हास्यव्यंग्य कविता ‘जाँडरक्सी महोत्सव’ उत्कृष्ट घोषित
अनिवार्य गरौँ हामी लगानी अब जाँडमा
नत्र यो देशनै हाम्रो जान के बेर भाँडमा
समृद्धि जाँडरक्सीले मात्र देखिन्छ सम्भव
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।१।
विनाजाँड हिजोआज हुन्छन् अशुद्ध पण्डित
खान्न जाँड भने हुन्न कोही सन्तुष्ट त्योसित
सुरुवाल भिजाएर खोज्नुपर्छ खुसी अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।२।
गाडी चालकले खोजे नपिएर चलाउन
कार्वाही नगरी हुन्न अटेरी तह लाउन
जहाँ यात्री त्यहाँ रक्सी नारा बन्नु प¥यो अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।३।
पर्यटकहरुलाई भट्टीमा बास चाहियो
चाहिँदैन अरु खाना रक्सी र तास चाहियो
शिसीका साथमा मिस्सी आवश्यक भयो अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।४।
अंग्रेजी गतिलो बोल्दै एक्लै छम्छम नाच्नुछ
पुगेर घरमा आफ्नी पत्नीको ढाड भाँच्नुछ
जाँडरक्सी विना हुन्छ यस्ता कुरा असम्भव
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।५।
भुस्याहाले निदाएको बेलामा जल ख्वाउँछ
जाँडको स्वादमा अर्को नयाँ स्वाद चखाउँछ
त्यो बेला जत्तिकै प्यारो गल्ली बन्नु प¥यो अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।६ ।
राष्ट्रको ढुकुटीबाट सुकुटी किन्न थाल्नुछ
जाँड शिक्षा सिकाएर जाँड विज्ञ निकाल्नुछ
भोजभतेरमा रक्सी अनिवार्य भयो अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।७।
हेटौंडामा शुक्रबार भएको हास्यव्यंग्य कविता प्रतियोगितामा डिल्लीप्रसाद मुलतिहुनको ‘जाँडरक्सी महोत्सव’ हास्यव्यंग्य कविता उत्कृष्ट घोषित भएको छ ।
देशभरबाट प्राप्त ८१ कवितामध्ये २५ कविता पहिलो चरणमा समावेश गरी वाचन गराइएको थियो । जसमध्ये ५ जना कविहरु अनुपस्थित थिए । विषयवस्तु लेखन, हास्यव्यंग्यको प्रयोग तथा वाचनलगायतका विविध विधालाई आधार मानी गरिएको मूल्यांकनमा ‘जाँडरक्सी महोत्सव’ प्रथम हुन सफल भएको हो ।
हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको सहयोगमा सिस्नुपानी नेपाल मकवानपुरले आयोजना गरेको हास्यव्यंग्य कविता प्रतियोगितामा मकवानपुरे कवि प्रभास घिमिरेको कविता ‘बाँदर’ द्वितीय र सुनसरीका कवि सुरज पराजुलीको कविता ‘फलानो’ तेस्रो हुन सफल भएको छ ।
प्रतियोगितामा कास्कीका कवि संयोग बस्यालको ‘हामी’ तथा कमल घिमिरेको ‘नेताज्यूलाई स्वागत छ’ कविताले सान्त्वना स्थान बनाएको छ । प्रथम भएको ‘जाँडरक्सी महोत्सव’ले १५ हजार, द्वितीय भएको ‘बाँदर’ले १० हजार र तृतीयमा चित्त बुझाएको ‘फलानो’ कविताले ५ हजार पुरस्कार जितेको छ ।
सान्त्वना भएका २ जनाका लागि ३ हजार राशीको पुरस्कार प्रदान गरिएको आयोजक सिस्नुपानीले जानकारी दिएको छ । कार्यक्रम सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षता, सिस्नुपानी नेपालका संस्थापक तथा सल्लाहकार नरनाथ लुइटेलको प्रमुख आतिथ्यता तथा हेटौंडा उपमहानगरपालिका वडा ४ का अध्यक्ष नवीन सिग्देलसमेतको उपस्थिति थियो ।
अध्यक्ष सिग्देलले स्थानीय सरकारले बाटोघाटो, स्लाब ढलान, भवन निर्माण मात्र नभई साहित्य सिर्जना, कला, भाषा, शिक्षालगायतका क्षेत्रको विकासमा जोड दिन सुरु गरेको बताए । कार्यक्रममा सिस्नुपानी नेपालका सचिव सरोज घिमिरेले हास्यव्यंग्य विधा समाजको ऐनाका रुपमा विकास हुनुपर्ने तथा यस्ता प्रतियोगिताहरुले हास्यव्यंग्य लेखनमा हौसला पुग्ने बताए ।
कार्यक्रममा मकवापुरका सर्जकहरुको तर्फबाट सर्जक सञ्जालका संयोजक निमेष निखिल तथा आँचल साहित्य कलाकी अध्यक्ष भावना सापकोटाले प्रतिनिधित्व गरेका थिए । २०५५ सालमा स्थापना भएको सिस्नुपानी नेपालको जिल्ला शाखा मकवानपुर हास्यव्यंग्य सिर्जना, बहस, वाचन तथा प्रतियोगितामार्फत् सक्रिय रहँदै आएको छ ।