प्रतिनिधिसभामा सचेतक बन्ने मकवानपुरको पहिलो सांसद् महेश बर्तौला
हेटौंडा– मकवानपुरका प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौला नेकपा एमालेको सचेतक मनोनित भएका छन् ।नेकपा एमाले संसदीय दलको निर्णयले आइतबार प्रतिनिधि सभाका लागि पार्टीको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा बर्तौलालाई चयन गरेको हो ।
देशको कानुन निर्माण गर्ने थलो प्रतिनिधिसभामा ठूलो पार्टीको सचेतकमा जिम्मेवारी पाउने बर्तौला मकवानपुरका पहिलो सांसद् हुन् । प्रतिनिधिसभामा सचेतकको भूमिका पार्टीको प्रतिनिधित्वका रुपमा हुनेछ । मकवानपुरको नामटारमा जन्मिएका बर्तौलाले विद्यार्थी राजनीतिहुँदै पार्टी राजनीतिक र संसदीय राजनीतिमा पनि निरन्तर फड्को मारिरहेका छन् । प्रतिनिधिसभामा यसअघि मकवानपुरका कुनैपनि सांसद् दलको सचेतक भएका थिएनन् ।
मकवानपुरबाट निर्वाचित सांसद्मध्ये थोरैमात्रै मन्त्री हुन सकेका छन् । ३९ वर्षीय महेश बर्तौला संघीय संसद्मा नयाँ अनुहार हुन् । प्रतिनिधि सभा चुनावमा नेकपा एमालेबाट ७८ जना निर्वाचित भएका थिए । त्यसमध्ये अधिकांश नयाँ अनुहार छन् । संसदमा आफ्नो भूमिका देखाउन सबै सांसद्हरु प्रयासरत् छन् । त्यसमध्ये मकवानपुर २ बाट निर्वाचित महेश बर्तौला छोटो समयमै तुलनात्मकरुपमा आफूलाई अग्र स्थानमा राख्न सफल भएका हुन् ।
विद्यार्थी राजनीतिबाट उनी पहिलो पटकमै एमालेको बागमती प्रदेश कमितिको उपमहासचिवको जिम्मेवारीमा पुगेका थिए । पार्टी राजनीतिमा लागेको १ वर्षको अन्तरालमै उनी पहिलो प्रयासमै सांसद् बनेका थिए । बर्तौलाले चारपटकसम्म सांसद्
भएका हाल नेकपा ९एकीकृत समाजवादी०का नेता बिरोध खतिवडालाई हराएका थिए ।
नेतृत्वले गरेको भरोसालाई ख्याल राखेर संसदीय मूल्यमान्यतालाई उचो राख्ने गरी काम गर्ने बर्तौलाको भनाइ छ । पार्टी नेतृत्वले युवालाई अगाडि बढाउन खोजेको उनको निष्कर्ष छ । ‘युवा अगाडि बढोस् भन्ने नेतृत्वको चाहना हो । अब सिनियरसँग रहेर काम गर्नु पर्नेछ’, उनले भने । एमालेले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पनि बर्तौलालाई नै अगाडि सारेको थियो ।
राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने भन्दै जसपाका उम्मेदवार रामसहाय यादवको उम्मेदवारीविरुद्ध उनले उम्मेदवार अष्टलक्ष्मी शाक्यको प्रतिनिधि बनेर उजुरी दिएका थिए ।
नयाँ भएर पनि छोटो समयमै परिपक्व व्यवहार देखाएका कारण बर्तौलालाई सचेतकको जिम्मेवारी दिइएको चर्चा छ । बर्तौलाले पाएको भूमिका यतिमा सीमित भने छैन । उनले अर्को महत्वपूर्ण भूमिका प्रतिनिधिसभाको नियामवली बनाउँदा पनि पाएका थिए । नियमावली मस्यौदा समितिमा पनि उनी एमालेको तर्फबाट सदस्य थिए ।
नियमावलीको मस्यौदा बनाउँदा उनले आफ्नो स्पष्ट अडान तर्कका साथ राख्ने गरेका थिए । उनी नियामवली मस्यौदा समितिमा प्रभावकारी देखिएका थिए । समितिमा रहँदा उनले राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरुउपर लाग्ने महाअभियोगउपर निर्णय गर्नुपर्ने समयसीमा तोक्नुपर्ने विषय उठाएका थिए । सभामुखले अनन्तकालसम्म महाअभियोग लम्ब्याउन सक्ने अवस्था अन्त्य गर्न समय सीमा राख्नुपर्ने अडान उनको थियो ।
जसकारण समयसीमा पाँच महिना राखिएको छ । बर्तौला कानुनको समेत विद्यार्थी हुन् । बर्तौलाले २०६९ सालमा अधिवक्ताको लाइसेन्स लिएका थिए । तर, उनी वकालतमा भन्दा विद्यार्थी राजनीतिमा केन्द्रित भए । उनले राजनीतिशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । व्यवस्थापनमा मकवानपुर बहुमुखी क्याम्पसबाट स्नातकोत्तर गरेका छन् ।
उनी मकवानपुर बहुमुखी क्याम्पसको दुईपटक पूर्वस्ववियु सभापति हुन् । त्यसयता उनी अनेरास्ववियुको केन्द्रीय सदस्य, मध्यमाञ्चल विकास क्षेत्रीय प्रमुख हुँदै अनेरास्ववियुको केन्द्रीय सचिव, केन्द्रीय उपाध्यक्षसम्म भए ।
उनी विद्यार्थी राजनीतिबाट अलग्गिएको एक वर्षमै प्रतिनिधिसभा सदस्यको रुपमा संघीय सांसद् छिरेका हुन् ।४ मंसिरमा सम्पन्न चुनावपछि प्रतिनिधिसभाको पहिलो बैठक २५ पुसमा बसेको थियो । यसबीचमा प्रतिनिधिसभाका १२ वटा बैठक बसे । यसबीचमा बर्तौलाले एकपटक ढ्यापढ्यापे र एकपटक शून्य समयको सदुपयोग गरे ।
ढ्यापढ्यापेमा किसानले रासायनिक मल पाउन नसकेको विषय उठाएका थिए । शून्य समयमा मकवानपुरको मनहरीमा हात्तीले स्थानीयबासिन्दालाई दुःख दिएको भन्दै सरकारको ध्यानाकर्षण गरेका थिए । उनी हरेक महिना आफ्नो निर्वाचन क्षेत्र आइरहन्छन् । निर्वाचन क्षेत्रका गाउँगाउँ पुगेर बर्तौलाले स्थानीयहरुसँग समस्या पहिचान गर्ने र सुझाव लिने काम गरिरहेका छन् ।