कांग्रेस मकवानपुरको वडादेखि जिल्लासम्म सम्मेलनको तयारी

संवाददाता
बैशाख १९, २०८०

हेटौंडा– नेपाली कांग्रेस मकवानपुरले जिल्लाका एकसय २ वटै वडादेखि जिल्ला तहसम्म पार्टीको सम्मेलन आयोजनाको तयारी थालेको छ । पार्टीलाई गतिशिल ढंगले अगाडि बढाउने योजनाअन्तर्गत् सोमबार हेटौंडामा भएको वडा तहदेखि जिल्लासम्मको सम्मेलन पूर्व तयारी संयुक्त बैठकले मितिसमेत तय गरेको छ ।

कांग्रेसको विधानमा उल्लेख भएअनुसार प्रत्येक ६ महिनामा वडा सम्मेलन, कम्तिमा वर्षमा एक पटक गाउँपालिका, नगरपालिका र प्रदेशसभा क्षेत्रीय सम्मेलन तथा प्रतिनिधिसभा क्षेत्रीय सम्मेलन, जिल्ला सम्मेलन र प्रदेशसभा सम्मेलन गर्ने व्यवस्था भएकाले मकवानपुरमा कांग्रेसको वडा तहदेखि जिल्लासम्म सम्मेलन हुने भएको हो । आगामी जेठ मसान्तसम्म जिल्लाका एकसय २ वटै वडादेखि जिल्ला सम्मेलनको मिति सोमबार बसेको बैठकले तय गरेको हो ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता तथा जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षतामा बैठक भएको थियो । बैठकले पार्टीका क्रियाशील सदस्य र वडाकार्यसमितिको सहभागितामा वैशाख २३ गते गाउँपालिकाहरुको वडास्तरीय सम्मेलन तय गरेको छ । वैशाख २४ गते हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको वडास्तरीय सम्मेलनको तयारी रहेको पार्टी जिल्ला सभापति लामाले जानकारी दिएका छन् ।

१४ औं महाधिवेशन बुथ प्रतिनिधिहरु र पालिका कार्यसमितिको सहभागितामा वैशाख २९ गते गाउँपालिकास्तरीय सम्मेलन गर्न गाउँपालिका समितिहरुलाई निर्देशन दिइएको छ ।

बैठकले वैशाख ३० गते हेटौंडा उपमहानगर र थाहा नगरपालिकास्तरीय सम्मेलन गर्न मिति तोकेको सभापति लामाले जानकारी दिए । १४ औं महाधिवेशन बुथ प्रतिनिधिहरु, प्रदेश प्रतिनिधि, क्षेत्रीय कार्यसमिति र पालिका कार्य समितिको सहभागितामा जेठ ४ गते प्रतिनिधि सभा क्षेत्र नम्बर १ को क, ख प्रदेश क्षेत्रीय सम्मेलन, प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क, ख प्रदेश क्षेत्रीय सम्मेलन जेठ ५ गते गरिने भएको छ ।

जेठ १२ गते प्रतिनिधिसभा क्षेत्र नम्बर १ सम्मेलन र १३ गते प्रतिनिधिसभा क्षेत्र नम्बर २ सम्मेलन हुने भएको छ । प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनमा संघीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, प्रदेश क्षेत्रीय कार्यसमिति, भातृ संस्थाका अध्यक्षहरु सहभागी हुने तय गरिएको छ ।

पार्टीको जिल्ला सम्मेलन जेठ मसान्तभित्र गर्ने निर्णय भएपनि निश्चित मिति भने तोकिएको छैन । वडादेखि जिल्ला तहसम्मको सम्मेलनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र आगामी वर्षको कार्ययोजना प्रतिवेदन प्रस्तुत हुनेछन् । सम्मेलनहरुमा गत ३० वैशाखमा भएको स्थानीय तह, ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा तथा १० वैशाखमा भएको उपनिर्वाचनको समिक्षा हुने जनाइएको छ ।

सोमबार हेटौंडामा भएको संयुक्त बैठकमा पार्टीलाई गुट उपगुटबाट मुक्त गराई एकीकृत रुपमा बलियो शक्तिका रुपमा अगाडि बढाउन वक्ताहरुले माग गरेका थिए । पार्टी जिल्ला कमिटी एक ढिक्का भएर अघि बढ्नुपर्ने, प्रशिक्षण कार्यक्रम आयोजना गर्नुपर्ने, पार्टीविरुद्ध सामाजिक सञ्जालमा लेख्नेलाई कारबाही गर्नुपर्ने, पार्टीमा राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने संस्कारको विकास गर्नुपर्ने र सबै जनप्रतिनिधिहरुले जनमुखी तवरबाट काम गर्नुपर्नेलगायत आवाज उठाएका थिए ।

निर्वाचनपछि पार्टीको गतिविधि हुन नसकेपछि मकवानपुरमा वडा तहदेखि जिल्लासम्मै सम्मेलनको तयारी गरिएको कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सांसद् बानियाँले बताए । पार्टीभित्र तिक्तता देखिएको हुनसक्ने र गणतन्त्रप्रति देखिएको निराशालाई व्यवस्थापन गर्न सम्मेलनले भूमिका खेल्ने उनको भनाइ छ ।

वडा तहदेखिको सम्मेलनले पार्टीका समितिहरुको तालमेल मिलाउने उनको विश्वास छ । पार्टीको गुट र उपगुटले टिकट दिइरहेको भन्दै उम्मेदवार छनौटमा नीति बनाउन पनि बानियाँले सुझाव राखेका छन् । नीति बनाउँदा पार्टीको विधान नै परिमार्जन गर्न वडाबाटै दबाब दिन सुरु गर्नुपर्ने उनले बताए ।

सम्मेलन पूर्वतयारी संयुक्त बैठकमा नेपाली कांग्रेस मकवानपुरका उपसभापतिद्वय आनन्द कठायत, धर्मराज लामिछाने, सचिवद्वय भिमसेन महत, ईश्वर पाठक, सहसचिवद्वय इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाई, संघीय क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, २ नम्बर क्षेत्रका सभापति लोक मोक्तान, प्रदेश क्षेत्रीय सभापतिहरु सुशान्त श्रेष्ठ, राजेश बानियाँ, खड्ग गोपाली र रञ्जन कालाखेतीलगायत गाउँपालिका समितिका सभापतिहरु, वडा सभापति, निर्वाचित सबै पालिका अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्षहरु लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*