७० अंक ल्याए लाइसेन्स पाउने व्यवस्था खारेज गर्न माग
हेटौंडा– बागमती प्रदेशका निर्वमान मुख्यमन्त्री तथा संघीय सांसद राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशमा मंगलबारबाट लागू भएको ७० अंक ल्याए लाइसेन्स पाउने व्यवस्था खारेज गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभामा बोल्दै पाण्डेले मंगलबारबाट लागू भएको ७० अंक ल्याए लाइसेन्स पाउने व्यवस्था खारेज गर्न माग गरेका हुन् । उनले मोटरसाइकल, स्कुटर र भ्यानमा ७० नम्बर ल्याए पनि लाइसेन्स पाउने तर ट्रक, बस, डोजरमा भने १०० नम्बर नै ल्याउनुपर्ने व्यवस्थाले एउटै सडकमा गाडी चलाउनेसँग दुईथरी लाइसेन्स हुने बताए ।
सांसद पाण्डेले प्रतिनिधि सभामा बोल्दै ट्राफिक लाइटमा गाडी गुडाउँदा, युटर्नमा बत्ती नबाल्दा र अस्वाभाविक रुपमा गाडी गुडाउँदा पनि लाइसेन्स दिने मापदण्ड बनेको भन्दै उक्त मापदण्ड माथि आपत्ति जनाएका छन् ।
आफू बागमती प्रदेशको मुख्यमन्त्री हुँदा यो निर्देशिका बागमती प्रदेशमा लागू गर्न नमानेको भन्दै यदि लाइसेन्स दिनै मन भए यो खालको मापदण्ड परिवर्तन गर्नुपर्ने पाण्डेले बताए । यो व्यवस्था लागू गर्न सम्पूर्ण मापदण्ड पूरा भएपनि तत्कालिन मुख्यमन्त्री पाण्डेले सहमती नजनाएकै कारण पूरा हुन सकेको थिएन ।
प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएसँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री एकलाल श्रेष्ठले मंगलबार यो व्यवस्था कार्यान्वयनमा ल्याएका हुन् ।
मंगलबार बिहान मुख्यमन्त्री जम्मकट्टेलले राधेराधे स्थित ट्रायल सेन्टरबाट उक्त प्रणालीको शुभारम्भ गरेका थिए भने प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले सतुंगलस्थित ट्रायल सेन्टर ठूलो भर्याङ कार्यालयबाट सेवा शुभारम्भ गरेका थिए ।
यसअघि प्रदेशका तत्कालीन श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले ३ पटकसम्म लागू गर्न खोजेपछि तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले रोकेका थिए । यसअघि पुस २० गते बुधबारबाट यो प्रणाली लागू गर्ने तयारी थियो तर, प्रदेशको तत्कालीन मुख्यमन्त्री पाण्डेले तेस्रोपटक उक्त प्रणाली कार्यान्वयन हुनबाट रोकेका थिए ।
बागमती प्रदेशको सरकारको तत्कालीन श्रम, रोजगार तथा यातायात मन्त्री दाहालले ट्रायल सेन्टर सञ्चालन गरिरहेका यातायात कार्यालय प्रमुखहरू पुस २० गते बुधबारबाट ७० प्रतिशत प्रणाली लागू गर्न सहमत भएकोमा मुख्यमन्त्री कार्यालयको हस्तक्षेपका कारणलागू हुँदाहुँदै फेरि रोकिएको बताएका थिए ।
गत पुस २० गतेबाट लागू हुने तयारीमा रहेको ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली कार्यान्वयन नगर्न मुख्यमन्त्री कार्यालयले यातायात मन्त्रालयलाई पत्राचार गरेर रोक लगाएको थियो । यसअघि असोज २ गते र मंसिर १८ गतेबाट उक्त प्रणाली लागू गर्ने भनिए पनि मुख्यमन्त्री पाण्डेकै निर्देशनमा रोकिएको थियो ।
नेपालका ४ वटा प्रदेशमा लागू भइसकेको प्रणाली बागमतीमा मात्रै पटक–पटक हस्तक्षेप गरेर पाण्डेले रोकेको आरोप छ । मन्त्री दाहालले मुख्यमन्त्री सँगको सल्लाहमा नै शुरुवातमा उक्त प्रणाली कार्यान्वयन गर्न खोजिएको भन्दै उक्त बेला हुन्छ भनेर सहमति दिएका पाण्डेले पछि पटक–पटक सो प्रणाली लागू गर्न रोकेका थिए ।
यातायात व्यवस्था विभागले २०७८ सालमै उक्त कार्यविधि तयार पारेर प्रदेशलाई पठाए पनि लागू गरिएको थिएन । यो प्रणालीअनुसार प्रयोगात्मक परीक्षामा सहभागी हुनेले सामान्य गल्ती गरेमा अनुत्तीर्ण हुने समस्या हल हुने यातायात मन्त्रालयको दाबी छ । प्रणाली लागू गर्ने विषयमा तत्कालीन मुख्यमन्त्री पाण्डे र मन्त्री दाहालबीच मनमुटाव चलेको थियो ।
यो प्रणालीमा कार, जीप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कूल अंकभार १ सय तोकिएको छ । जसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ । निर्देशिकाअनुसार कार, जीप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो ८ ९एट० को अंकभार २० तोकिएको छ । दुई पटकसम्म अंकित रेखा छोए प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर, ट्रायल फेल भइँदैन ।
दुई पटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाएकोमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ । निर्देशिकामा ट्राफिक संकेतको अंकभार १५ तोकिएको छ । पालना नगरे १५ अंक घट्ने प्रावधान राखिएको छ ।
त्यसैगरी यू–टर्नको अंकभार १० तोकिएको छ । टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ । अंकित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन् । चारपांग्रे सवारी चालकलाई र्याम (उकालो) का लागि अंकभार १५ तोकिएको छ ।
तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारी साधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एक पटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ । ग्यारेज पार्किङको अंकभार १० तोकिएको छ । त्यसैगरीपरीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याड्ढनलाई १० अंकभार तोकिएको छ ।
मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कूल अंकभार १०० तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमति पत्रका लागि योग्य मानिनेछन् । प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो ८ ९एट आकार० को अंकभार २० तोकिएको छ ।
दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर, ट्रायल फेल भइँदैन । दुई पटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा धेरैपटक खुट्टाले भुईँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था गरिएको छ ।
साँघुरो फलेकको अंकभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुईँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नु अगावै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन् ।
निर्देशिकामा यू–टर्नको अंकभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन् । ट्राफिक संकेतका लागि १५ अंकभार तोकिएको छ । टूाफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ । निर्देशिकामा उबडखाबडको अंकभार १५ तोकिएको छ ।
एक पटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ । एक पटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन् । त्यसैगरी उकालो र्याम को अंकभार २० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याड्ढनलाई १० अंकभार तोकिएको छ ।