीयलाई आवागमन र कृषिजन्यलगायतका स्थानीय उत्पादन बजारसम्म पुयाउन सहज भएको छ, कृषि तथा पशुजन्य उत्पादनले उचित मूल्य पाउनेछ र सहरीकरण बढ्नेछ।’

सडक डिभिजन कार्यालय, हेटौंडाका इन्जिनियर रमेश पाण्डेले भित्री मधेशमा निर्माण भएको यो सडक पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्ग भएको र यसले उदयपुर, सिन्धुली र मकवानपुरका ग्रामीण क्षेत्रमा निजी र सार्वजनिक संरचना निर्माण हुन थालेको बताए । २०५० सालअघिसम्म हेटौंडाको फुर्केचौरबाट पूर्बी क्षेत्रका गाउबस्तीमा पैदलै जानु पर्दथ्यो । अहिले सडक बनेपछि स्थानीयको दैनिक जीवन सहज भएको छ । हेटौंडाबाट फापरबारी करिब १ घण्टामा पुग्न सकिन्छ ।

फापरबारीबाट बिहान ८ बजे हिँड्दा राति ८ बजे हेटौंडा पुगिन्थ्यो । सडक बनेपछि शिक्षा र स्वास्थ्य सेवा लिन सहज भएको छ, जग्गाको भाउ बढेपछि स्थानीयको आर्थिक जीवनमा सडकले परिवर्तन ल्याएको छ । विगतमा सिन्धुलीको पश्चिम भाग र मकवानपुरको पूर्वी भागमा सडकको पहुँच नभएका कारण विकासमा पछाडि परेको थियो । खोला, बगरको बाटो हिँड्नुपर्ने बाध्यता अहिले हटेको छ । ललितपुर, काभ्रे, सिन्धुली तीन जिल्लाका नागरिक पैदलै हेटौंडा आउनुपर्ने बाध्यता हटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*