मकवानपुर गोल्डकपः हिमालयन शेर्पासँग बागमती निरीह
हेटौंडा– हेटौंडामा जारी स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत् मंगलबार भएको खेलमा हिमालयन शेर्पा विजयी भएको छ ।
हेटौंडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा हिमालयनशेर्पाले सर्लाहीको बागमती युवा क्लबलाई २–१ गोलले पराजित गरेको हो । जितसँगै हिमालयन शेर्पा क्वाटरफाइनल प्रवेश गरेको छ ।
हिमालयन शेर्पाको जितमा विदेशी खेलाडी यामी र निशान लिम्बुले एक–एक गोल गरे । बागमतीका सनम धिमालले खेलको अन्त्य तिर एक गोल फर्काए ।
खेलको ३८ औँ मिनेटमा यामीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ५८ औँ मिनेटमा निशान लिम्बुले गोल गर्दै हिमालनय शेर्पाको अग्रता दोब्बर बनाए । खेलको ६५ औँ मिनेटमा बागमतीका संगम धिमालले सान्त्वना गोल गरे ।
खेलको म्यानअफ द म्याच शेर्पाका विशाल लिम्बु घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।
अब सेमिफाइनल प्रवेशका लागि हिमालयन शेर्पोले एडिभिजन टोली फ्रेण्डस् क्लबको सामना गर्नेछ । प्रतियोगिताअन्तर्गत् भोली बुधबारदेखि क्वाटरफाइलनका खेलहरु हुने आयोजक जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले बताए ।
प्रतियोगिताको पहिलो क्वाटरफाइनलको खेल क्यामरुनी टोली एभिनियर एफसी र बीरगञ्ज यूनाईटेडबीच हुनेछ । बीरगञ्जले प्रिक्वाटरमा एडिभिजन टोली एनआरटी क्लबलाई पराजित गरेको थियो ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् ।त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।