थाहाका कृषकलाई प्लास्टिक टनेल सहयोग

संवाददाता
बैशाख २६, २०८०

 

हेटौंडा– कृषि प्रधान पालिकाको रुपमा परिचित जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको कृषकलाई प्लास्टिक टनेल सहयोग गरिएको छ ।
जिल्लाका १० स्थानीय तहमध्ये थाहा नगरपालिकामा सबैभन्दा बढी कृषिउपज उत्पादन गरिन्छ ।

थाहाको बेमौसमी तरकारी काठमाडौंमा बढी निर्यात हुँदै आएको छ । थाहामा व्यावसायिक तथा आधुनिक खेती प्रणालीतर्फ कृषकहरु आकर्षित भइरहेको बेला ५० जना कृषकलाई प्लास्टिक टनेल सहयोग गरिएको हो । च्वाइस नेपाल र कृषकसँगको सहकार्यमा नगरपालिकाको कृषि विकास शाखाले सोमबार कृषकलाई टनेलका लागि प्लास्टिक वितरण गरेको हो । थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र कृषिप्रसार अधिकृत संजय तिवारीले कृषकलाई प्लास्टिक वितरण गरेका हुन् ।

प्लास्टिक वितरण गर्दै नगरप्रमुख विष्टले कम लागतबाट अधिकतम उत्पादन र गुणस्तरीय उत्पादनबाट अधिकतम लाभको लागि नगरपालिकाले नवीनतम प्रविधिमा आधारित कृषिप्रणाली विकासमा जोड दिइरहेको बताए । उनले नगरपालिका र च्वाइसको सहयोगलाई सदुपयोग गरी आर्थिकस्तर वृद्धिमा ध्यान दिन कृषकलाई आग्रह गरे ।

नगरपालिकाले कृषकलाई ७२ वर्ग मिटरको ९० जिएसएम सिल्पोलिन प्लास्टिक वितरण गरेको हो । नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रमअनुसार टनेलका लागि प्लास्टिक वितरण गर्न डेढ लाख विनियोजन गरिएको र कृषकको करिब सोही बराबरको लगानीमा कृषकबाटै प्लाास्टिक खरिद गरिएको थाहा नगरपालिकाका कृषि शाखा प्रमुख संजय तिवारीले जानकारी दिए ।

कृषि शाखा प्रमुख तिवारीका अनुसार सोमबार प्लास्टिक वितरण गरिएका कृषकका लागि च्वाइस नेपालले फलामको टनेल निर्माणमा सहयोग गर्नेछ । प्रतिटनेल ४५ हजार खर्च अनुमान गरिएको टनेलका लागि च्वाइस नेपालको प्रतिटनेल २५ हजार खर्च हुने र कृषकले पनि लगानी गर्नेगरी सम्झौता गरिएको उनले जानकारी दिए ।

टनेल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको र ६ जना कृषकको लागि शिखर बचत तथा ऋण सहकारी संस्थाको समेत सहयोग रहने च्वाइस नेपालका ग्रामीण विकास विज्ञ प्रताप घिमिरेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*